
[राजन साम्पाङ]
अर्जुनधारा । झापा अर्जुनधारा–८ हात्तीकिल्ला र बुद्धशान्ति–२ स्थित भुसिया कुकुरले आक्रमण गरेर ४० भन्दा बढी खसी, बाख्रा र बोका मारिदिएको छ ।
६–७ वटाका बथानमा आउने ती भुसिया कुकुरले गोठमै आएर आक्रमण गर्ने अनि मारेर भाग्ने गरेको स्थानीय मायाँ गिरीले जानकारी दिइन् ।
करिब १५–१६ दिन अघिबाट भुसिया कुकुर आतंक भएको र दुई हप्तायता बुद्धशान्ति–२ र अर्जुनधारा–८ हात्तीकिल्लामा मात्र ४० भन्दा बढी खशी, बाख्रा र बोका मारिदिएका छन् ।
स्थानीयले खेदाउँदा केही रवर बगानमा लुक्ने, केही बिरिङ खोला तिर भाग्ने दाउ पारीपारी पगा लगाएका बाख्रा तथा गाईभैसीँहरुमा समेत आक्रमण गरी घाइते बनाएको स्थानीय कालीबहादुर लिम्बूले बताए ।
नानीहरुको फी तिर्न र दशैं खर्च टार्न भनी पालिएका खशी यसरी भुसिया कुकुरले मारिदिँदा व्यवहारमा असजिलो भएको बताउँदै भुसिया कुकुर नियन्त्रण गर्न पीडित पक्षहरुले आईतबार अर्जुनधारा नगरपालिका वडा नं. ८ का वडाध्यक्ष गोपीचन्द्र गौतमलाई ज्ञापनपत्र दिएका छन् ।
पीडित लक्ष्मी गौतमका अनुसार व्याउन लागेको बाख्रामात्र होइन, विष्णु गिरीको १० हजार मूल्य बराबरको २ वटा खसी चरणकै अवस्थामा मारिदिएको हुँदा कि त भुसिया कुकुर नियन्त्रण गरिदिनु पर्यो कि त क्षतिपूर्ति दिनुपर्यो भनी वडाध्यक्ष गौतमलाई ध्यानाकर्षण गराएका थिए ।
एक हप्ता यतामात्र देवीप्रसाद आचार्यको माउ बाख्रा, कालीबहादुर लिम्बूको १५ केजीको बोका, माया गिरीको ३० केजीको दुई वटा बोका, अम्बिका गिरीको १२ केजीको बोका, खम्बासिंह पौड्यालको ४० केजी बराबरको दुई वटा खसी, लक्ष्मी गौतमको व्याउन लागेको बाख्रा, विष्ण गिरीको १० हजार मूल्य बराबरको २ वटा खसी, कृष्णप्रसाद खनालको १८ केजीको खसी, मनकुमार राईको एक बाख्रा, लक्ष्मी पुरीको ३ वटा खसी, रामप्रसाद भारतीको २ खसी, मोहन आचार्यको १५ हजार मूल्य बराबरको खसी बाख्रा, हरिमाया दंगालको माउ बाख्रा र सुरेश श्रेष्ठको २० केजीको खसी मारिदिएको हो ।
यसरी नै बुद्धशान्ति–२ स्थित २० जनाभन्दा बढी किसानहरुका खसी बाख्रा मारिदिएको छ । स्थानीय भिम श्रेष्ठका अनुसार एक महिना यताबाट भुसिया कुकुर निस्किएर गाउँलाई आतंकित बनाउँदै घरपालुवा जनावरहरु मारिदिएको बताए ।
अर्जुनधारा–८ हात्तीकिल्लाका स्थानीय अम्बिका फुयाँलका अनुसार एक्लै हिंड्दा ति भुसिया कुकुरले मानिसलाई समेत आक्रमण गर्ने समूहमा हिंड्दा भाग्ने गरेको हुँदा साँच्चैको डरमर्दो स्थिति बनाएकोले स्थानीय सरकारको ध्यानाकर्षण गराउन सञ्चार माध्यममार्फत अनुरोध गरे ।