बिमस्टेकका सबै भीभीआईपी काठमाडौं आईपुगे « Yalambar Times
२५ आश्विन २०८१, शुक्रबार

बिमस्टेकका सबै भीभीआईपी काठमाडौं आईपुगे


यलम्वर टाइम्स
१४ भाद्र २०७५, बिहीबार ०६:२२

काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन सदस्य राष्ट्रका सबै  भीभीआईपी पाहुना काठमाडौं आइपुगेका छन् ।

बिहिबार बिहानमात्रै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशी प्रधानमन्त्री शेख हसिना  र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चा आज काठमाडौँ आइपुगेका छन् ।

तीनै देशका सरकार प्रमुखलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरेका थिए। यस्तै नेपाली सेनाको एक टोलीले सम्मान गारतका साथ स्वागत पनि गरेको थियो ।

बुधबार नै श्रीलङ्काली राष्ट्रपति  मैत्रीपाला सिरिसेना  र भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङचुक काठमाडौं आइपुगेका थिए भने  म्यान्मारका राष्ट्रपति विन मिन्त मंगलबार काठमाडौं आएर लुम्बिनीको समेत भ्रमण  गरिसकेका छन् । 

बिम्स्टेकको चौथो शिखर सम्मेलन आज अपराह्न एक विशेष समारोहका बीच राजधानीमा सुरु हुँदैछ। 

प्रधानमन्त्री एवं बिम्स्टेकका अध्यक्ष केपी शर्मा ओलीले सम्मेलन उद्घाटन गर्ने कार्यक्रम छ । 

शिखर बैठकको प्रारम्भसँगै अध्यक्ष ओलीपछि सदस्य देशका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखले वर्णानुक्रमअनुसार सम्बोधन गर्नेछन् । 

काठमाडौँ घोषणापत्र जारी गर्दै शुक्रबार अपराह्न शिखर सम्मेलन समापन हुनेछ । सम्मेलन समाप्तिसँगै बिम्स्टेकको अध्यक्षता श्रीलङ्काले गर्ने छ । रातोपाटीबाट