‘बिनायो’ फिदिममा प्रदर्शन « Yalambar Times
१४ बैशाख २०८१, शुक्रबार

‘बिनायो’ फिदिममा प्रदर्शन


यलम्वर टाइम्स
९ पुष २०७३, शनिबार ११:११

333सन्देश सुब्बा

पाँचथर / जीतेन राईको परिकल्पना, कथा र संगीतमा बनेको किराती मिथकमा आधारित नेपाली चलचित्र ‘बिनायो’ को शनिबार फिदिममा विशेष प्रदर्शन भएको छ ।

यसअघि देश–विदेशका विभिन्न स्थानहरुमा प्रदर्शन भइसकेको तथा नेफ्टा अवार्ड प्राप्त ‘बिनायो’ हेर्न फिदिम स्थित जिविसको सभाहलमा दर्शकको घुइचो लागेको थियो । चलचित्रमा आदिम किराती पूर्खा तायामा, खियामा र हेत्छाकुप्पाको मिथकलाई उतारिएको छ । मिथकमा वर्णन गरिए अनुसार अभिभावकबिहीन दिदीबहीनि तयामा र खियामा अनि भाई हेत्छाकुप्पाको जीवन भोगाईका दुःख र दर्द वरिपरि चलचित्रको कथा घुमेको छ ।

किरात राईहरुको ऐतिहासिक थलो खोटाङको खार्मी, रुपाकोट, रावाखोला, तावाचुङ लगायतका विभिन्न ऐतिहासिक स्थानहरुमा छायाङ्कन गरिएको ‘बिनायो’ ले पूर्खाहरुले बाँचेको जीवन, गरेको संघर्ष र धानिल्याएको संस्कार–संस्कृति प्रति युवा पुस्तामा प्रेम जागृत गराउँछ ।

किराती कला र संस्कृतिको संरक्षणार्थ निर्माण गरिएको चलचित्रमा देखाइएको पारिवारिक प्रेमको मर्म र महत्वले दर्शकलाई भावुक बनाउँछ ।
नाइमा फिल्मस् प्रोडक्सनको ब्यानरमा जीतेन आफैंले निर्माण गरेको ‘बनायो’ लाई रोशन राईले निर्देशन गरेका छन् । युवराज खत्रीको छायाङ्कन तथा सम्पादन रहेको ‘बनायो’ मा सान्ध्या साम्पाङ, एलिशा राई र कपिल वान्तावा लगायतका कलाकारहरुले भनियन गरेका छन् ।