दोस्रो मिस्टर ग्यालेक्सी च्याम्पियनसीप बिर्तामोडको अग्रसेन भवनमा हुँदै « Yalambar Times
२३ बैशाख २०८१, आईतवार

दोस्रो मिस्टर ग्यालेक्सी च्याम्पियनसीप बिर्तामोडको अग्रसेन भवनमा हुँदै


यलम्वर टाइम्स
११ भाद्र २०७६, बुधबार ०७:३५

बिर्तामोड । प्रदेश नम्बर १ स्तरीय दोस्रो मिस्टर ग्यालेक्सी बडिबिल्डिङ च्याम्पियनसीप ३ दिनपछि (१४ गते) धुमधामसाथ हुने भएको छ ।

आयोजक ग्यालेक्सी फिटनेसले पत्रकार सम्मेलन गरी च्याम्पियनसीपको बारेमा तयारी पूरा भएको जानकारी दिएको छ ।

भदौ १४ गते बिर्तामोडमा फाइनल हुने च्याम्पियनसीपका लागि आयोजक ग्यालेक्सी फिटनेसले १ नम्बर प्रदेशमा रहेका विभिन्न २५ वटा क्लबले सहभागिता जनाउने भएका छन् ।

पत्रकार सम्मेलनमा आयोजकका अध्यक्ष आशिष वनका अनुसार च्याम्पियनसीपमा कम्तिमा ५० जना खेलाडीले सहभागिता जनाउनेछन् ।

उनका अनुसार पाँच वटा तौल समूहमा खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी र ७५ केजी तौल समूहबीच प्रतिस्पर्धा हुनेछ ।

तौल समूहमा विजेता बन्ने खेलाडी फाइनल चरणका लागि ओभर अल भिडन्तमा सहभागी हुने छन् । ओभर अल च्याम्पियन बन्ने खेलाडीले नगद १ लाख, ट्रफी र आकर्षक गिफ्ट ह्याम्पर पाउनेछ ।

ओभरअल च्याम्पियन बन्ने खेलाडीले यो पुरस्कारसँगै अशोक इक्वेपमेन्ट काठमाडौँको तर्फबाट एक लाख मूल्यबराबरको रनिङ मेसिन उपहार स्वरुप पाउनेछ ।

त्यस्तै, डाइट नेपालको तर्फबाट अन्तिम पाँच जनाको सूचीमा पर्ने खेलाडीलाई अढाइ केजीको प्रोटिन पनि प्रदान गरिने आयोजकका कोषाध्यक्ष चन्द्र राना लाफाले जानकारी दिए ।

त्यस्तै, ओभर अलबाट दोस्रो हुनेले ५० हजार, तेस्रो हुनेले ४० हजार, चौथो हुनेले ३० हजार पाँचौ हुने खेलाडीले नगद २० हजारसहित ट्रफी पाउने आयोजकले जनाएको छ ।

यसबाहेक तौल समूहमा दोस्रो हुने खेलाडीले ५ हजार र तेस्रो हुने खेलाडीले ३ हजार पाउनेछन् । काठमाडौँबाट ८ जना निर्णायक आउने च्याम्पियनसीपमा उत्कृष्ट दुई जना खेलाडीलाई पनि पुरस्कृत गरिने कोषाध्यक्ष लाफाले बताए ।

उनका अनुसार बेस्ट पोजर र मस्ट मस्कुलरको उपाधि जित्ने खेलाडीलाई जनही १०(१० हजार पुरस्कार प्रदान गरिने छ ।

अग्रसेन भवनमा हुने फाइनल राउण्डमा साउथ एसियन च्याम्पियनसीपमा रजत पदक विजेता बनेकी रजनी श्रेष्ठको प्रदर्शनी रहने बताइएको छ भने बिर्तामोडको राइजिङ फिटनेश स्टुडियोको तर्फबाट बली विट्स र जुम्बा प्रस्तुति रहने सञ्चालक निशा पोमुले बताइन् ।

अग्रसेन भवनमा हुने कार्यक्रमको प्रमुख अतिथि सहारा नेपाल (साकोस)का प्रमुख कार्यकारी अधिकृत महेन्द्र गिरी रहने निश्चित भइसकेको छ ।