मेरो नाम ‘पारीजात’… « Yalambar Times
१७ माघ २०७९, मंगलवार

मेरो नाम ‘पारीजात’…


यलम्वर टाइम्स
२० मंसिर २०७९, मंगलवार ०७:४६

[सन्तोष नेम्वाङ]

‘तिम्रो नाम के हो ?’ छेवैमा रहेकी युवती जो आफ्नो सानो ऐनामा हेर्दै ओठमा लिपस्टिक लगाउँदै गरेकीलाई सोधे । उ आफ्नै धुनमा बोली ‘नाम किन चाहियो र ? हामी जस्तोको नाम तपाई जस्तो ग्राहकहरुले नै आफ्नो चाहना अनुसार राख्ने हो नि !’

‘त्यहि पनि तिम्रो वास्तविक नाम बताउन मिल्छ नि !’ म पनि ढिट भएर प्रश्न सोध्न थाले । ‘मेरो नाम ? अँ… मेरो नाम बसन्ती, सुन्तली, चम्पा, चमेली यी सबै हो ।’ त्यतिभन्दै उ खितिति हाँसी । ‘तपाई पनि के मेरो नामको पछि लाग्नु भएको ? तपाई यहाँ जे काम गर्न आउनु भएको हो, त्यो काम सकेर जानु नि ! धन्दाको टाइम हो । अन्य ग्राहकहरुलाई पनि त समय दिनुपर्छ नि !’ त्यतिभन्दै उ बिछ्यौनामा ढल्किदै एउटा कुनै गीत गुनगुनाउन थाली ।

देश विदेशका राजनेता गणका समाचार बजार व्यवसायको समचार संकलन गर्दा गर्दा त्यो व्यवसाय पनि एकै नास एउटै गह्रामा बाँधिएको राते गोरुझै लाग्न थाल्थ्यो । जहिले पनि घाँटीमा क्यामेरा झुण्ड्याएर मानिसको भिडमा छिचोल्दै मन्त्री चढेको गाडी हुइकिदै गरेको बेला मन्त्रीको फोटो ‘क्लिक’ गर्न पनि भ्याएको थिए । कहिलेकाही बडेमानको स्टेज चढेर वरिष्ठ व्यक्तिको पालैपालो फोटो लिइरहँदा मनको एक कुनामा काउकुती लागेर आउथ्यो । किनकी यतिका मानिसको भिडमा आफूलाई सर्वमान्य नेता ठानेर मञ्चमा गजक्क परेर बस्दा उहाँहरुको अन्तर्मनमा रतिभर पनि ग्लानीको आभाष नभएको देख्दा मेरो मनमा किञ्चित लाज लागेर आउँथ्यो ।

एकनासको जागिर । खामबन्दीको अपेक्षा । यो सबैलाइृ केही दिन थाँती राखेर कुनै नयाँ प्रकारको रिपोर्टिङको लागि सम्पादक ज्यूलाई जाहेर गरे । त्यसै अनुरुप एक दिन घरमा श्रीमतीलाई ‘आज केही बेर बिलम्ब होला खाना खाएर सुत्नु है’ भनेर म आफ्नो झोला बोकेर बिर्तामोडतर्फ हुइकिए ।

जानकारी प्राप्त गरे अनुसार एउटा गल्लीतर्फ लम्किए र एउटा घरको ढोका अगाडि गएर ढकढकाएँ । मेरो अनुमानमा ३०(३५ वर्ष पुगेकी हुनुपर्छ । एउटी महिला ढोका खोल्न आइन् र मन्द मुस्कानले स्वागत गरिन् । म सरासर घरभित्र प्रवेश गरे । केही औपचारिक वार्ता भयो । यसले आफ्नो रेट २ हजार बताई । मैले पकेटबाट २ हजार निकालेर उसको हातमा राखिदिएँ । उसले त्यो रुपैयाँ सिरानीमुनी घुसारी र आफ्नो धुनमा मस्त भई ।

अचानक उसले प्रश्न तेस्र्याइ, ‘तपाई पत्रकार हो ?’ म अक्कन बक्क भएँ ।

मनमनै सोचे ‘कसरी थाहा पाइछ ?’ कस्तो ठ्याक्कै ठम्यायौं, कसरी थाहा पायौं ? मेरो प्रतिप्रश्नमा उ मुसुक्क मुस्कुराई । ‘ए हजुर ! यो पेशामा लागेपछि यति त थाहा पाइन्छ नि । यतिका वर्षको अनुभवले कसरी बाँच्ने र कोसँग बच्ने भन्ने त सिकाएको छ नि ।’

‘अनि कसरी ठम्यायौं त म पत्रकार हुँ भन्ने ? पुलिस पनि त भन्न सक्थ्यौं ?’

‘मलाई यति अनुभव त भइसकेको छ, कि को पुलिस हो को पत्रकार हो र को ग्राहक भएर देह सुख प्राप्त गर्न आएको हो । सबै जनाले गर्ने व्यवहार एकै हुँदैन । म यो दलदलमा उत्रिए पनि यति त ज्ञान छ कि को आफ्नो स्वार्थपूर्ण गर्न आएको छ र को आफ्नो तनाब बिसाउन आएको छ ।’ यतिभन्दै उ नजिकै रहेको टेबलमा राखेको ऐना निहार्दै ओठमा लिपस्टिक दल्न थाली ।

मैले विषय परिवर्तन गर्न प्रश्न गरे, ‘तिम्रो नाम के हो ?’

‘सर नाममा के छ र ? बिहानको बेला पुतली भनेर बोलाए हुन्छ । दिनको समयमा सुन्तली भनेर बोलाए हुन्छ । अनि रातमा पारीजात भनेर बोलाए हुन्छ । नाम जे राखे पनि म मन्दिरमा चढाउने वस्तु होइन । मेरो वास्तविकता बुझेर समाजले आँखा तर्काएर हिंड्छन् । अनि समाजको आँखा तर्काइले मेरो पेट भरिन्न । तर यही समाजमा रहने पुरुषहरुले पनि दिनमा आफ्नो श्रीमतीको सामुन्ने मलाई घृणा गरे जस्तो गर्छन् तर त्यही पुरुषहरु दिन ढले पश्चातको अध्याँरोमा चारपाउ टेक्दै मेरो पाखुरा र तिघ्रा समाउन आतुर रहन्छन् । मलाई त के छ र पुरुष जहाँको जो भए पनि आफ्नो बैंसको मोल प्राप्त गर्न पाए पुगिहाल्यो नि ।’ उ केही भावुक भावमा बोल्न थाली ।

म पनि के कम यही फलाम तातिएको मौकामा प्रश्नको प्रहार गर्ने मौका पाईहाले । ‘अनि तिम्रो आफन्तहरु कोही छैन ? घरमा अरु कोही देखिदैन नि ! मेरो प्रश्न सुनेर उ भावुक भएर जवाफ दिन्छ कि भन्ने मेरो सोचाइको विपरित उ खाटाट जरुक्क उठेर मेरो अनुहार सामु आफ्नो अनुहार ल्याएर फिस्स हाँसो हाँस्दै बोली, ‘आँखिर तपाईले आफ्नो जात देखाई छाड्नु भयो होइन ?’ उ भन्दै थिइ, तपाई आफ्नो पुरुषपनको स्वार्थ पूर्ति गर्न आउनु भएको होइन रहेछ । तपाई त पत्रकारको रुपमा आउनु भएको रहेछ । ठीकै छ मलाई यसमा के आपत्ति । मलाई त मेरो रातको मोल मात्र पाइ भइगो नि । म दिनभर आफ्नो परिचयसँगै अनुहार लुकाएर बसे पनि रातको सुरुवातसँगै फक्रने पारीजातको फुल जस्तै न हुँ । जो बिहानको मिर्मिरेसँगै हाँगाबाट भरिहाल्छु । त्यसैले म फक्रिदा तपाईले जुन प्रयोजनका लागि प्रयोग गर्न सक्नुहुन्छ प्रयोग गर्नुहोस् । त्यसलाई आँखाले रसस्वादान गर्न सक्नुहुन्छ । हातले स्पर्ष गर्न सक्नु हुन्छ । अथवा केवल बासनामात्र लिन सक्नु हुन्छ । त्यो त तपाई जस्तो ग्राहकको इच्छा ।’

यस्ता गहकिला कुरा सुनेर म अवाक भएँ । सायद मनमा रहेका पीरहरु यस्ता गहकिला शब्दले थिचेर राख्न चाहन्छिन् । उ सरासर बोल्दै गई, ‘हामी नारीहरु विवाह पश्चात श्रीमानको भरोसामा रहन्छौं । हाम्रो संसार त्यहिबाट सुरु हुन्छ र त्यहि नै समाप्त हुन्छ । श्रीमानको न्यानो माया मिसिएको अंगालो पाउँदा दुनियाँको तिखो नजरबाट सुरक्षित भए झै लाग्ने । श्रीमानको न्यानो मायाको साथ आमा बन्ने अभिलाषा जाग्छ । तर त्यो अभिलाषा समयसँगै अुधरो हुँदा आफूमा हिनताबोध पैदा हुन्छ नै साथमा श्रीमानको माया पनि बिरानो हुन थाल्छ । सुरुसुरुमा साँझपर्न नपाउँदै गृह प्रवेश गर्ने श्रीमान विस्तारै मध्यरातमा रक्सीको मातमा आएर ढोका ढकढक्याउन थालेपछि अलिकति आश भरोसा पनि आफ्नो हातबाट फुस्किएको आभाष हुँदोरहेछ । यसैक्रममा समयसँगै त्यो आभाष सत्यतामा परिणत पनि भयो । अन्त्यमा श्रीमानले बाँझी भन्ने दोष लगाएर डिभोर्सको अवस्था पनि पार गरियो । आज भोली उ कहाँ छ थाहा छैन । तर म यहाँ हरेक रात फक्रदै झर्दै गरी जीवन बिताइरहेको छु ।’

उनले आँखामा भरिएको आँसु पुछ्दै मेरो आखामा आँखा जुधाउँदै बोली ‘यही हो मेरो जीवनको पाटो । यति भए तपाईको रिपोर्टिङको लागि मसला पुग्यो होला । मेरो वास्तविक नाम सम्झना हो, तर यो नाम केवल सम्मानका लागि मात्र हो । तपाईले आफ्नो रिपोर्टिङमा नाम लेख्नै परे मेरो वास्तविक नामको बदला उत्तम नाम ‘रातकी रानी’ या ‘पारीजात’ लेख्दा पनि हुन्छ ।’ म निशब्द भएँ । मेरो मुखबाट केही शब्द निस्केन । टाउको केही ग¥हुङ्गो भएर आयो । मैले आफ्नो व्याग काँधमा भिरेर उसलाई एक नजर पुलुक्क हेरेर केही नभनी ढोका खोलेर बाहिर लम्किएँ । रातको १२ बजीसकेको थियो । सडक चकमन्न थियो । सायद समय भए छिमेकीको तीरयुक्त नजर मतर्फ तेर्सिन्थ्यो होला तर अहिले त्यो नजरबाट मुक्त भएर निर्धक्कका साथ आफ्नो मोटरसाइकल स्टार्ट गरेर घरतर्फ हुइकिएँ ।