बालक हत्या काण्डबारे अर्जुनधारा नगरपालिकाको ताजा विज्ञप्ति « Yalambar Times
३ आश्विन २०८१, बिहीबार

बालक हत्या काण्डबारे अर्जुनधारा नगरपालिकाको ताजा विज्ञप्ति


यलम्वर टाइम्स
१३ कार्तिक २०७४, सोमबार ०९:२२

अर्जुनधारा । अर्जुनधारा नगरपालिका वडा नं. ११ निवासी आमा अञ्जना र बुबा बद्रीप्रसाद शिवाकोटीको ११ वर्षिय सुपुत्र हिमाली एजुकेशन फाउण्डेशन (अर्जुनधारा–६) कक्षा ४ मा अध्ययनरत लक्ष्मण शिवाकोटीको १४ गते भएको मृत्युको विषयलाई लिएर गरिएको शान्तिपूर्ण प्रदर्शनको क्रममा भएको अप्रिय घटनाप्रति यस नगरपालिका दुःख व्यक्त गर्दछौं ।

न्यायीक छानबिनको माग गर्दै शान्तिपूर्ण प्रदर्शन भईरहेको बेला कुनै जानकारी बिना अश्रु ग्यास र गोली चल्नु मानव जीवनको लागि दुर्भाग्य हो । त्यसैमा अर्जुनधारा ११ निवासी रमेश थापा मगरको ज्यान जान समेत पुग्यो । प्रदर्शनकारी र प्रहरीबीचको असामन्य मुठभेड धेरै घाइते हुनका साथै केही व्यक्तिहरुलाई गोली समेत लाग्न पुग्यो । यो घटनाले हामीलाई अत्यन्तै मर्माहत र स्तब्ध बनाएको छ । मृत्यक बालक लक्ष्मण शिवाकोटीको मृत्युको बारेमा गम्भीर रुपमा छानबिन गरी दोषीलाई कानूनको दायरामा ल्याउन यस नगरपालिका जोडदार माग गर्दछ ।

लोकतान्त्रिक मुलुकमा न्यायोचित छानविनको माग गर्दै प्रदर्शनमा उत्रिएका नेपाली जनताको मौलिक अधिकार हुँदाहुँदै स्थानीय प्रशासनबाट अश्रुग्यास र गोली चलाउने अवस्था सिर्जना गरिनु स्थानीय प्रहरीको ठूलो कमजोरी भएको हो भन्ने हाम्रो बुझाई छ ।

त्यस घटनापछि सरकारी उच्चस्तरबाट छानविन समिति गठन भई त्यस समितिले छानविन कार्य आरम्भ गरिएको हुँदा मृतक बालकको परिवारले न्याय पाउनुपर्छ भन्ने हाम्रो माग छ । प्रहरीको गोली लागेर मृत्युवरण गरेका थापाको परिवारलाई राहत स्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउनु पर्ने, घाइतेहरुको उपचार यथाशिघ्र हुनुपर्ने, तोडफोड भएकोमा उचित क्षतिपूर्ती गराइने जस्ता विषयमा सहमति भएको अवस्थामा त्यस सहमतिलाई कार्यान्वयन गरेर जानु नै उचित र समाधानको विकल्प हुनेछ । तसर्थ यस नगरपालिका सम्पूर्ण नागरिकमा धैर्यता र संयमता अपनाउन हार्दिक अपिल गर्दछौं । साथै गोली लागि मृत्युवरण गरेका नरेश थापाको श्रीमतीलाई जीविकोपार्जनको लागि अर्जुनधारा नगरपालिकाले नियमानुसार रोजगारको उचित स्थान दिने समेत जानकारी गराउँछौं । स्व. नरेश थापा मगरप्रति भावपूर्ण श्रद्धाञ्जली गर्दै घाइतेहरुको यथाशिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।

नगर प्रमुखः हरिकुमार राना                                             उपप्रमुखः कमला आचार्य खतिवडा