चिहान भत्काएर गरिएको विकास पहिचानवादीलाई सैय नहुनेः मन्त्री किराती « Yalambar Times
२० बैशाख २०८१, बिहीबार

चिहान भत्काएर गरिएको विकास पहिचानवादीलाई सैय नहुनेः मन्त्री किराती


यलम्वर टाइम्स
२५ श्रावण २०८०, बिहीबार १०:०३

दमक । संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री मन्त्री सुदन किराँतीले पुर्खाहरुको चिहान भत्काएर गरिने विकास पहिचानवादीका लागि सैय नहुने बताएका छन् ।

२९ औं विश्व आदिवासी दिवसको अवसरमा कमल गाउँपालिकास्थित आदिवासी रंगशालामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किराँतीले यस्तो बताएका हुन् ।

मन्त्री किरातीले हाम्रो पितृ पुर्खाहरुको चिहान भत्काएर प्रकृती र संस्कृतीलाई समाप्त पारेर गरिने विकास अस्तीत्वमाथि प्रहार भएको हुँदा यसलाई जोगाइराख्नु तपाई हाम्रो कर्तव्य भएको बताए ।

उनले लोकतन्त्रमा पञ्चायती शासनले गरे जस्तो विकास अहिलेका जनतालाई पाच्य नभएको बताए ।

उनले नेपाली कला संस्कृतीको विकाससँगै पर्यटन र पुर्वाधार विकासद्वारा मुलुकलाई समृद्ध बनाउने हो भने रैथाने विज्ञानमा आधारित विकासलाई जोड दिनुपर्ने बताए ।

मन्त्री किराँतीले शासकहरुले रैथाने विज्ञानलाई जोड नदिएका कारण आज नेपालीपनको विकास हुन नसकेको धारणा राख्दै रैथाने विज्ञानको आविस्कारक अक्कलबहादुर नकर्मीले पानी घट्टाबाट बिजुली निकालेको उदाहरण दिए । उनले नकर्मीले भने जस्तै रैथाने विज्ञान नेपालको विकासमा बरदान सवित हुन् सक्ने बताए ।

उनले पहिचानको आन्दोलनमा केही शक्तिशाली हुँ भन्ने दलहरु बाधक भएको हुँदा पहिचान प्राप्तिका लागि हत्केलाले सूर्यलाई छेके जस्तै गरेको बताए ।

आदिवासी अधिकारले संसारमा राज मात्र गरेन सुनौलो राष्ट्र निर्माणमा उत्तिकै सहकार्य भएको हुँदा प्रदेश नं. १ जनताले चाहेको नामबाट हुनेमा दुइमत नहुने बताउँदै विश्व आदिवासी दिवस त्यसैको लागि मार्ग निर्देशक बन्ने बताए ।

नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा समाजशास्त्री डाक्टर कृष्ण भट्टचन र सामाजिक अभियान्ता डकेन्द्रसिंह थेगिम, लाहुरनिपका महासचिव शंकर लिम्बूले चिहानमाथि गरिएको विकासको खेती आदिवासीका लागि हानिकारक भएको बताउँदै खर्बौं रुपैयाँ भ्यू टावरमा खर्चिएर नेपाली जनतालाई कंगालको खेतीमा लैजादै गरेको आरोप लगाए ।
पहिचान र अधिकारका विषयमा ति वक्ताहरुले प्रशिक्षणात्मक मन्तव्य राखेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका सभापति देउमान थेवे, जसपाका अध्यक्ष दिपेनवाला राई, पहिचानवादी नेता तथा लेखक साहित्यकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

सबै क्षेत्रबाट मौलिक परम्परागत जातजाति र संस्कृतिसहितको उपस्थितिले २९ औं विश्व आदिवासी दिवस सफलतापूर्वक सम्पन्न भएको चुम्लुङका अध्यक्ष सेसेहाङ फियाँकले प्रतिक्रिया दिए ।