लेट्स रन नेपालद्वारा मिनी म्याराथुन प्रतियोगिता « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

लेट्स रन नेपालद्वारा मिनी म्याराथुन प्रतियोगिता


यलम्वर टाइम्स
२३ पुष २०७४, आईतवार ०५:१७

अर्जुनधारा । समाज परिवर्तनको लागि युवाहरु अब हिड्ने होइन दौडनु पर्ने समय आएको भन्ने सन्देशका साथ लेट्स रन नेपाल, बिर्तामोडले शनिबार मिनी म्याराथुन प्रतियोगिता सम्पन्न गरेको छ ।

बिर्तामोडको मुक्तिचोकमा झापा जिल्लाका ट्राफिक प्रमुख राजेश राईले रिविन काटेर शुरु गरिएको उक्त प्रतियोगिता शनिश्चरेको देवकोटा चोकमा समापन गरिएको थियो । मिनी म्याराथुन प्रतियोगितामा प्रमुख अतिथि प्रदेश सभासद बृख प्रधानले युवाहरु दुव्र्यवसनीमा फस्दै गएको बेला उनीहरुलाई त्यस्ता कार्यबाट निकाल्न र फस्न नदिनको लागि यस्ता खाले कार्यहरु हुन आवश्यक रहेको बताउँदै धन्यवाद प्रदान गरेका थिए ।

लेट्स रन नेपालका अध्यक्ष इमेश पाठकको सभापतित्वमा भएको कार्यक्रममा प्रथम हुन सफल उमेश कन्दङ्वालाई नगद रु. १० हजारसहित मेडल र प्रमाणपत्र प्रमुख अतिथि प्रधानले हस्तान्तरण गरेका थिए । त्यसरी नै द्वितीय हर्कबहादुर ल्वागुन र तृतीय मेघराज राईलाई कार्यक्रमका अतिथि तथा जिल्ला खेलकुद विकास परिषदका अध्यक्ष प्रशान्त भण्डारी र संस्थाकी उपाध्यक्ष सोनी अग्रवालले क्रमशः नगद ५ हजार र ३ हजार सहित मेडल र प्रमाण पत्र प्रदान गरेका थिए भने महिला तर्फ प्रथम हुने इन्द्रकला चेम्वाङलाई अध्यक्ष पाठकले नगद ३ हजार सहित मेडल प्रमाणपत्र प्रदान गरेका थिए ।

ज्येष्ठ नागरिक मिलन समाजका उपाध्यक्ष नरेन्द्र भण्डारी, पत्रकार दिपीन राई, शनिश्चरे चौकीका ट्राफिक प्रमुख जनक खड्का लगायतको आतिथ्य रहेको कार्यक्रमको स्वागत सचिव पवन शिवाकोटीले गरेका थिए भने सञ्चालन कमला नेम्वाङले गरेकी थिइन् ।

बिर्तामोडदेखि शनिश्चरेसम्मको ५ किलोमिटरको मिनी म्याराथुन प्रतियोगितामा १५० जनाको सहभागिता रहेको र टप ५० जनालाई प्रमाणपत्र प्रदान गरिएको संस्थाका सल्लाहकार सुमन ढकालले जानकारी दिए ।