मितिनीलाई नचाउँदै इन्दिरा « Yalambar Times
८ जेष्ठ २०८१, मंगलवार

मितिनीलाई नचाउँदै इन्दिरा


यलम्वर टाइम्स
५ श्रावण २०७६, आईतवार ०९:३८

काठमाडौं । नेपाली सुगम संगीतकी लोकप्रिय गायिका इन्दिरा भट्टराईले ‘नाचौँ मितिनी’ गीत सार्वजनिक गरेकी छिन् ।

तीजको रौनक सुरु हुन डेढ महिना बाँकी रहँदा गायिका भट्टराईको गीत र म्यूजिक भिडियो सार्वजनिक भएको हो ।

वरिष्ठ गीतकार दिनेश अधिकारीको शब्द र सन्तोष श्रेष्ठको संगीतमा गायिका भट्टराईले तीज विशेष गीत ल्याएकी हुन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रमको बीच गीत र म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । डेढ दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय भट्टराईले तीजको मौलिक आधुनिक गीत प्रस्तुत गरेकी हुन् ।

भट्टराईले नेपाली मौलिकतालाई अटाइएको गीतमा विशेषतः आममहिलाहरु आपसमा एकताको सुत्रमा बाँधिनु पर्ने सन्देश दिइएको छ ।

‘हामीले तीजमा बजाइने भड्किला गीतभन्दा अलि विशिष्ट र मौलिक गीत बनाएका छौं, दर्शनस्रोतालाई मनपर्छ भन्ने अपेक्षा गरेका छौं,’ गायिका भट्टराईले भनिन् ।

कार्यक्रममा गीतकार अधिकारीले नेपाली गीत–संगीतको फरक बाटोमा गएको टिप्पणी गर्दै संगीतमा समयसापेक्ष परिवर्तन आवश्यक रहे पनि मौलिक पक्ष कायम राख्नु पर्ने बताए ।

‘नाचौँ मितिनी’ गीतको म्युजिक भिडियो निर्देशन कलाकार सम्झना बुढाथोकीले गरेकी छिन् ।

कोरियोग्राफी भागिरथा गाहाको रहेको म्युजिक भिडियोमा कलाकारहरु सम्झना बुढाथोकी, नितु कोइराला, सदिक्षा रावत, आरोही भट्टराईलगायतले अभिनय गरेका छन् ।