झापा स्पोर्टस् अवाड असोज १३ मा « Yalambar Times
२३ बैशाख २०८१, आईतवार

झापा स्पोर्टस् अवाड असोज १३ मा


यलम्वर टाइम्स
१८ भाद्र २०७६, बुधबार १०:४२

बिर्तामोड । ‘झापा स्पोर्टस् अवार्ड’ को तेस्रो संस्करण असोज १३ गते सोमबारका दिन बिर्तामोड स्थित आदर्श ब्यांक्वेटमा हुने भएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा झापाको आयोजनामा हुने ‘झापा स्पोर्टस् अवार्ड २०७५’ लाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न मञ्चका अध्यक्ष हिमाल खरेल संयोजकत्वमा ५९ सदस्यीय ‘मूल आयोजक समिति’ गठन गरिएको छ ।

मंगलबार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गर्दै मूल आयोजक समिति मातहत रहने गरी मञ्चका साधारण सदस्य बुद्ध तामाङ संयोजक, सचितानन्द सुब्बा सहसंयोजक, आर्थिक, प्राविधिक, स्वागत तथा सत्कार र स्वयम्सेवक उपसमितिका संयोजकहरु सदस्य रहनेगरी ‘अवार्ड संयोजन तथा प्रतिभा छनोट समिति’ गठन गरिएको बताइएको छ ।

कार्यक्रममा स्पोर्टस् अवार्डका लागि मञ्चका कोषाध्यक्ष राजु पौडेलको संयोजकत्वमा सल्लाहकारहरु इन्द्रजीत मुखिया, रमेश समदर्शी राई, तीर्थ सिग्देल, कुमार भट्टराई, विशाल नेम्वाङ, साधारण सदस्यद्वय केशव भट्टराई र प्रेम आचार्य सदस्य रहनेगरी ‘आर्थिक उपसमिति’ गठन गरिएको छ ।

त्यस्तै, मञ्चका कार्यसमिति सदस्य कमल पाण्डे (विनोद) संयोजक तथा कार्यसमिति सदस्यहरु आयुष निरौला, तिलक योञ्जन, भारती राई, विष्णु श्रेष्ठ, साधारण सदस्यद्वय सौरभ मुखिया र एकराज प्रधान सदस्य रहनेगरी ‘प्राविधिक उपसमिति’ गठन गरिएको छ ।

मञ्चकी सहसचिव भूमिका सुब्बा संयोजक तथा कार्यसमिति सदस्य प्रकाश बानियाँ, साधारण सदस्यहरु रोहित काफ्ले, पुष्प बराल र सुनिरा मैनाली सदस्य रहनेगरी ‘स्वागत, अतिथि सत्कार तथा सांस्कृतिक उपसमिति’ गठन गरिएको छ ।

मञ्चका उपाध्यक्ष अमित खम्बू संयोजक तथा मञ्चका साधारण सदस्यहरु विनोद सापकोटा, नन्दलाल खतिवडा र आर्यन खरेल सदस्य रहनेगरी ‘स्वयम्सेवक उपसमिति’ गठन गरिएको छ ।

पूर्वफुटबलर स्वर्गीय आशिषविक्रम नेम्वाङको स्मृतिमा पछिल्लो दुई वर्षदेखि एनएसजेएफ झापाले आयोजना गर्दै आएको अवार्ड कार्यक्रममा वर्ष खेलाडी (पुरुष) लाई एक थान मोटरसाइकल, वर्ष खेलाडी (महिला) लाई एक थान स्कुटर, वर्ष खेलाडी (युवा) लाई नगद २५ हजार, उत्कृष्ट वर्ष प्रशिक्षकलाई नगद २५ हजार, पिपुल्स च्वाइजअन्तर्गत एक खेलाडीलाई नगद २५ हजार र लाइफ टाइम्स अचिभमेन्ट अवार्डस्वरुप एकजनालाई नगद ३५ हजार रुपैयाँ प्रदान गर्दै आएको छ ।

अवार्डमा २०७५ सालमा राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय प्रतियोगितामा पदक प्राप्त साविक मेची अञ्चलका झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका खेलाडी र प्रशिक्षकलाई सहभागी गराइन्छ । खेलाडी र प्रशिक्षकको मनोनयन सूची यही भदौ २९ गते सार्वजनिक गरिने मञ्चले जनाएको छ ।

दोस्रो स्पोर्टस् अवार्डमा समाजसेवी तथा झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङले एकथान मोटरसाइकल र एकथान स्कुटर प्रदान गरेका थिए ।

त्यस्तै, सहारा नेपाल साकोसले मुख्य सहयोग गरेको थियो भने झापाका अन्य संघसंस्थाले विशेष सहयोग गरेका थिए ।