कोशी प्रदेश विरुद्धको शान्तिपूर्ण प्रर्दशनमा प्रहरीले गोली चलाउँदा दुई सक्त घाइते « Yalambar Times
८ बैशाख २०८१, शनिबार

कोशी प्रदेश विरुद्धको शान्तिपूर्ण प्रर्दशनमा प्रहरीले गोली चलाउँदा दुई सक्त घाइते


यलम्वर टाइम्स
२७ बैशाख २०८०, बुधबार ०६:२३

दमक । अधिकार माग्दा शासकले बन्दुक चलाउनु लोकतन्त्रका लागि घातक भएको आन्दोलनकारीहरुले बताएका छन् ।

झापाको दमकमा पहिचानवादीहरुले कोशी प्रदेशको विरोधमा निकालेको शान्तिपूर्ण राँके जुलुस बिथोल्न प्रहरीले अन्धाधुन्दा गोली चलाएको थियो ।

प्रहरीको गोली लागि दुई मरणासन्न अवस्थामा पुगेपछि राज्यको यो दमनकारी नीति ठीक नभएको पहिचानवादीहरुको प्रतिक्रिया छ ।

प्रदेश पुनः नामाङ्कन संघर्ष समिति झापाले दमकमा जुलुस निकाल्दै गर्दा बिजुलीको लाइन गएको मौका छोपी प्रहरीले अन्धाधुन्दा गोली चलाएका थिए ।

गोली लागि दीक्षा बराल र गजेन्द्र फागो गम्भीर घाइते भएका छन् भने अन्य पाँच जना सामान्य घाइते भएका छन् ।

बरालको पाखुरामा गोलीको छर्रा लागेको देखिन्छ भने फागोको दाहिने घुडाँमा गोली लागेको छ ।

गम्भीर घाइते भएका दुई योद्धाहरुलाई उपचारका लागि बिर्तामोड स्थित बीएण्डसी अस्पतालमा पुर्याइएको छ ।

शान्तिपूर्ण राँके जुलुस प्रदर्शनमा प्रहरी आफैले विद्युतको लाईन काटेर अन्धाधुन्दा गोली बर्साउछन् भने प्रहरी प्रशासनलाई हेर्ने दृष्टिकोण फरक भएर जाने आन्दोलनकारीहरुले बताएका छन् ।
संघर्ष समिति झापाका अध्यक्ष पाण्डवलाल चौधरीका अनुसार सरकार तानाशाहीको बाटोमा दौडिएको हुँदा अब निर्णायक आन्दोलनमा जाने बताए ।

यता लिम्बूवानी नेता सञ्जुहाङ पालुङ्वाले आदिवासी जनजातिलाई गरिएको दुव्र्यवहार अब सैय नहुने बताए ।

२६ गते भएको राँके जुलुसमा प्रहरी दमनको चौतर्फी विरोध भइरहेको बेला गोली प्रहार गर्ने र आदेश दिनेलाई सरकारले निलम्बन गर्नुपर्ने बताउँदै यस्ता खाले दुव्र्यवहार नगर्न सरकारलाई आन्दोलनकारीहरुले माग गरेका छन् ।

राँके जुलुसमा ‘कोशी प्रदेश मान्दैनौं’, ‘हिक्मत कार्की राजीनामा दे’, ‘पहिचान विरोधी होसियार’ भन्दै प्रदर्शन गरेका थिए ।