तिमीले बचायौ रे « Yalambar Times
६ बैशाख २०८१, बिहीबार

तिमीले बचायौ रे


यलम्वर टाइम्स
३१ बैशाख २०७८, शुक्रबार ११:०२

 

मीना ढुंगाना

सुन्दै छु तिमीले त कुर्सी बचायौ रे, 
बिडम्बना मैले आफन्त बचाउन सकिन ।
तिम्रामा बधाई दिनेको घुइँचो छ रे,
म त मलामी जानसम्म पाइन ।

तिम्रा घर अगाडी चिल्ला गाडीको लस्कर हुँदा
मैले बिरामी बोक्न एम्बुलेन्स पाइन ।
साथीहरु मिलेर मीठो लड्डु खादै छौ रे,
मैले पेट भरी अन्न पाइन ।

सुन्दै छु चिसोमा हिटर गर्मीमा एसी मिलायौ रे,
मैले सास फेराउन एक मुठ्ठी अक्सिजन पाइन ।
आफुलाई चटक्क मिलेको दौरा सुरुवाल सिलायौ रे,
मैले लास ढाक्ने कात्रो पाइन ।

सिंहदरबारभित्र घुम्ने कुर्सीमा तिमी घुम्दै गर्दा,
मैले अस्पतालमा शैया खोज्दा पाइन ।
आफूलाई फेरि सर्वशक्तिशाली बनायौ रे,
मैले श्रद्धाको आँसु झार्नसम्म पाइन ।                                                                                                                                          अर्जुनधारा-७ झापा