‘अनिश्चित’लाई सुदूर गाउँमा भेट्दा « Yalambar Times
११ बैशाख २०८१, मंगलवार

‘अनिश्चित’लाई सुदूर गाउँमा भेट्दा


यलम्वर टाइम्स
१४ असार २०८०, बिहीबार ०९:२८

[मन थेगुबा]

नेपाली साहित्य विधामा लगानी गर्नु भनेको बालुवामा पानी खन्याउनु जस्तै हुन्छ भन्ने मानसित्ताले ग्रस्त समाज हुँदाहुँदै पनि साहित्यप्रति मरिमेटेर लागि पर्ने मानिस पनि पाइन्छ । तिनै मध्येका कवि तथा गजलकार राजकुमार सुब्बा ‘अनिश्चित’ पनि एक जना पर्छन भन्ने प्रमाण ‘सुदूर गाउँमा’ कविता संग्रहको निजी कुरामा लेखिएका यिनै माथिका भनाईले प्रष्ट पार्दछ । जो धेरथोर पत्रकारितामा पनि रमाउन पुग्छन् । यो संसारमा कसैको र केहीको विश्वास र निश्चितता हुँदैन भन्ने दर्शनबाट प्रेरित भएर आफ्नो नामको पछाडि ‘अनिश्चित’ उपनाम फुर्को जोडेको पाइन्छ ।

बुबाआमा चन्द्रबहादुर र फुलमाया (पारखरी) खजुमको कोखबाट जन्म भई पथरी शनिश्चरे मोरङमा आफ्नो बाल्यकाल बिताएका भए पनि दमक झापालाई श्रीमती, एक छोरा र एक छोरीका साथ आफ्नो कर्मथलो बनाएर साहित्यको पछाडि दौड लागाउन थालेको २ दशक कटिसकेको पाइन्छ ‘अनिश्चित’ । अहिले अनलाइन पत्रिका जस्तै एकताका हवाइ र भित्तेपत्रिका प्रकाशन गर्ने व्यापक चलन थियो । साहित्यिक विचार, लेख र रचनाहरु तिनै हवाइपत्रिका मार्फत प्रकाशन गरेर पठाउने गरिन्थ्यो । राजकुमार सुब्बा ‘अनिश्चित’हरुको समूहले पनि नवजागरुक युवा समूह, दमक झापा गठन गरेर सुनौलो सौगात (हवाइपत्रिका –२०६३) र परिचय (हवाइपत्रिका –२०६५) गरी दुईवटा हवाइपत्रिकाहरु प्रकाशन गरेको पाईन्छ । यी दुबै हवाइपत्रिकाका सम्पादक राजकुमार सुब्बा ‘अनिश्चित’ आफै रहेका थिए ।

गोपालप्रसाद रिमालको ‘कविको गान’लाई पहिलो गद्यकविताको रुपमा हेर्नेहो भने गद्यकविता लेखनले ८९ वर्ष पार गरेको पाइन्छ । यस बिचमा भूपि शेरचन, मोहन कोइराला, बैरागी काइला, ईश्वर बल्लभ, कृष्णभूषण बल, बम देवान, आदि जस्ता हस्तिहरुले गद्यकवितालाई नै आफ्नो लेखनको क्षेत्र बनाएर लेखेकैले गद्यकविता अहिलेको अवस्थासम्म आइपुगेको हो । भूपाल राई, श्रवण मुकारुङ, भूपिन, मनुमञ्जिल आदि जस्ता स्थापित कविहरु आजका दिनमा पनि गद्य कवितालाई नै आफ्नो क्षेत्र बनाएर लागिपरेको पाइन्छ । नियमको साधसिमाना नहुने र आफू स्वतन्त्र भएर लेख्न पाइने भएकोले कविहरुमा गद्य कविताप्रति आकर्षण बढ्नका साथै पर्याप्त मात्रामा गद्य कविता कृतिहरु पनि प्रकाशन भइरहेको पाइन्छ । पछिल्लो पल्ट प्रकाशित गद्य कविता संग्रहहरु मध्ये सुदूर पूर्व झापामा प्रकाशित भएर आएको छ (सुदूर गाउँमा–२०७३) । हुन त एकताका गजल लेखनमा रमाउन पुगेका राजकुमार सुब्बा ‘अनिश्चित’ ले पहिलो एकल संग्रहका रुपमा ‘जिन्दगी छ….’ (गजल संग्रह–२०६७) प्रकाशित गरेका थिए । जुन गजल संग्रहका ४८ वटा गजलहरुमा प्रेम र प्रणय मात्र नभई दुःखसुख, क्रान्ति, विद्रोह, पहिचान जस्ता विषयहरुलाई पनि समेटेको भेटिन्छ । उनै राजकुमार सुब्बा ‘अनिश्चित’ले आफ्नो दोश्रो कृतिका रुपमा गद्यकविता संग्रह सुदूर गाउँमा –२०७३) लिएर पाठक सामु कविका रुपमा उदाएका हुन् ।

कवि तथा गजलकार याम थुलुङको (गुगल) कला मार्फत आवरण सजिएको ‘सुदूर गाउँमा’ कविता संग्रहको भौतिक अवस्थालाई हेर्दा मध्यम श्रेणीमा राख्न सकिन्छ । भूमिका लेखनमा कसैले कलम चलाउन नपरे पनि प्रकाशकीयमा विश्व भूटानी साहित्यिक संगठनका अध्यक्ष डेन्जम साम्पाहाङले लेखेका छन् भने कवि ‘अनिश्चित’ले निजी कुरा मार्फत आफ्ना कुराहरु राखेको पाइन्छ । यस संग्रहमा अधिकांश प्रेमप्रणय, राष्ट्रिय सङ्कट, राजनैतिक विकृति, पहिचानको खोजी, गरिवीमा केन्द्रित ९६ पेजसम्म पैmलिएर ४८ वटा मध्यम आकारका कविताहरु रहेका छन् । विश्व भूटानी साहित्यिक संगठनले प्रकाशन गरेको र दमक स्रष्टा छापाखानाबाट मुद्रित यस संग्रहको अन्तिम आवरणमा कविको तस्वीर सहितको परिचय रहेको छ ।

“…………
जुम्लेली व्यापारी ऊ
हिँड्नेबेला
गाउँको चिन्ता गरेर भन्दै थियो
हिउँ पग्लिएर यसपाला
कर्णाली थुनियो रे
गाम पुग्नु पर्ने के ..
……………….”(जुम्लाको चिनो र म)

यसरी दुर्गम कर्णालीको व्याथा पोख्दै सुरु भएका कविताहरु मध्ये ‘धिसिङ कान्छा’ले वर्तमान सरकारलाई विकासमा चुनौति दिएको छ । ‘एक साँझ जोरपाटीमा’ तराइतिरको रामकिसोर आफ्नो बाध्यताको व्यापार गर्न बाँसको घोचामा सपना बोकेर गल्लिगल्लि भौतारिएको कथा छ । यसैगरी भुँइको धुलो खेल्दै हुर्किएका मान्छेहरुको यथार्थ लेख्ने क्रममा सिमानामा बसेर देशको सिमाना जोगाउने सिमान्तकृत ‘बद्री’हरुको कथाका साथै ‘खुशीलाल’ मल्लिकहरुको दयनीय अवस्था पनि कविताहरुमा भेट्न सकिन्छ । ‘मुखपत्र’मा एउटा दास समान मालिककोमा काम गरेर पनि सन्तोषको शास फेर्न नपाएको गुनासोका साथै भुँइ मान्छेहरुको दुःख पीडालाई प्रष्ट पार्दै शालीन विद्रोहको उद्घोष गरेको भेटिन्छ ।

संसार प्रेमले अडिएको छ । यस संग्रहमा पनि प्रेमलाई भरपुर अटाउन खोजिएको पाइन्छ । पाठकहरुलाई संयोगान्त भन्दा वियोगान्त प्रेमले बढी प्रभाव पार्ने भएकाले संग्रहभित्रका प्राय कविताहरुले वियोगको पिडा बोलेको छ । कतै ‘डाँस खोलाको दोभान’ कतै ‘दही धाप मेला’को प्रेमिल सम्झना साँचेको जस्तै प्रत्येक जन्म दिनमा आफ्नो हुननसकेको मायालुलाई कवितामार्पmत शुभकामना दिन कवि चुकेको छैन । ‘सुहागरात’को मिठो कल्पनामा हराएको कवि ‘परजीवी र जिजीविषा’मा एकोहोरो प्रेममा डुब्दैनन् मात्र ‘बैश’मा विछोडिएकी प्रियसीको सम्झना ‘मेल बक्स’मा फर्काउदै असफलतामा विभाजित हुँदै गरेको पनि भेटिन्छ । आडम्बरी सहरलाई इतिहास नभुल्न अनुरोध मात्र गरिएको छैन काठमाण्डौलाई केन्द्रमा राखिएर लेखिएका कविताहरु संग्रहमा निकैवटा रहेका छन् । कतै ‘मेजर बा’ले काठमाण्डौको परिवर्त बारेमा बोलेको छ भने आप्mनो आमाको अपहरण हो की मृत्यु के हो ‘प्रमाण’मा प्रमाण खोजिएको छ । यसैगरी ‘काठमाण्डु’ र ‘जहाँ म थिएँ’मा राजधानीको यथार्थता पाइनका साथै ‘सामुहिक सपना’मा २०७२ सालको भूकम्प पश्चातको तत्काल अवस्थाको दर्दनाक परिवेसको चित्रण गरको भेटिन्छ ।

२०६२÷२०६३ को आन्दोलन पछि पहिचानको मुद्धा अति शसक्त भएर उठ्यो । यस संग्रहभित्रका कविताहरु पनि अछुत रहने कुरै भएन तैपनि यसभित्र अत्यन्तै भद्र पाराले पहिचानको मुद्धा उठाइएको पाइन्छ । शीर्ष कविता ‘सुदूर गाउँमा’ हिजोको गाउँघरमा हिजोकै जस्तो आर्गेनिक परिवेसको चाहाना गरिएको छ भने ‘कविता र मुन्धुम’, ‘म पहाड उक्लँदैछु’, ‘बैश’, ‘अस्तित्व’, आदि कविताहरुमा आधुनिक्ताका कारण आफ्नो परिचय मेटिदै गएको सत्य बोलिएको छ ।

‘आमा (१, २’ मा आमाले गर्ने वात्सल्य प्रेमका साथै उनीले अभावमा पाएको दुःखकष्टलाई कवितामा उतारेको पाइन्छ भने ‘यादहरु’मा बाल्यकालको सम्झना सम्झिने क्रममा पाठकहरुलाई पनि आ-आफ्नो त्यसबेलाको समयमा नै पुर्याउन सफल रहेको छ । ‘कविता र मेरी छोरी’मा कविता सन्तुष्टिको लागि लेख्नु परेको अथार्थता छ भने ‘मन’, ‘कविता र पहाड’, ‘शवयात्रा’, ‘सम्बोधन’ आदि कविताहरुमा कतै कविता लेख्दाको पिडा छ भने कतै कविता नै आफ्नो सबैथोक भएको कुरा उल्लेख गरिएको छ । प्राय कविताहरुमा राजनीतिकप्रति वितृष्णा र नैतिकपतन नेताहरुको बारेमा लेखिएको पाइन्छ भने ‘यो साल’मा राजनीतिक संस्कारले ल्याएको बन्द जस्तो बिकृति प्रष्ट देखाएको छ ।

यसरी संग्रहभित्रका कविताहरुको भावलाई नियाल्दा विगतदेखि वर्तमानसम्मका सम्पूर्ण पक्षलाई समेटेको पाइन्छ । कविताहरुमा प्रयोग भएका बिम्ब र प्रतीकहरु शसक्त र जीवन्त रुपले उभिएका छन् भने मिथकका रुपमा आएका प्रसंगहरुले कवितालाई गहकिलो बनाएको छ । गजल लेखनमा पोख्त कवि भएकोले गद्यमा लेखिएका भए पनि कविताहरु संगितमय रहेका छन् । कवितामा भाषाशैलीमा कतै खोट लागाउने ठाउँ पाइँन्दैन । अन्त्यमा कवि र कविता संग्रहको सफलताको शुभकामना साथ यसै संग्रह भित्रबाट एउटा कविता अंश राख्दै लेखको विट मार्न चाहान्छु ।

………………
धन्न उनीहरुले
सपना देखेवापत्
राज्यलाई कर
तिर्नुपर्दैन यो देशमा
के गरिवहरुको देश
र सपना हुँदैनन् ? (सरकार)

सन्दर्भ सामग्रीः
१) सुदूर गाउँबाट (कविता संग्रह(२०७३, राजकुमार सुब्बा ‘अनिश्चित)
२) बुद्धले अस्त्र… (कविता संग्रह –२०५८, भूमिका (कृष्ण धरावाशी)
३) जीन्दगी छ ….. (गजल संग्रह(२०६८, राजकुमार सुब्बा ‘अनिश्चित)