तीन योद्धाको मृत्युले नगर र गाउँका प्रमुखलाई छुन्छ कि छुदैन ? « Yalambar Times
२३ माघ २०८१, बुधबार

तीन योद्धाको मृत्युले नगर र गाउँका प्रमुखलाई छुन्छ कि छुदैन ?


यलम्वर टाइम्स
१४ जेष्ठ २०७४, आईतवार ०८:४७

स्थानीय निर्वाचनको माहोल चारैतिर मच्चिरहेको बेला गुल्मीका केही बस्तीमा तीन योद्धाहरुले भारतको कास्मीरमा ज्यान गुमाउन पुग्दा गुल्मी क्षेत्रका गाउँ शोकमा डुबेको छ । कतै भोटको चर्चा होला, कतै विजयी उम्मेद्वारको चर्चा होला । तर, गुल्मीको कुस्मा नगरपालिका, कालीगण्डकी गाउँपालिका र कास्कीको नागीधार गाउँपालिकाका रविन शर्मा, डम्बरबहादुर पुन र गिरिश गुरुङको गोली हानी हत्या भएपछि गाउँ शोक मग्न भएको छ । शर्मा, गुरुङ र पुन भारतीय सैनिकका बफादार सेना हुन् । उनीहरु गस्ती टोलीमा निस्कदा जम्बुकास्मीरमा विपक्षीहरुले चलाएको गोली लाग्दा मृत्यु भएको हो । ९ घण्टा एकोहोरो गोली चल्दा भाग्न नपाएपछि मृत्यु हुन बाहेक अर्को विकल्प थिएन ।

कुनै पनि युवाहरुले भारतीय फौजिमा गएर जागिर खानुपर्छ भन्ने मनस्थिति बनाएका हुँदैनन् । तर, आर्थिक विपन्नता, गाउँको परिवेश र राज्यले युवाहरुलाई स्वरोजगार बनाएर उभ्याउन नसक्दा नेपालका हजारौं युवाहरु भारतीय सेनामा गएर बफादारी देखाउनु परेको छ । पहिलाका पुस्ताभन्दा अहिलेका पुस्ता जम्बुकास्मीरको युद्धमा कम मरेका होलान् । तर, भारतीय सेनामा गई नुनको सोझोपन देखाउन खट्दा यसरी मृत्यु हुनु नेपालको लागि दुःखदायी क्षण हुन पुग्छ । यस अघि भारतीय फौजीमा नेपालका हजारौं युवाहरु नमरेका हैनन् । भारतको शिर उच्च पार्न गोर्खा रेजिमेन्ट, लेभनजीआर, पश्चिम पल्टन जस्ता नामबाट हजारौं नेपाली युवाहरु सेनाका रुपमा तैनाथ छन् ।

निर्वाचनको माहोल छ । ठूला राजनीतिक दलका घोषणापत्रमा युवाहरुलाई स्वरोजगारको व्यवस्था गरिने छ भनेर थुप्रै घोषणापत्रका पन्नाहरुमा कोरिएका छन् । यस अघि संविधानसभाको दुई–दुई वटा निर्वाचनमा पनि युवाहरुका विषयमा नलेखिएका होइनन् । पहिलो संविधानसभाको निर्वाचनभन्दा दोस्रो संविधानसभाको निर्वाचन पछि धेरै युवाहरु खाडी मुलुकमा पुग्नु परेको छ । भारतीय सेनाहरुले गाउँमा आई छाती नापी छानिछानी योग्य युवाहरुलाई भर्ती लगिएको छ । देश र गाउँको परिवेश अनुसार आफ्नामा मायालु बस्तीहरुलाई र लालाबाला बच्चाहरुलाई चटक्कै छाडेर हिंड्नु परेको छ । यी सबै राज्य व्यवस्थाको कमजोरीपनको उपज हो भन्दा फरक पर्दैन । आज स्थानीय निर्वाचनको माहोल भईरहेको बेला रविन शर्मा, डम्बरबहादुर पुन र गिरिश गुरुङको भारत र पाकिस्तानी बिचको भूमिमा सहादत प्राप्त गरिरहँदा नवनिर्वाचित मेयर तथा अध्यक्ष र आउने मेयर र अध्यक्षहरुको मन छुन्छ कि छुदैन । यो त लोकतन्त्रमा २० वर्षपछि भएको निर्वाचनपछिका राज्य प्रमुखहरुलाई प्रश्न तेर्सिएको छ, विचरणीय पनि छ । र भारतमा सहादत प्राप्त गरेका तीनै जान योद्धाहरु प्रति श्रद्धाञ्जली पनि छ ।