कालिस्थानको रेखा खोला र नारायण चोक फूलमतिमा कज्वे पुल निर्माण हुने « Yalambar Times
३ आश्विन २०८१, बिहीबार

कालिस्थानको रेखा खोला र नारायण चोक फूलमतिमा कज्वे पुल निर्माण हुने


यलम्वर टाइम्स
१ आश्विन २०७४, आईतवार ०५:१३

अर्जुनधारा ।

अर्जुनधारा नगरपालिकाको शुक्रबार बसेको बोर्ड बैठकले कालिस्थान जाने बाटोमा पर्ने रेखा खोला र नारायण चोकको फूलमति खोलामा दुई पक्की कज्वे पुल निर्माण गर्ने निर्णय भएको छ ।

जिल्ला प्राविधिक कार्यालयको साझेदारीमा ¥याप अन्तर्गत उक्त कज्वेलाई पक्की कज्वे पुलको रुपमा निर्माण गरेर लाने निर्णय भएको हो । दुवै पुल यस अघि डीपीआर भईसकेको हुँदा पुल निर्माण गर्न सजिल हुने बताइएको छ ।

जिल्ला प्राविधिक कार्यालयको ७० प्रतिशत र नगरपालिकाको ३० प्रतिशत रकमबाट उक्त पुल निर्माण गरिने बोर्ड बैठकमा निर्णय भएको मेयरका स्वकीय सचिव तिवेन्द्र अधिकारीले बताए । बोर्ड बैठक बस्नु अघि नेपाली कांग्रेसको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलसँग मेयर हरिकुमार रानाले नगरको विकासमा सबै दलको अपनत्व रहने गरी काम गरिने बताएका छन् ।

नगरप्रमुखको सभाकक्षमा नगर विकास सहयोग समितिको एक प्रतिनिधि मण्डलले छलफल गर्दै मेयर रानालाई विकासका हरेक कार्यमा सबै दललाई समेट्र लान आग्रह गर्दा मेयर रानाले नियम र कानूनले दिए बमोजिम समेटेर लाने बताए । छलफलमा सहयोग समितिको संयोजक हेमराज खरेल, सदस्य भुपेन्द्र न्यौपाने, दिलीप राई, लभकुश गिरी, देवकला प्रसाई र श्रीजलाल चौधरी लगायतको सहभागिता रहेको थियो ।

प्रमुख रानाले यस अघि पनि राजनीतिक दलहरुसँग छलफल गरी स्थानीय स्तरमा उम्मेद्वार उठ्दा छरेको घोषणापत्र अनुसार विकासको काम गरेर जाने बताउँदै घोषणापत्र आफूलाई दिन नगरका दलहरुलाई आग्रह गरेका थिए । यसरी नै शुक्रबार राजश्व परामर्श समितिको एक छलफलले नगरपालिकाभित्रको राजश्वको स्रोत पहिचान गर्ने, त्यसलाई परिचालन गरी व्यवस्थापन गर्ने विषयमा बृहत छलफल भएको थियो ।

परामर्श समितिका संयोजक उपमेयर कमला आचार्य, सदस्य कार्यकारी अधिकृत राधाकृष्ण खतिवडा, वाणिज्यका प्रतिनिधि चतुर्भुज काफ्ले, सकुन्तला बराल, खिनमान दर्जी र लेखा अधिकृत मदनकुमार पौडेल बीच बृहत छलफल गरी नगरपालिकाको स्वामित्व रहेका घरटहराको भाडा र एकीकृत सम्पत्ती करका विषयमा छलफल गरिएको थियो ।

अर्जुनधारा नगरपालिका अन्तर्गत काम गर्न शिक्षामा जानुका गुरागाईं, कृषिमा शालिग्राम भट्टराई, स्वास्थ्यमा मुकुन्द बस्नेत, महिला विकासमा जीवनकला राउत र श्रम परियोजनामा लीला अधिकारी प्रमुख भएर काम गर्ने भएका छन् । भने कतिले नगरपालिकामा आएर आफ्नो कार्यभार सम्हालि सकेका छन् ।