पाँचथर । पाँचथरको फिदिममा किराँत इतिहासकार इनमासिंह चेम्जोङको ११५ औं जन्मजयन्ती मनाइएको छ ।
याक्थुङ मुन चइत चोक सयङ् पाँचथरले कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा जिल्लास्थित भाषा, साहित्य र इतिहासको क्षेत्रमा क्रियाशील व्यक्तित्वहरुले इमानसिंको तस्वीरमा माल्यार्पण गरी श्रद्धा व्यक्त गरेका थिए । उनको सम्मानमा एक मिनट मौन धारण समेत गरिएको थियो ।
कार्यक्रममा इमानसिंह चेम्जोङको व्यक्तित्वमाथि प्रकाश पार्दै लिम्बू भाषा विकास संस्था (लिल्डा) का अध्यक्ष दीलेन्द्र कुरुम्बाङले इमानसिंद्वारा लिखित पुस्तकहरुकै कारण किराँत इतिहास र भाषा–साहित्यको प्रचार र विकास यो अवस्थासम्म आएको बताए ।
किराँत इतिहासकार तथा किराँत सिरिजंगा लिपि र भाषा–साहित्यका प्रचारक इमानसिंको जन्म बाबु मेघवरसिं र आमा दावापुहाङमाको छैठौं सन्तानको रुपमा १ जनवरी सन् १९०४ मा दार्जिलिङको कालेम्पुङमा भएको थियो ।
कालेम्पुङकै स्थानीय स्कुलबाट म्याट्रिकुलेशन र सेन्टजेभियर कलेज कोलकत्ताबाट आईए उतीर्ण गरेका इमानसिंले दार्जिलिङ, सिक्किम र नेपालमा रहेर किरात इतिहासको खोज सँगै भाषा(साहित्यको प्रचार गरेका थिए । उनकै पहलमा वि.सं.२००८ मा लिम्बुवान सुधार संघ समेत गठन भएको थियो ।
सन् १९६६ देखि १९७५ सम्म त्रिभुवन विश्व विद्यालयमा किरात इतिहास विशेषज्ञको रुपमा जागिरे भएर काम गरेका इमानसिंका ‘तुम याक्थुङ निङ्वाभु साप्ला’, ‘किरात मुन्धुम (बेद)’, ‘किरात मुन्धुम’, ‘किरात साहित्यको इतिहास’, ‘किरात दन्त्यकथा’, ‘हिस्टूी एण्ड कल्चर अफ् किरात पिपुल’ र ‘किरातकालीन बिजयपुरको इतिहास’ जस्ता महत्वपूर्ण कृतिहरु प्रकाशित छन् ।
हाल इमानसिं द्धारा लिखित पुस्तकहरुको सर्बाधिकार उनका परिवारले लिम्बू जातिको प्रतिनिधिमुलक संस्था किरात याक्थुङ चुम्लुललाई दिएको छ । प्राज्ञ अमर तुम्याहाङका अनुसार इमानसिं वि.सं.२०२७ मा पुस्तकाकार रुपमा किरात ब्याकरण प्रकाशन गर्ने पहिलो किराती ब्याकरणकार समेत हुन् ।
किरात इतिहासको खोज, अनुसन्धान र भाषा, लीपि र साहित्यको प्रचार र बिकासमा गरेको योगदानको सम्मान गर्दै नेपाल सरकारले वि.सं.२०५५ मा इमानसिंको तस्बिर हुलाक टिकटमा समेत प्रकाशित गरेको छ । त्यस्तै कक्षा–१० को अनिबार्य नेपाली बिषयको किताबमा समेत इमानसिंको जीवनि प्रकाशित छ ।
यसै गरी सिक्किम सरकारको लगानीमा पश्चिम गेजिङमा इमानसिं मेमोरियल भवन निर्माणधिन छ भने चुम्लुङहीम ललीतपुर, धनकुटाको भेडेटार र पाँचथरको घुर्बिसे पञ्चमीमा इमानसिंको शालिक निर्माण गरिएको छ । किरात याक्थुङ चुम्लुङले कोष खडा गरी हरेक दुई–दुई बर्षमा २५ हजार रासीको ‘इमानसिं चेम्जोङ पुरस्कार’ समेत वितरण गर्दै आएको छ ।