भुपालप्रसाद खरेल
मानिसको बाह्य आकृति हेरेर उभित्र सुसुप्त रहेको प्रतिभाको अन्दाज गर्न हामीलाई अत्यन्त कठिन हुन्छ । वैद्धिक ज्ञान र साधनारत् विद्वान सन्तहरुमध्ये कसैकसैले मात्र चमत्कारि ढंगबाट व्यक्तिको आकृति, स्वाभाव र लक्षणहरु हेरेर उ भित्र सुसुप्त रहेको प्रतिभाको अन्दाज गरेर भविष्यवाणी गर्न सक्छन् । २०४१ साल पौष २ गते श्री अर्जुनधारा जलेश्वरधाममा अर्चकमा नियुक्त हुनु भएका आचार्य पुष्पलाल निरौलापछि गएर अन्तर्राष्ट्रिय जगतमा ख्याति प्राप्त गरिसकेको महर्षि वैदिक फाउण्डेशनको कुलपति जस्तो गरिमामय पदमा आसिन होलान् भन्ने कसैले सोचेका थिएनन् ।
अर्जुनधारा जलेश्वरधामको प्रसिद्धिको उचाई बढी रहेको बेला तत्कालिन धाम समितिको अध्यक्ष स्वर्गीय पं. दुर्गाप्रसाद खरेल हुनुहुन्थ्यो । आधुनिक आयातित् शिक्षाको लहै लहैमा लागेर आफ्नो धर्म संस्कृति र संस्कार पद्दतिमा उदासिन भई धर्मान्तरणको गुप्त लहड चलेको देखेर परम्परागत शिक्षाको प्रचार र महत्व दर्शाउने उद्देश्यले गुरुकुल स्थापना गरेर पं. पुष्पलाल निरौलालाई अर्चकका साथसाथै पठन पाठनको समेत जिम्मेवारी सुम्यिो । त्यस बेला पं. पुष्पलाल निरौला शास्त्री उत्तीर्ण गरेर आउनु भएको थियो ।
पं. आचार्य पुष्पलाल निरौला शिवका परम भक्त भएकै कारण शिवारधानामा तल्लिन भएर लाग्नु भयो । त्यसैको फलस्वरुप उहाँमा परमेश्वर शिवको करुणा वर्षा हुनथाल्यो । उहाँलाई आध्यात्मिक क्षेत्रमा आत्मप्रकाश हुँदै गयो । उहाँले अर्जुनधारा जलेश्वरधाममा स्कन्ध पुराणको चौमासा पुराण भन्नु भयो र त्यसै समयदेखि उहाँ सबै तिर चर्चित हुँदै जानुभयो । तत्कालिन धाम समितिका अध्यक्ष पं. दुर्गाप्रसाद खरेल लगायत अन्य सदस्यहरुले समाजमा सनातन धर्मको आध्यात्मिक चेतना जगाउने उद्देश्यले हरेक वर्ष बाला चतुर्दशीमा पुराण लगाउने निर्णय गरियो । यस क्रममा उहाँले अठार पुराण वाचन गर्दै तेत्तिसौं अनुष्ठान पुरा गर्नुभयो । यसरी पुराण वाचन गर्दै जाँदा उहाँको स्वरमा माधुर्यता र शब्द लालित्यमा क्रमशः सुधार एवम् परिमार्जित हुँदै गएकाले उहाँको प्रसिद्धि फैलिदै गयो । पुराणलाई केवल कथाको रुपमा मात्र व्याख्या नगरी कथाभित्र रहेको दार्शनिक पक्षलाई खोतल खातल गरेर श्रोताको मानसिकता परिवर्तन गर्ने हरदम प्रयास गर्नु हुन्छ । पण्डितको पाण्डित्व त्यतिबेला सफल हुन्छ, जति बेला श्रोताले गुरुले बताएको दर्शनको यथार्थ बोध गर्न सफल हुन्छन् । पुराण वाचनका सिलसिलामा समाजमा भएका बिकृति विसंगतिका बारेमा मानसिक त्रास देखाएर रोक्ने प्रयास गर्नु हुन्छ ।
उहाँका बुबा पं. सुदर्शण निरौला पुष्पलालजीको बारेमा अत्यन्त गौरवका साथ उहाँको विलक्षण प्रतिभा र गम्भीर्यताका बारेमा बताउनु हुन्छ । उहाँले शिक्षा आर्जन गर्ने क्रममा धेरै घाटको पानी खानु भई त्रिभुवन विश्वविद्यालयबाट नेपालीमा एमए साथै वीएड गर्नु भयो । परम्परागत र आधुनिक शिक्षा दुवैमा उहाँको गम्भीर दखल छ ।
यसरी अर्जुनधारा जलेश्वरधामभन्दा आचार्य पुष्पलाल निरौलाको याद आउँछ । उहाँलाई अर्जुनधारा जलेश्वरधामले धेरै कुरा दियो भने उहाँले धामलाई मन, वचन र कर्मले अघि बढाउँने अविरल प्रयास गर्दा गर्दै उहाँको स्वास्थ्यमा नचिताएको दुःख आई प¥यो । उहाँ अहिले मृत्यु शैयामा कालसँग लडिरहनु भएको छ । उहाँका चेलाचेलीहरु गुरुको शिघ्र स्वास्थ्य लाभ होस् भनेर प्रभु जलेश्वरनाथसँग प्रार्थना गरिरहेका छन् । प्रभु जलेश्वरनाथले हाम्रो पुकार सुनेर शिघ्र स्वास्थ्य लाभ प्राप्त होस् भनी हामी सबैले कामना गरौं । दिने न दिने त प्रभुको इच्छा ।