फालेलुङका स्थानीय बासिन्दा भन्छन् –‘५० किलोमिटर दूरी तय गर्दै भारतीयको बजारको भर पर्नुपर्छ’ « Yalambar Times
२ माघ २०८१, बुधबार

फालेलुङका स्थानीय बासिन्दा भन्छन् –‘५० किलोमिटर दूरी तय गर्दै भारतीयको बजारको भर पर्नुपर्छ’


यलम्वर टाइम्स
१ जेष्ठ २०७४, सोमबार ०६:१३

 

Bharatiya bazar

सन्देश सुब्बा

पाँचथर / फालेलुङ गाउँपालिका–६, तप्पेका टिकादेव राईलाई वर्षभरी पुग्ने खाद्यान्न र दैनिक उपभोग्य वस्तुको जोहो गर्ने चटारोले छोएको छ यतिबेला । जसको लागि करीब ५० किलोमिटर टाढाको भारतीय बजार मानेभञ्ज्याङ पुग्नुपर्छ । वर्षाको सिजनमा पहाडको कच्ची सडकमा सवारी साधन चल्दैनन् । त्यसैले मनसुन सुरु हुनु पूर्व नै सबै सामग्रीको जोहो गरिसक्नुपर्ने टिकादेवले बताए ।

टिकादेव मात्र होइन उत्तरपूर्वी पाँचथरको फालेलुङ गाउँपालिकाको माथिल्लो क्षेत्रका नागरिक वर्षौंदेखि भारतीय बजारको भरमा दैनिकि चलाउँन बाध्य छन् । सो क्षेत्रको तप्पे, डढेली, सुकेटार, भुसुने, मैदाने, कात्तिके, माँझखर्क र छेउखर्कका लगायतका नागरिक यसरी भारतीय बजारको भर पर्नुपरेको हो ।

सदरमुकाम फिदिमसँग हालसम्म पनि सहज यातायात सेवाको पहुँचमा जोडिन नसकेको सो क्षेत्रका स्थानीय भारतीय बजार नपुगे भोकै बस्नुपर्ने अवस्था आउँने उनीहरु बताउँछन् ।

सो क्षेत्रका स्थानीयले भारतीय बजार मानेभञ्ज्याङबाट तुम्लिङ, मेक्मा, जौबारी, कालापोखरी, बिखेदेखि नेपाल–भारत सिमावर्ती सन्दकपुर हुँदै खाद्यान्न लगायत सम्पूर्ण आवश्यक सामग्री नेपाल भित्र्याउँने गरेका छन् ।

‘मानेभञ्ज्याङबाट भारतीय पाँच हजार रुपैयाँमा ल्याण्डरोभर गाडी रिजर्भ गर्न सकिन्छ’ टिकादेवले भने । तर सदरमुकाम फिदिमबाट भने गाडी पु¥याउँनै कठिन हुने उनले बताए ।

यसरी भारतीय बजारबाट सामान ल्याउँदा न्यूनतम मूल्यको चामल प्रतिकिलो ५० रुपैंयाँ र नुन प्रतिकिलो २५ रुपैंयाँमा घर पु¥याउँन सकिने अर्का स्थानीय चन्द्रबीर राईले बताए ।

बर्षामा गाडी नचल्ने र सीमापारीबाट पटक–पटक सामान ल्याउँन झन्झटिलो हुने भएकाले हरेक वर्ष मनसुन सुरु हुनुपूर्व वर्षभरीलाई पुग्ने सामान ल्याउँने गरेको मचिन्द्रको भनाइ छ । ‘यो भेगका सबैले यसै गर्छन्’ उनले भने ।

जंगल बढी र अत्यन्तै पातलो वस्ती भएको सो क्षेत्रका स्थानीयको मूख्य आम्दानीको स्रोत पशुपालन र तरकारी खेती हो । गोठमा पालेका गाईको ओलनबाट छुर्पी बनाउँने उनीहरु आफूले उत्पादन गरेको वस्तुलाई पनि सीमापारी नै निर्यात गर्दै आएका छन् ।

यस क्षेत्रका किसानले उत्पादन गर्ने टमाटर र आलु पनि भारतीय बजारनै लैजानुपर्ने तप्पेका मचिन्द्र राईले बताए । उताका व्यापारीसँग वस्तु विनिमय समेत हुने उनको भनाइ छ ।

सुरुमा तल्लो क्षेत्रका विभिन्न वस्तीबाट गोठ बस्न माथिल्लो क्षेत्र जाने क्रममा ती गोठहरुले हाल आएर साना–साना वस्तीकै रुप लिएको पर्या–पर्यावरणको क्षेत्रमा सक्रिय संस्था दीपज्योति युवा क्लव सिदिनका जीवन राई बताउँछन् ।

जिल्ला सदरमुकाम र अन्य नेपाली बजारबाट समेत टाढाको दुरीमा रहेकाले सो क्षेत्रका स्थानीय पहिल्यैदेखि भारतीय बजारमा आश्रित हुनुपरेको उनले बताए ।