प्रेमबहादुर खड्का उमेरले पाका देखिए तापनि राजनीतिक विचारले जवान देखिन्छ । इलाम शान्तिडाँडा–७ मा बस्दै आएका खड्का २३ वर्ष राष्ट्रिय प्रजातन्त्र पार्टीमा रही अनुभव बटुली सकेका हुँदा नेपालमा जन्मेका राजनीतिक दलहरुको दस्तावेज पूरै अध्ययन गरिसकेका छन् । दर्ता भएका सबै दलहरु जनताको मुक्तिका लागि लड्छौं भनेतापनि ति दलभित्र जनतालाई मुक्ति दिने आधारहरु नभेटिएको हुँदा ति मध्ये राष्ट्रिय जनमुक्ति पार्टीमा फराकिलो विचार भावि रणनीति र विकासका मापदण्डहरु पाइएको हुँदा उत्कृष्ठ विचार भएको ठानी आफू लागेको बताउँछन् । उनी जनमुक्ति पार्टीको केन्द्रीय सदस्य भएर काम गर्दै छन् । उनैसँग यलम्वर टाइम्सका सहयोगीले गरेको कुराकानी:
तपाई राजनीतिक क्षेत्रमा लाग्नु अघि के गर्नु हुन्थ्यो ?
म जनताको विकास र उन्नतिका लागि चिन्ता गर्ने व्यक्ति भएको हुनाले शान्तिडाँडा गाउँ विकास समितिमा वडा अध्यक्ष भएर काम गरे । ८ वर्ष रेडक्रस सोसाइटीमा बसेर अध्यक्ष पदमा काम गरे । शिवनारायण मन्दिरको अध्यक्ष भएर बसें । महिलाहरुको उन्नतिको लागि महिला जागरणमा सहयोगीका भुमिका निर्वाह गरेर बसें ।
जनमुक्तिमा प्रवेश गर्नु अघि ?
स्वार्गीवासी सूर्यबहादुर थापा ज्यूको दल राष्ट्रिय प्रजातन्त्र पार्टीको नेता भएर काम गरे ।
किन छाड्न भयो त राप्रपा ?
विचारले राप्रपा कमजोर हुँदै गयो । गाउँका कुराहरु त्यति सुनुवाई हुन छाड्यो । अहिले राप्रपा राजनीतिक दल त छ । त्यस दलभित्र समग्र नेपाल र नेपालीहरुको र आदिवासी जनजाति, मधेसीको विचारहरु खरो रुपमा उठ्न सकेन त्यसैले त्यस पार्टीबाट अलगीएको हुँ ।
के जनताको मुक्ति जनमुक्ति पार्टीभित्र देख्नुभयो त ?
अवश्य । वृद्ध भत्ताका कुरा उठाउने, संघीय राज्यको अवधारणा बोक्ने अनि जातीय जनसंख्याको आधारमा पूर्ण समानुपातिक प्रतिनिधित्वको आधारहरु बोकेर आएको दल यही जनमुक्ति भएको हुँदा यस दलको दस्तावेज र यसको राजनीतिक विकास आफूलाई स्वीकार्य भएको हुँदा यस दलभित्र समाहित भएको हुँ । यो दलको विचार यस बेला सबै राजनीतिक दलहरुका लागि बहसको विषय बनेको छ । दल सानो भएतापनि विचार ठूलो भएको हुँदा म प्रवेश भएको हुँ ।
भारतीय राष्ट्रपति प्रणव मुखर्जी आउनु भयो यसमा तपाईको विचार ?
नरेन्द्र मोदी आउनुभयो, सदनमा भाषण गर्नुभयो, मीठा–मीठा कुराहरु राख्नुभयो पछि नाकाबन्दी उपहार दिएर जानुभयो । अब मुखर्जी आउनुभएको छ उहाँले के दिएर जाने हो शंकाको विषय बनेको छ । त्यसैले छिमेकी प्रमुखहरु आउनुभएको खुशी पनि छैनौं दुःखी पनि छैनौं ।