०६४ जस्तो नहोस् विजयी बाम गठबन्धनलाई « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

०६४ जस्तो नहोस् विजयी बाम गठबन्धनलाई


यलम्वर टाइम्स
१ पुष २०७४, शनिबार ०२:५८

भर्खरै सम्पन्न हुन लागेको निर्वाचनको प्रत्यक्ष र समानुपातिकको नतिजा हेर्ने हो भने मुलुकमा बाम गठबन्धनको उपस्थिति निकै बलियो भएर आएको छ । दुई तिहाई बहुमतको नजरमा नउभिएतापनि बाम गठबन्धन बहुमत पार गरेको छ । जनताले आशा र भरोसा लिएको बाम गठबन्धन अबको ५ वर्षको लागि नहलिने स्थिर सरकारको रुपमा उभिएर आम नेपाली जनताको मन जित्न सक्ने भएको छ । पछिल्लो समानुपातिकको मत परिणाम पनि बाम गठबन्धनको लागि बलियो आधार बनेर आइरहेको छ । त्यसैले पनि मुलुक बनाउने जिम्मा बाम गठबन्धनकै हो भनी विश्वास लिन सकिन्छ ।

लोकतान्त्रिक आन्दोलनपछि ०६४ सालमा भएको निर्वाचनमा नेकपा माओवादी बहुमत ल्याउन सफल भएको थियो । १२ वर्षे जनयुद्धको बलले ०६४ सालको निर्वाचनको परिणाम मओवादीमा थुप्रिन पुग्यो । सदनमा आएपछि माओवादीले जनताको लागि निकै ठूलो उथलपुथल ल्याउछ भन्ने नेपाली जनताले आश गरेका थिए । तर त्यो १२ वर्षे जनयुद्धले बोकेको आवाज संसदमा बहुमत प्राप्त गरेपछि पुरा हुन नसक्दा जनता निराश हुनु बाहेक अर्को विकल्प थिएन । त्यसैले ०६४ पछाडिको ०७९ को निर्वाचनले माओवादीलाई नेपाली जनताले तेस्रो स्थानमा पुर्याई दिन पुगे । आखेरी यस्तो किन हुन पुग्यो त ?

यस्ता प्रश्नै प्रश्न नेपाली राजनीतिज्ञहरुलाई तेर्सिरहेको बेला अब बहुमतको नजरमा पुग्न सफल बाम गठबन्धनलाई पनि हुनेछ । बाम गठबन्धनले रेल कुदाउँनेदेखि लिएर कृषि क्रान्ति हुँदै आर्थिक समृद्धिको आशा देखाएको छ । वृद्धलाई आउने सालसम्ममा ५ हजार दिने घोषणापत्रमा उल्लेख गरेर ल्यायो । प्रत्येक सडकमा सडक बत्ति, पक्की रोड नभएको ठाउँमा कालोपत्रे, बेरोजगारलाई रोजगार जस्ता नारा लिएर अगाडि आयो । त्यसैको आशालाई टेकेर जनताले बाम गठबन्धनलाई मत प्रदान गरे ।

आज बाम गठबन्धन बहुमतमा पुग्न सफल छ । अब नेपाली जनतालाई मत माग्दा गरिएको वाचा पूरा हुन सकेन भने ०६४ पछाडिको परिणाम बाम गठबन्धनभित्र रहेका दललाई नआउला भन्न सकिन्न । पूर्ण नतिजा नआइसक्दा नै तँ अध्यक्ष हुने, तँ प्रधानमन्त्रि हुने, को कति मुख्यमन्त्रि हुने भन्ने होडबाजी चल्न शुरु गर्यो भने बहुमत प्राप्त गरेको दल ०६४ मा माओवादीले सरकार चलाउँदा पाएको दुःख जस्तो नहोला भन्न सकिन्न । त्यसैले सत्ता र पद होडबाजीलाई तिलाञ्जली दिँदै बाम गठबन्धन मुलुक बनाउने तर्फ लागे त्यहाँबाबट उनको आउने दिन राम्रो भएर जाने देखिन्छ ।