संघीयवादी पक्षधर राईहरु एक हुन आवश्यकः पारसमणि राई « Yalambar Times
३० बैशाख २०८२, मंगलवार

संघीयवादी पक्षधर राईहरु एक हुन आवश्यकः पारसमणि राई


यलम्वर टाइम्स
२३ श्रावण २०७४, सोमबार १०:०८

दमक / किरात राई यायोक्खाले आफ्नो ३० औं वर्षको अवसर पारी पहिचानवादी शक्तिलाई एक गर्दै इतिहासलाई बिउझाउने कार्यमा अझ सशक्त भएर लाग्नुपर्ने बताएका छन् ।

किरात राई यायोक्खा झापाद्वारा किरात भवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यायोक्खा केन्द्रीय उपाध्यक्ष पारसमणि राईले किरात राज्यको अवधारणालाई बिउझाउन संघीयवादी पक्षधर राईहरु एक हुनुपर्नेमा जोड दिए ।

उपाध्याक्ष राईले सबै जाति, वर्ग र सम्प्रदायको उन्नति हुने एकमात्र अवसर संघीय राज्यमा भएको हुँदा त्यो अवसर अब जुट्ने बताए । कार्यक्रममा विशेष अतिथि पूर्व केन्द्रीय कार्यवाहक अध्यक्ष जीतमान राईले संविधानभित्र किरातीहरुको विशिष्ट पहिचान हुने बताए ।

कार्यक्रममा केन्द्रीय सदस्य दिपेनवाला राई, सुम्निमा संघकी चिजा राई, किरात राई पत्रकार संघका केन्द्रीय सल्लाहकार दिपीन राई, जिल्ला सचिव केवलराम राई, जिल्ला सल्लाहकार कुमार राई, उत्तम राई, किरात याक्थुम चुम्लुङका भक्त खेवाङ, याक्खा छुम्माका मछिन्द्र याक्खा, सल्लाहकार सुमित्रा वाङ्देल, झापाका संस्थापक कोषाध्यक्ष वुद्धिबहादुर राई लगायतले किरात राई यायोक्खाको काम, कर्तव्य र अधिकार विषयमा प्रष्ट्याएका थिए ।

कार्यक्रममा खेलाडी हरिमाया राईलाई स्व. भरतबहादुर सोजे राई स्मृति खेलकुद पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा एसइइ उत्कृष्ठ राई विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।

इन्द्रमान चाम्लिङ राईको सभापतित्वमा भएको कार्यक्रममा स्वागत जिल्ला सदस्य गणेश राईले गरेका थिए भने सुप्तुलुङ खेम्बी चोक्मा रु. ७ हजार प्रदान गरेको भन्दै अर्जुनधारा नगरपालिकाका संस्कृतिक संयोजक क्या. शिवकुमार राईलाई सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन जिल्ला सदस्य जिल्ला सुसन राईले गरेका थिए ।