बिर्तामोडमा तनाव कसले गरायो ? « Yalambar Times
३ आश्विन २०८१, बिहीबार

बिर्तामोडमा तनाव कसले गरायो ?


यलम्वर टाइम्स
११ कार्तिक २०७४, शनिबार ०६:०८

अर्जुनधारा । विजया दशमीका दिन हत्या गरी पोखरीमा फ्यालिएका ११ वर्षीय लक्ष्मण शिवाकोटीको चित्त बुझ्दो अनुसन्धान अझै नभएको भन्दै आन्दोलनमा उत्रेका प्रदर्शनकारीहरु माथि प्रहरीले अन्धाधुन्धा आक्रमण गर्दा एक युवाको मृत्यु हुनुका साथै ३ दर्जनभन्दा बढी घाइते हुनु पुगेका छन् भने प्रदर्शनकारीको ढुंगा प्रहारबाट एसपी रमेश सुवेदी लगायत केही प्रहरी घाइते भएका छन् ।

मृत्यु हुनेमा झापा अर्जुनधारा–५ का नरेश थापा रहेको जनाएका छन् । भने गोली लागि मरणासन्न हुन पुगेका इलाम माई नगरपालिका–१ का मणि नेपालीलाई थप उपचारका लागि घोपा लगिएको छ । यो समाचार तयार पारिञ्जेल प्रहरीले भने अझै पुष्टि गर्न सकेको छैन । स्रोतका अनुसार ती दुवै युवा काम विशेषले हिडिरहेको अवस्थामा आधुनिक हत्यारबाट चलाइएको गोली छाती र फिलामा लाग्दा सडकमै लडेको थिए । अश्रुग्यास र गोली वर्षेपछि ती घाइतेहरुलाई उठाउने अवस्था थिएन । अत्याधिक रक्तश्राव भएको कारण उनीहरुको ज्यान गएको प्रत्यक्षदर्शीहरुले बताए ।

शनिश्चरे क्षेत्रबाट शान्तिपूर्ण रुपमा अगाडि बढेको र्यालीलाई प्रहरीले स्कर्टिङ गर्दै मुक्ति चोकसम्म ल्याएका थिए । र्यालीले मुक्ति चोक प्रवेश गर्न आँट्दा कमाण्डमा खटिएका प्रहरी प्रमुखले आन्दोलनकारीलाई रोकिन अनुरोध गर्दा गर्दै भिडले प्रहरी फोर्सलाई ठेल्दै घुम्साघुम्सी हुन पुगेको थियो । निकै घुम्साघुम्सी पछि प्रदर्शनकारीहरुलाई प्रहरीले लाठ्ठी चार्ज गर्नुका साथै प्रदर्शनकारीबाट पनि ढुंगामुडा प्रहार हुन पुग्यो । त्यसपछि र्यालीलाई प्रहरीले कडा दमन गर्दै अश्रुग्याससँगसँगै दर्जनौं राउण्ड गोली चलाएको एक प्रदर्शनकारीले बताए ।

शान्तिपूर्ण रुपमा आयोजना गरिएको र्यालीमा प्रहरीले ठाडो दमन गरेका थिए । बालकको हत्या भएको २६ दिन बितेपछि आएको पोष्टमार्टम रिपोर्टमा बालक आफै मृत्यु भएको कुरा प्रहरीले सार्वजनिक गरेपछि २७ औं दिन पछि शुक्रबार उचित छानबिनका लागि दबाव स्वरुप शान्तिपूर्ण आन्दोलनमा उत्रिएका थिए ।

शान्तिपूर्ण आन्दोलनमा उत्रेका सर्वसाधारणमाथि प्रहरीले लाठी तथा अश्रुग्यास प्रहार गर्न थालेपछि सर्वसाधारणले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । त्यसपछि प्रहरीले गोली प्रहार गर्न सुरु गरेको हो । तर, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी विष्णुकुमार केसीले भीडलाई तितरवितर गर्न अश्रुग्यास मात्र प्रहार गरेको बताए ।

गोली प्रहार तथा अश्रुग्यास लागेर कति जना घाइते भए भन्ने यकिन हुन सकेको छैन । प्रहरीले गल्ली गल्ली पसेर सर्वसाधारणलाई कुटपिट गर्नुका साथै अपशब्द बोलेका छन् । काम गर्न हिडेका तथा पसलमा आएका सर्वसाधारणलाई निलडाम हुने गरी कुटपिट समेत गरेका छन् । बिर्तामोड यो समाचार तयार परिञ्जेल दिउँसोको १ः३० बजेबाट अर्को सूचना नआइञ्जेलसम्म कफ्र्यु जारी गरिएको छ ।

दशैंको टीकाको दिन बेपत्ता भएका अर्जुनधारा–११ का ११ वर्षीय लक्ष्मण शिवाकोटीको शव त्यसको भोलिपल्ट अर्जुनधारा–५ को वैशावाडी नजिक एक पानीको खाडलमा शंकास्पद अवस्थामा फेला परेको थियो । उनको टाउकोको कञ्चट र अण्डकोषमा गहिरो चोट थियो । बालक हत्याको विषयलाई लिएर बिर्तामोड–५ का सुरेश पोखरेल लगायतले हत्या गरेको भन्दै मृतकका काका बिष्णुप्रसाद शिवाकोटीेले पोखरेल परिवारका आठ जना विरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका थिए । प्रहरीले हत्यारालाई कार्वाहीको दायरामा नल्याएको भन्दै मृतक शिवाकोटीका आफन्त तथा स्थानीयवासीले शुक्रबार प्रदर्शन गर्दै बिर्तामोड बन्दको घोषणा गरेका थिए ।

प्रदर्शनकारीहरुलाई दमन गरेपछि उर्लेको भिडले उचित छानबिनको माग गर्दै बिर्तामोड नगरपालिकाका नगर प्रमुख धु्रवकुमार शिवाकोटी माथि आक्रोशित भएका थिए । आक्रोश नगर प्रमुखको निजी गाडी बा. १० च. ३०६१ र नगरपालिकाको गाडी मे. १ झ. १२१ र मे. ७ प. ३००० नम्वरको बुलेट बाईकलाई पूर्ण रुपमा ध्वास्त पारिदिएका छन् भने पूर्व सांसद प्रेमबहादुर गिरी र जेएण्डजे कन्स्ट्रक्सनका प्रोपाइटर रमेश थापाको गाडीमा समेत क्षति पुर्याइदिएका छन् ।

आवेगमा आएको हुलदुङ्गाले केही सञ्चारकर्मीहरु समेत रिपोर्टिङ गर्दा मारमा परेको पत्रकार नरेन्द्र ढकालले बताए । बढेको घटनालाई लिएर राजनीतिक दलहरु पनि मौन बसेको भन्दै पीडित तथा प्रदर्शनकारीहरुले चित्त दुखाएको एक प्रदर्शनकारीले नाम नछाप्ने र्शतमा बताए ।