को हुन् किराँत ? « Yalambar Times
८ बैशाख २०८१, शनिबार

को हुन् किराँत ?


यलम्वर टाइम्स
९ फाल्गुन २०८०, बुधबार ०७:५३

[सन्तोष नेम्वाङ]

किराँत शब्दले नेपालका वर्तमान राई, लिम्बू, याक्खा, सुनुवार र देवान जातिहरुलाई जनाउँदछ । वेद व्यासले लेखेको संसारको वैदिक सनातन धर्म वेदमा समेत देवान भनेको देव जाती र यस भूमिमा बस्ने जातिलाई किराँत भनि व्याख्या गरेको छ । सबैभन्दा पुरानो मानिएको वेदमा नै किराँत शब्दको प्रयोग हुनुबाट किराँतहरुको उपस्थिति वेदको रचना हुनुभन्दा पहिलेदेखि नै नेपालमा भएको पुष्टि हुन्छ । हिन्दु शास्त्र अनुसार किराँत अनआर्य जाति जुन धर्म बिहिन थियो । तर, तथ्यहरुले किराँतहरु वैदिक धर्मबाट प्रजर्वित थिए ।

किराँतभित्र वर्तमानमा धेरै थरहरु रहेका भए पनि प्राचिन किराँत जातिहरु सबै एक थिए । वर्तमानमा किराँत जातिका विभिन्न भाषा लिपी, संस्कृतिहरु छन् । ति मध्ये पनि मुख्य यसप्रकार छन् । प्रमुख जातिहरु, राई, लिम्बू, याक्खा, सुनुवार र देवान । किराँत भनेको नेपालको प्रवजित जाति थियो । किराँतहरुको बसोबास नेपालको पूर्व र हिमालसम्म फैलिएको छ भने भारतको आसाम बंगलदेखि लिएर त्रिपुरासम्म रहेको छ ।

काठमाण्डौका गोपाल वंशी राजालाई पराजित गरेर पहिलो यलम्वर किराँती राजा भएका थिए । यिनीहरु हिमालय पर्वत खण्डको दक्षिणतर्फको पहाडी भागमा बसोबास गर्ने जातिको रुपमा पनि पौराणिक ग्रन्थहरुमा उल्लेख भएको पाइन्छ । हाल हिमालय पर्वतको पूर्वी काखमा बसोबास गर्ने किरात जातिहरुको उपस्थिति यस क्षेत्रमा परापूर्व कालदेखि नै रहिआएको थियो । किराँत जातिहरुको इतिहासबाट के पनि थाहा पाइन्छ भने पूर्वी नेपालको बासिन्दाहरु मात्र नभई भारतका पूर्वी पहाडी इलाका आसाम, सिक्किम, भुटानका साथै म्यानमार (बर्मा) थाइल्याण्ड, कम्बोडिया, भियतनाम, फिलीपिन्स आदि देशहरुमा पनि बसोबास गरिरहेका पहाडी जनजातिहरु समेत किराँत जाति अन्तर्गत पर्दछ ।

अझै पनि काठमाण्डौ उपत्यकाबाट पूर्वतर्फ रहेको पहाडी क्षेत्र किराँत प्रदेश भनी प्रसिद्ध रहेको छ । यो भू–खण्डलाई ३ भागमा विभाजित गर्ने परम्परा रहेको छ । १) वल्लो किराँत, अर्थात् काठमाण्डौ उपत्यकाको सन्दर्भमा सबैभन्दा निकटमा रहेको किराँत भूमि । २) माँझ किराँत, अर्थात् किराँतहरुको मध्य भूमि र ३) पल्लो किराँत, अर्थात् काठमाण्डौ उपत्यकाबाट निकै पर रहेको किराँत भूमि । दूध कोशी नदीसम्म फैलिएको वल्लो किराँत भूमिमा मुख्यतः सुनुवार, जिरेल तथा खम्बू (राई) जातिका किराँतहरुको बसोबास रहेको छ भने दूध कोशीदेखि अरुण कोशीसम्म फैलिएको माझ किराँतमा मुख्यतः खम्बू (राई) जातिहरुको बहुल्यता रहेको छ । यसैको आधारमा यो भू–खण्ड खम्बूवान अर्थात् खम्बूबासीको भूमि भन्ने नामले पनि प्रसिद्ध छ । अरुण कोशीभन्दा पूर्वतर्फ रहेको पल्लो किराँत मुख्यतः लिम्बू जातिहरुको बसोबास क्षेत्र हो । यो भू–खण्डलाई दश लिम्बूवान पनि भनिन्छ । यसको पनि पूर्वतर्फ रहेको भू–भाग चाही मुख्यतः लेप्चा जातिका किराँतहरुको बसोबास छ । सम्भवत पहिले नेपालको सीमा टिष्टा नदीसम्म निर्धारण गरिएको बेला सिक्किम पनि यसै किराँत प्रदेश अन्तर्गत नै पर्दथ्यो होला । जहाँ हाल खासगरी लेप्चा जातिको बसोबास छ । हाल आफूहरुलाई किराँत जातिको वंशज मान्ने विभिन्न जनजातिका मानिसहरु नेपालमा मात्र सीमित नरही सिक्किम, भुटान र भारतको आसाम र पश्चिम बंगाल राज्यहरुमा पनि प्रशस्त संख्यामा रहेका छन् ।

कतिपय किराँती किम्बदन्तीका अनुसार प्राचिनकालदेखि नै समथर तराई प्रदेशमा बसोबास गरिरहेका मेचे, कोचे, राजवंशी र थारु जानजातिसँग किराँत जातिको वंशगत एकत्वबारे उल्लेख गरिएको पाइन्छ । थारुहरुलाई तराईका लिम्बू भन्ने विशेषण समेत पाइएका छन् । मेची नदीको किनारा तिर बस्ने मेचे जनजातिका मानिसहरु पनि आफूलाई किराँत जातिकै मान्दछन् । र आफूलाई पनि आफ्नो बन्धुबान्धबहरु लिम्बू र खम्बूझै रेशमको व्यापार गर्दै चीनको सीमावर्ती क्षेत्रबाट बसाई सरेर आएको ठान्दछन् । उनीहरुको धारणा अनुसार लिम्बू र खम्बूहरु पहाडतिरै बसे तर मेचेहरु भने न्यानो र उर्भर ठाउँको खोजी गर्दै पहाडबाट समथर इलाकातर्फ झरे ।

नेपालका मोरङ्ग तथा झापा जिल्लाहरुमा बसोबास गरिरहेका धिमाल जाति पनि किराँत जातिकै एउटा शाखा मानिएको छ । तिनलाई मधेसका किराँत भन्ने गरिन्छ । धिमाल जातिका अधिकांश किम्बदन्तीहरुमा मात्र होइन कि उनीहरुको बाह्यकृति र भाषामा समेत किराँत जातिसँग निक्कै सामञ्जस्यता रहेको पाइन्छ । किराँत प्रदेश अन्तर्गत रहेको भू–भागमा बस्नेत शेर्पा जाति तिब्बती मूलका हुन् र बौद्ध धर्मको लामापन्थको अनुयायी मानिन्छन् । यस क्षेत्रको पश्चिमतिर बस्ने तामाङहरु पनि लामा धर्मकै अनुयायी हुन् र कसैकसैले तिनलाई पनि तिब्बती मूलकै बताउने गरेका छन् । तर यसै जातिका विद्वान सन्तबीर लामा (पाख्रिन) चाही तामाङहरुलाई नेपालकै आदिवासी भएको बताउँछन् । उनको कथन अनुसार यस जातिको मूल थलो उत्तरमा योल्मा (योलम्बू वा हेलम्बू) तथा दक्षिणमा मधेसको माझमा अवस्थित ‘सय डाँडा’को सुन्दर प्रदेश हो । त्यसभन्दा अझ पश्चिम बसोबास गर्ने नेवार जाति लगायत गुरुङ र मगर जातिमा पनि किराँत जातिको अवशेष भेटाउन सकिन्छ । यस परिप्रेक्ष्यमा मगर जातिको नाम लिन सकिन्छ । जसको निकटतम् सम्बन्ध बाह्यकृति तथा भाषागत साम्यताको आधारमा किराँत जातिसँग रहेको अनुमान हुन्छ । यद्यपी लामो समयसम्म यस जातिसँगै खस जातिको सम्पर्क रहीआएको छ । हुन त मगरहरु ठकुरीहरुसँग आफ्नो आनुवंशीक निकटतामा विश्वास राख्छन् । अनि दक्षिण पूर्वी तराईमा बस्ने सन्थाल जातिमा पनि हिन्दू धर्मको ठूलो प्रभाव परेको छ । यद्यपी यो जाति पनि किराँत जातिकै निकटवर्ती प्रतित हुन्छ ।

यो लेख विभिन्न पुस्तकबाट संकलन गरेर लेखिएको लेख हो । जात धेरै प्रकारका छन् । तर नेपाल देश एउटै छ । त्यसैले जात अनुसार सीमा छुट्याउने कसैले पनि दुस्प्रयास नगरौं । हामी टुक्रिए देश टुक्रिने छ । यदी देश नै नरहे हामी कोही पनि रहदैनौं । देश रहेमात्र हामी सबैको जात रहनेछ । अनि सबै जातको इज्जत गरौं । अन्य जातको इज्जत गरे मात्र आफ्नो जातको इज्जत रहनेछ । इज्जत पाइनेछ । सबैभन्दा पहिला जातलाई आफ्नो ठाउँमा राखौं र हामी नेपाली हौं भन्ने अभिमान गरौं ।