सादगी जीवन जीउने राष्ट्रसेवकहरु भ्रष्टाचारको जालोबाट टाढै छन्ः नगर शिक्षा प्रमुख रेग्मी « Yalambar Times
१८ आश्विन २०८१, शुक्रबार

सादगी जीवन जीउने राष्ट्रसेवकहरु भ्रष्टाचारको जालोबाट टाढै छन्ः नगर शिक्षा प्रमुख रेग्मी


यलम्वर टाइम्स
१९ असार २०८०, मंगलवार ०९:५२

अर्जुनधारा नगर शिक्षा शाखाका प्रमुख तोयानाथ रेग्मी पदले नेपाल सरकारको उपसचिव हुन् । निजामति क्षेत्रमा रहेर करिब ३७ वर्षभन्दा बढी सेवा गरिसकेका एक अनुभवि कुशल कर्मचारीको रुपमा गनिन्छन् । विगत ४ वर्षअघिबाट अर्जुनधारा क्षेत्रको शिक्षा शाखामा रही विद्यालय तथा विद्यार्थीहरुको स्तरोन्नतिका लागि योगदान पुर्याउँदै आएका छन् । तेह्रथुमको म्याङ्लुङमा जन्मिएका रेग्मी २०४३ साल असोज ३० गतेबाट निजामति सेवा प्रवेश गरेका हुन् । उनै शिक्षा प्रमुख रेग्मीसँग शिक्षाका विषयलाई लिएर यलम्वर टाइम्सले गरेको सम्वादः

सेवामा प्रवेश कुन तहबाट गर्नुभयो ?

२०४३ साल असोज ३० गतेबाट लेखा प्रशासनमा सहलेखापाल भई प्रवेश गरेको हुँ । त्यसपछि कृषि शिक्षा विज्ञान प्रविधि मन्त्रालय अन्तर्गत धेरै ठाउँमा काम गर्दै २०७४ चैत्र महिनाबाट शिवसताक्षी नगरपालिकाको शिक्षा प्रमुखको रुपमा काम गर्ने अवसर मिल्यो । त्यसअघि पाँचथर, सिराह जिल्लामा जिल्ला शिक्षा प्रमुख भई काम गरी हाल अर्जुनधाराको नगर शिक्षा शाखामा प्रमुख भई काम गर्दै आएको छु । म मात्र होइन, मेरी श्रीमती जानुका गुरागाई पनि २०५१ साल असार २३ गतेबाट निजामति सेवामै छिन् । उनले पनि यस नगरको शिक्षा शाखामा काम गरिसकेकी छिन् ।

लामो समय निजामति सेवा रहँदाको अनुभव ?

नेपाल सरकारको तलब लिएर बसिसकेपछि इमान्दार र कर्तव्य निष्ठ हुन जरुरी छ । त्यही इमान्दारीताले ३७ वर्ष टिकेको अनुभव सुनाउन पाउँदा गर्व लाग्छ । तर, हिजोआज कर्मचारीभित्र तीब्र अभिलाषा, महत्वकांक्षा बढ्दै गएको हुँदा कति साथीहरु आलोचित मात्र होइन, जागिरबाट बर्खास्त हुनपरेको यथार्थ छ । हामी यति सम्झौं नेपाली जनताको भावना र राष्ट्र उन्नतिका लागि आ–आफ्नो क्षेत्रमा सादगी जीवन चलाएर हिंड्ने हो भने नेपाल भ्रष्टहरुको सूचिमा पर्ने थिएन । यसरी दिनरात समाचारका पन्नाहरुमा भ्रष्टाचारीको नाम आउने थिएनन् ।

के भ्रष्टाचार आफैमा रोग हो ?

मानिस को कति मिलनसार छ भनेर मूल्याङ्कन गर्ने निकाय तथा समाज नभएको कारण समाज पूँजीवादीतर्फ धकेलियो । त्यसैले चिल्लो गाडी, सुकिलो लुगा र कतैबाट भए पनि दुइ पैसा खर्चिने व्यक्तिको पछाडी समाज कुदेको हुँदा भ्रष्टाचार मौलाएको मेरो अनुभव छ । हामीले कल्पना गरेको साम्यवादी समाज थियो । त्यसलाई नपत्याएपछि पूँजीवादमा रमाउने समाज भएको कारण भ्रष्टाचारले जरो गाढिदै गएको हो भन्ने मलाई लाग्छ ।

भ्रष्टाचार मुक्त समाज बनाउन के गर्नुपर्ला ?

सबै क्षेत्रमा नियमागमन गर्ने मान्छे भएनन् । यो संघ, प्रदेश हुँदै स्थानीय क्षेत्रमा समेत प्रभाव परेको छ । राजनीतिकले प्रशासनलाई गिजोल्न चाह्यो । प्रशासकहरु पनि गिजोलिन चाहे । त्यसबिचमा भ्रष्टाचारको खेल भयो । त्यसैबाट भ्रष्टाचारले प्रशय पाएपछि समाज भ्रष्टाचार मुक्त हुन सकेन ।

नातावाद र फरियावादको जड भ्रष्टाचारको रुप हो ?

मैले अघि नै भने, भ्रष्टाचारको बाटो नातावादबाट खनियो । फरियावाद त माथिल्लो तहमा भएको भ्रष्टाचारको गन्धबाटै थाहा पाइन्छ । कर्मचारी भएको नाताले यहाँभन्दा बढी राख्न उचित नहोला कि !

स्थानीय तहबाटै भ्रष्टाचारलाई निर्मूल पार्न केही नीति होला नि ?

राजनीति आफैमा पेशा होइन । तर, राजनीतिलाई आयआर्जनको बाटोमा कुदायो भने त्यहीबाट भ्रष्टाचार हुने हो । त्यसो हुँदा संघ वा प्रदेश र स्थानीय तहमा नीति बनाउँदा एकदमै दूर दृष्टि राखेर वाच डगको रुपमा लौजानु जरुरी छ । नीति बनाएका तत्वलाई कार्यान्वयन गर्न कर्मचारीको अहम् भूमिका हुन्छ, तबमात्र निर्मूलको बाटोमा समाज जानसक्छ ।

शिक्षा क्षेत्रमा पनि भ्रष्टाचारको गन्ध आउँछ नि ?

भ्रष्टाचारको जालोले सबैलाई छोएको छ । सादगी जीवन जीउने जो कोही राष्ट्रसेवक त्यो जालोबाट टाढै छन् । तर विद्यालय व्यवस्थापन र शिक्षक प्रमुख बीच आर्थिकमा केही काम, कर्तव्य भुलेकै कारण भ्रष्टाचार देखिएको हो । त्यो समाज र राष्ट्रका लागि ठूलो क्षति हुन जान्छ । त्यस्तै त्यस्तैहरुबाट भ्रष्टाचारको गन्ध आउन थालेको हो ।

शिक्षालाई मर्यादित बनाउन के गर्न सकिन्छ ?

पहिलो कुरो आफू कुन तहको कर्मचारी हो ? काम, कर्तव्य, अधिकार के हो ? मैले के कारणले तलब बुझें ? भन्ने कुरा आ–आफ्नो पेशामा आवद्ध कर्मचारीहरुले बुझ्न जरुरी छ । शिक्षाको हकमा यो आफैमा महासमुन्द्र हो, त्यस समुन्द्रबाट एक चम्ची पानी निकाल्न सक्ने ज्ञान हासिल गरेको छु । त्यो समुन्द्रको गहिराई मापन गर्न नसकिरहेको अवस्थामा छौं । त्यसैले प्राप्त ज्ञानलाई कर्तव्य पालना गर्दै लागेको खण्डमा शिक्षालाई मर्यादित बनाउन सकिन्छ । त्यसमा प्रधनाध्यापक मात्र होइन सिङ्गो शिक्षकहरुले नै बुझ्न जरुरी छ ।

शिक्षकहरुको अवस्था ?

शिक्षा शाखाबाट शिक्षकहरुको स्तरोन्नति साथै विद्यार्थी र शिक्षकको सम्बन्धका विषयमा भरपुर कार्यशाला प्रदान गरेका छौं । २८ वटा विद्यालयका शिक्षकहरुले कसरी अगाडि बढ्नुपर्छ भन्ने कुराको पूर्ण ज्ञान छ । त्यसलाई शिक्षकहरुले पालना गरे सामुदायिक विद्यालयको स्तरोन्नति चाँडै अगाडि आउने दुइमत रहन्न ।

विद्यालयको अवस्था ?

हाम्रो नगरमा ९ वटा मावि, ६ वटा आधारभूत, १३ वटा प्रावि, ५ वटा गुरुकुल र एउटा मदरासा रहेको छ । ती विद्यालयका केही कक्षाकोठा बाहेक भौतिक अवस्था राम्रै छ । विशेष गरी लक्ष्मी प्रावि, बालकल्याण प्रावि, भिमले र अर्जुनधारा प्राविको अवस्था दयनीय छ । त्यसको स्तरोन्नति गर्न सके मजबुद विद्यालय हुने थियो । नगरले पनि २ करोड सिलिङ प्रदान गरेको छ । डेढ करोड तलब भत्तामा जान्छ भने ५० लाख शिक्षकहरुको उन्नतिको विषयमा खर्च हुने देखिन्छ ।

विद्यालय र अभिभाव बीचको सम्बन्ध कस्तो रहनुपर्ला ?

यी सबै कुरा अभिभावकहरुलाई पूर्ण ज्ञान नै छ । विद्यालय व्यवस्थापनमा राजनीति नजोड्ने हो भने सामुदायिक विद्यालयको स्तरोन्नति ह्वात्तै बढेर जाने निश्चित छ । तर, शिक्षकहरु पनि राजनीतिकसँगै गाँसिएको हुँदा भने जस्तो प्रगति नआएको हो कि भन्ने लाग्छ ।

के शिक्षकहरु राजनीतिमा देखिनु राम्रो हो ?

प्रत्यक्ष राजनीतिमा देखिनु त्यति राम्रो होइन । म त भन्छु शिक्षकको पोशाक पहिरिएर विद्यालय प्रवेश गरेपछि राजनीतिक गफ र पक्ष विपक्षका कुराहरु छाडिदिनुपर्छ । विद्यार्थीहरुकै हित र उन्नतिका लागि शिक्षक रचनात्मक बन्नुपर्छ ।

विद्यालयको निजी सम्पति वा जमिनको विषयमा चासो कम देखिनुका कारण ?

वास्तवमा विद्यालयको सम्पत्ति भनेकै उसको स्वामित्वमा रहेको जग्गा जमिन हो । विद्यालयले अपेक्षित रुपमा उपभोग गर्न नसकेको कारण कतिपय जमिनहरु अर्काले अडपेको र सर्वसाधारण बसेर भोगचलन गरेका थुप्रै देखिन्छन् । त्यसलाई नीति र विधि बनाएर अगाडि बढेको खण्डमा विद्यालयको स्वामित्वमा आउन सक्छ । त्यसलाई चासोको रुपमा हेरिएन भने कुनै दिन सम्पत्तिको रुपमा रहेको जमिन विद्यालयका लागि नोक्सन हुन सक्छ ।

अन्त्यमा, स्थानीय पाठ्यक्रमको विषय के कस्तो हुँदैछ ?

यो विषयमा स्थानीय सरकारले पहिला पनि बजेट छुट्याएको हो । नगर प्रमुखले स्थानीय पाठ्यक्रमको लागि ध्यान पनि दिनुभएको छ । पहिलो सत्र स्थानीय पाठ्य पुस्तकका विषयमा अन्तरक्रिया, छलफल र परिणाम निकाल्ने क्रममा अगाडि बढ्यो । यो वर्ष १० लाख बजेट विनियोजन भएको छ । त्यसबाट स्थानीय पाठ्यक्रम बन्ने नै छ । विज्ञहरुसँग यसका विषयमा छलफल अगाडि बढेको जानकारी गराउँदछु ।