महारानीगञ्ज माविमा ४२ लाखको सुविधा सम्पन्न भवन « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

महारानीगञ्ज माविमा ४२ लाखको सुविधा सम्पन्न भवन


यलम्वर टाइम्स
१८ मंसिर २०७४, सोमबार ०७:५५

अर्जुनधारा । जापानी संस्थाको सहयोगमा बनेको महारानीगञ्ज माध्यमिक विद्यालयको सुविधा सम्पन्न ४ कोठे आकियो स्मृति सदनको आज सोमबार उद्घाटन गरिएको छ ।

जापान टिम अफ योङ ह्युमन पावर (जेएचपी) को आर्थिक सहयोग र घनश्याम प्रतिष्ठानको समन्वयमा ४२ लाखको लागतमा बनेको भवनको उद्घाटन जापानी नागरिक कोतारो इनोउए र येशिरो इनोउएले संयुक्त रुपमा गरेको थिए ।

उनीहरुले जेएचपी र घनश्याम प्रतिष्ठानसँग समन्वय गरी आफ्नो स्वर्गीय भाई आकियो इनोउएको स्मृतिमा उक्त भवन बनाईदिएका हुन् । आफ्नो भाई आकियो एसियाका अधिकांश देश घुमेको र नेपालमा पनि बसेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कोतारो र योशिरोले यहाँका जनता समक्ष केही गर्ने इच्छा हुँदाहुँदै ११ वर्ष अघि भाई आकियोको स्वर्गारोहण भएको स्मरण गर्दै अब उक्त जिम्मेवारी आफ्नो भएको बताउँदै विद्यालयहरुमा सहयोग प्रदान गरेको बताए ।उनीहरुले आकियोको स्मृतिमा नेपालमा ४ वटा र कम्बोडियामा ६ वटा भवन बनाइसकेको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोहितमान ढकालको सभापतित्वमा भएको कार्यक्रममा घनश्याम स्मृति प्रतिष्ठानका उपाध्यक्ष डा. द्रोण पौडेल, जेएचपीका याशिओका केन्जी, चिवा याशहिको, सुजुकी नवहकी, कोडाक्स किमिओ, इटोलाइको, फुकुदा टाकासि, शिक्षा शाखा अर्जुनधाराकी प्रमुख जानुका गुराँगाईं, घनश्याम स्मृति प्रतिष्ठानका सचिव अरुण भट्टराई, जेएचपीका कोअर्डिनेटर डा राजिव खनाल, फिल्ड कोअर्डिनेटर भरमणि पोखरेल, सदस्य तारानाथ खनाल, धारणा रिजाल, विद्यालय पूर्व अध्यक्ष बलिराज इङ्नाम, पीटीए अध्यक्ष प्रेमराज इङ्नाम, जग्गादाता डिल्ली नेपाल, मधु नेपाल लगायतको आतिथ्य रहेको थियो ।

विद्यालयका प्रधानाध्यापक मानबहादुर लिम्बूले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक लीलाधर चम्लगाईंले गरेका थिए । कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मानपत्र प्रदान गरिएको थियो ।