मेयर सा’प ! लगानी गर्नोस्, निगरानी स्विकार्छौं « Yalambar Times
८ मंसिर २०८१, शनिबार

मेयर सा’प ! लगानी गर्नोस्, निगरानी स्विकार्छौं


यलम्वर टाइम्स
२३ भाद्र २०७५, शनिबार ०२:४०

[पुण्य सुवेदी]

आज अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा ३९ औं राष्ट्रिय शिक्षा दिवस । अन्तर्राष्ट्रिय साक्षरता दिवसको रुपमा विश्वभर र राष्ट्रिय शिक्षा दिवस समेत आजकै दिनलाई मानेर नेपालमा विभिन्न समारोह र कार्यक्रमहरुको आयोजना गरी यो दिवस मनाइदैछ । नेपाल सरकारले ३९ औं राष्टिूय शिक्षा दिवसको आदर्श वाक्य “समाजवाद उन्मुख समृद्ध राष्ट्र निर्माणको आधार, दक्ष जनशक्ति विकास एवम् दिगो शैक्षिक पूर्वाधार” तय गरेको छ । शिक्षालाई विभेदरहित, सर्वसुलभ, रोजगारमुलक तुल्याउने, देश विकासका लागि आवश्यक दक्ष जनशक्ति स्वदेशमै उत्पादन गर्ने एवम् शैक्षिक पूर्वाधारहरुको दिगो र योजनाबद्ध विकास गर्ने अभिप्राय यो आदर्श वाक्यले बोकेको छ ।

शिक्षालाई अवसर, रोजगारी र उत्पादनसँग जोड्न सकिएन भने हामी साक्षरहरुलाई शिक्षित भनिरहनुपर्ने अवस्थाबाट माथि उठ्न सक्दैनौं । हाम्रो शिक्षा प्रणालीले जति बढी शिक्षित उति नै बढी सीपयुक्त र परिश्रमी नागरिक तयार गर्न सकेको छैन । शिक्षालाई देशभक्तिसँग गाँस्न नसक्दा बौद्धिक पलायनको बहाव बढ्दो नै छ । जति धेरै पढ्यो, देशलाई उति धेरै माया गर्ने नागरिक हामी तयार गर्न सकिरहेका छैनौं । शिक्षित अनि स्वदेशमै अवसर पाएकाहरुमा पनि भ्रष्टाचार, दूराचार, पाखण्डको प्रचुरता देखिन्छ । शैक्षिक प्रमाणपत्र थपिदै जाँदा सदाचार पनि थपिदै जाने ट्रेन्डको हामीले विकास गरिरहेका छैनौं । पास हुनका लागि पढ्ने तर पास गरेपछि कुनै अवसरको ढोका नखुल्ने, दशौं वर्ष मेहनत गरेर पढ्ने, विषय छनौट गरी गरी पढ्ने तर पढाइपछिको गन्तव्यको बारेमा केही थाहा नहुने हाम्रो शिक्षा प्रणालीको कमजोरी हो । केही जान्नका लागि, केही गर्नका लागि, केही बन्नका लागि पढ्नु नपर्ने भएपछि विद्यार्थीले पढाइमा खासै धेरै ध्यान दिन पनि परेन, पास कसरी हुने भन्नेमा मात्रै ध्यान दिए भयो । शिक्षकले पनि कसरी धेरै भन्दा धेरै विद्यार्थीलाई परीक्षामा पास गराउने भन्नेमा मात्रै आफ्नो सफलताको सूचक देख्ने नै भए । मैले पढाएको विद्यार्थी भविष्यमा के गर्छ, के बन्छ हैन, उसले परीक्षामा कुन ग्रेड वा कति अंक ल्याउँछ भन्ने विषय मात्रै विद्यालय र शिक्षकको चासोको विषय हुने नै भयो । सीप, दक्षता, आचरण होइन, लब्धांक पत्र नै सबैथोक । विद्यार्थीको लब्धांक पत्रले शिक्षक, विद्यार्थी र विद्यालय समेतको मूल्यांकन गर्ने भयो । साक्षरोत्तर शिक्षालाई सीप, रोजगारी, व्यवसाय, उत्पादनसँग गाँस्न सके मात्र हामीले र संविधानले परिकल्पना गरेको समाजवादतर्फ हामी उन्मुख हुन सक्छौं ।

रोजगारीको लागि, आयआर्जनका लागि, आफ्नो र आफ्नो परिवारको सुखका लागि, असल र उच्च नैतिक आचरणका लागि शिक्षा हुन्थ्यो भने शिक्षाको महत्व निकै बढेर जाने थियो । शिक्षामा व्यक्ति, परिवार, समुदाय र राज्यले गरेको लगानी पनि प्रतिफलमा अनुदित हुने थियो । सबैले योग्यता अनुुसारको काम अनि काम अनुसारको दाम पाउने समाजवादको लागि रोजगारी र उत्पादनसँग जोडिएकै हुनुपर्छ । विज्ञान प्रयोशाला नै नदेखी विज्ञान विषयमा ए प्लस ल्याउने, पाठ्यपुस्तक र गेसपेपर बाहेक भाषा र साहित्य सम्बन्धी अर्को किताबै नहेरी नेपालीमा ए ग्रेड ल्याउने, सामाजिक व्यवहार सिक्दै नसिकी सामाजिक अध्ययन विषयमा अब्बल देखिने विद्यार्थीहरु खोरमा थुनेर दानापानी मात्र खान दिइएका बोइलर कुखुरा जस्ता हुन्, जो थोकमा निर्यात गर्न मात्र काम लाग्छन् ।

शिक्षामा वर्गीय विभेद र पहुँचको प्रश्न समाजवादलाई गिज्याउने अर्को पेचिलो प्रश्न बनेको छ । खासगरी पचासको दशकदेखि यता सम्पन्न र विपन्न वर्गका नानीहरुका लागि दुईखाले विद्यालयको अभ्यास हुनथाल्यो । आर्थिक रुपले सम्पन्न र सचेत अभिभावकका नानीहरुका लागि संस्थागत विद्यालय अनि विपन्न र कम सचेत अभिभावकका नानीहरुका लागि सामुदायिक विद्यालय । यसले बालबालिकाहरु बीचको सामाजिक अन्तरघुलनलाई कमजोर तुल्यायो । शिक्षा सेवा नभएर नाफामुलक व्यवसाय बन्यो । निःशुल्क शिक्षाले आफ्ना छोराछोरीहरुका लागि लगानी गर्न नसक्ने अभिभावकहरुको हितनाबोधलाई बढायो । सुविधा र पूर्वाधार सम्पन्न निजी विद्यालयको छेउमा सुविधाहिन सामुदायिक विद्यालयमा अध्यापन गर्ने शिक्षकहरुको मनोबल गिर्न थाल्यो । निजी स्कुल बसले उडाएको धुलो र उछिट्याएको हिलोले जीउ र कपडा दिनदिनै मैलो बनाउदै स्कुल र घर गर्ने सामुदायिक विद्यालयका नानीहरु पनि हिनताबोधका शिकार हुने नै भए । सामुदायिक विद्यालयको व्यवस्थापन समितिमा व्यक्तिगत र राजनीतिक प्रतिष्ठाको लागि प्रतिष्पर्धा गर्ने बाहेक विद्यालयमा सचेत समुदायको हस्तक्षेप र सहभागिता समेत ह्वात्तै घटेर गयो । गरिब, विपन्न र अशिक्षित अभिभावकहरु नानीहरुको छात्रवृत्ति थाप्न बाहेक विद्यालय जानै छाडे । यसले सामुदायिक विद्यालयका शिक्षकहरुलाई समेत अल्छि बनाउन थाल्यो । विद्यालयमा राजनीतिक खिचातानी बाहेक समुदायको शुण्य हस्तक्षेप, शिक्षकलाई राजनीतिक संरक्षणको अनिवार्यता, नियमनकारी निकायहरुको उदासिनता भएपछि त विद्यालयहरुको ओरालो यात्रामा प्रवेग बढ्ने नै भयो ।

अझै पनि विद्यालय नजाने बालबालिकाहरु पनि छन् । विद्यालय भर्ना भएर बीचमै पढाइ छाड्नेहरुको संख्या पनि निकै छ । प्राविधिक शिक्षामा गरिब र विपन्न वर्गको पहुँच स्थापित हुन सकेकै छैन । थुप्रै अभिभावक विहीन र कमजोर आर्थिक अवस्थाको परिवारबाट आएका नानीहरु सिकाइका लागि न्युनतम वातावरण, सामग्री, सुविधा र नियमितताको अभावमा निर्दिष्ट सिकाइ उपलब्धीहरुबाट बञ्चित छन् । बाल श्रमलाई उन्मुलन गर्न सकिएको छैन । समाज र अभिभावकको सही मार्गनिर्देशन र निगरानी नपाउँदा बालबालिकाहरु कुलतमा फँस्ने, आपराधिक गतिविधिमा संलग्न हुने क्रम समेत बढ्दो छ । अभिभावकविहीन र सही अभिभावकत्व पाउन नसकेका नानीहरुको अभिभावक बन्ने दायित्व राज्यको हो कि होइन ? होइन भने शिक्षा नागरिकको मौलिक हक बन्न सक्दैन । शिक्षा मौलिक हक नबन्नु संविधानको उल्लंघन हुनु हो । संघीय नेपालका तीनै तहका सरकारहरु यस्ता नानीहरुको अभिभावक बन्न सक्नुपर्छ ।
शिक्षा दिवसको सन्दर्भमा हिजो शुक्रबार अर्जुनधारा नगरपालिकाले एक भव्य समारोहको आयोजना ग¥यो । समारोहमा उत्कृष्ट शिक्षक, कर्मचारी, शिक्षा पत्रकारसँगै विद्यार्थीहरु पनि पुरष्कृत भए । नगरपालिकामा सामुदायिक विद्यालय भन्दा बढी संख्यामा निजी विद्यालयहरु छन् । तर कक्षा आठको नगरस्तरीय परीक्षामा सामुदायिक विद्यालयका विद्यार्थी निजी विद्यालयका विद्यार्थीहरुलाई उछिन्दै नगरमा उत्कृष्ट बने । कक्षा दशको राष्ट्रिय परीक्षा बोर्डले लिएको परीक्षामा समेत प्रतिस्पर्धामा सामुदायिक विद्यालयका छात्र अगाडि देखिए । सामुदायिक विद्यालयका विद्यार्थी संस्थागत विद्यालयकोभन्दा उत्कृष्ट बन्नु पछिल्लो दशककै पहिलो घटना हुनसक्छ । यसले अर्जुनधारामा सामुदायिक विद्यालयहरु पनि प्रतिस्पर्धी बन्दै गएको प्रमाणित गरेको छ । जहाँ सचेत अभिभावकहरुलाई सामुदायिक विद्यालयमा आकर्षित गर्न सकिएको छ त्यहाँ उत्कृष्टता हासिल गरेका छन् । सचेत अभिभावकहरु तब आकर्षित हुन्छन् जब सामुदायिक विद्यालयले तिनको विश्वास जित्न सक्छ । विश्वास जित्नका लागि विद्यालयको कुशल प्रशासनिक नेतृत्व, मिसन सहितको लगनशिल शिक्षकहरुको टिम, भौतिक पूर्वाधारहरुको पर्याप्तता अनिवार्य छ । यसका लागि विद्यालयहरुमा नगरपालिकाले लगानी सहितको निगरानी बढाउनै पर्छ ।
सामुदायिक विद्यालयका केही विद्यार्थीहरुले उत्कृष्ट नतिजा निकाल्न सफल भए पनि समग्र नतिजाको तुलना गर्ने हो भने अझै सामुदायिक विद्यालयहरु निजी विद्यालयसँग प्रतिस्पर्धी बन्न सकिरहेका छैनन् । तर सामुदायिक विद्यालयमा पढाइ नै हुँदैन, शिक्षकहरु पढाउँदैनन् भन्ने आरोप खण्डित भएको छ । अब शिक्षकहरु ठाडो शीर गरेर समुदायतर्फ, स्थानीय सरकारतर्फ फर्केर भन्न सक्नुपर्छ, तिमी कुशल अभिभावक बन म असल शिक्षक बन्न तयार छु । वडाध्यक्षज्यू ! तपाईंको वडाका नानीहरु स्कुल छोडेर सुपारी कोट्याउन जान्छन्, बगर र ट्रयाक्टरमा मजदुरी गर्छन्, हटियामा पसल फिँजाउन अभिभावकलाई सघाउन जान्छन्, घरमै भाइबहिनीहरु हेरेर बाआमालाई काममा पठाउँछन्, अर्काको घरमा भाँडा माझ्ने कामले घरमा पढ्न र समयमा स्कुल आइपुग्नै भ्याउँदैनन् । तिनीहरुसँग लेख्नलाई पुग्दो गरी कापी नै छैन, सफा र सुकिलो कपडै छैन । वडाध्यक्षज्यू ! तपाईंका मतदाताका मसिना छोराछोरीहरु कक्षा कोठामा बस्ने भूईंमा कार्पेट र न्यानो ओछ्यौना छैन, गर्मीमा पंखा छैन, खेल्न, रमाउन पर्याप्त खेल सामग्री छैन, सुत्नलाई बेड छैन, प्राथमिक उपचारको प्रबन्ध छैन । नजिकै राम्रो शौचालय छैन, हेरविचार गर्ने आया छैन । तर पनि शिक्षकहरु मेहनत गरिरहेका छन् । के तपाईं अभिभावक शिक्षाको लागि वडाको थोरै बजेट छुट्याइदिन सक्नुहुन्छ ? के तपाईं हाम्रा कक्षाकोठाहरुलाई बालमैत्री र सुविधा सम्पन्न तुल्याउन यस वर्ष बाल कक्षाबाट शुरुवात गर्न सक्नुहुन्छ ? व्यवस्थापन समितिको बैठकमा बाहेक पनि कहिलेकाहीं स्कुल आएर हाम्रा समस्या सुनिदिन र हामीलाई निगरानी गरिदिन, सुझावहरु दिन सक्नुहुन्छ ? के तपाईं अत्यन्तै दिनहीनहरुको अभिभावक बन्न सक्नुहुन्छ ? के तपाईं विद्यार्थी भर्ना अभियानमा हाम्रो अगुवाइ गरिदिन सक्नुहुन्छ ? शिक्षण सिकाइको जिम्मा हामी लिन्छौं, अभिभावकले सामुदायिक विद्यालयको पूर्वाधार बारे सोधेका प्रश्नहरुको उत्तर तपाईंले दिन सक्नुहुन्छ ? आहा ! तपाईं कति सफल वडाध्यक्ष बन्नुहुने थियो, अनि तपाईंको योगदानले हामी पनि सफल शिक्षक बन्ने थियौं ।

यदि शिक्षकहरु जाँगरिला छौं, हामी कामचोर छैनांै, आफ्नो विद्यालयको स्तर छेउको निजी विद्यालयकोभन्दा माथि उकास्ने मिसनबाट हामी मौजुदा अवस्थाको अधिकतम उपयोग गरिरहेका छौं भने अब हिनता पाल्न जरुरी छैन । हामी अब्बल बन्न र अब्बल बनाउन सक्षम छौं । विद्यालय शिक्षा स्थानीय सरकारको मातहत आएको छ । हामी आफूमा कमजोरी छ भने मेयर सा’पलाई भेट्दा हाम्रो शीर झुकेको हुन्छ । राम्रो विद्यालय, राम्रा शिक्षक, राम्रा विद्यार्थीको मिसनमा क्रियाशिल शिक्षकले अब भन्नुपर्छ, मेयर सा’प ! लगानी गर्नोस्, निगरानी स्विकार्छौं । तपाईंको हौसला, प्रोत्साहन, उत्प्रेरणा, सहयोगको खाँचो छ, अर्को शिक्षा दिवसमा हामी अझै ठूलो गौरव बोकेर आउँछौं । निराशा होइन, उत्साहको सञ्चार गराउने हैसियत र क्षमता तपाईंसँग छ, अर्को शिक्षा दिवसमा हामी अझै फराकिलो छाती लिएर आउछौं ।

सामुदायिक विद्यालय र निजी विद्यालयबीचको खाडल गहिरिंदै जाने, विपन्न परिवारका नानीहरुको जिम्मेवारी कसैले नलिने हो भने सामुदायिक विद्यालय भित्रै दुई खाले शिक्षाको स्थिति आउन सक्ने खतरा छ । गरिब र धनी परिवारका विद्यार्थीहरुका लागि अलग कक्षाकोठाको व्यवस्था गर्ने, बटुलबाटुल पारिएका केही सचेत अभिभावकका छोराछोरीको नतिजाले विद्यालयको इज्जत ढाक्ने अवस्था आयो भने लक्षित वर्ग र समुदाय झनै बढी पछि पर्ने हुनसक्छ । ढिलाइ नगरी शिक्षामा समान पहुँचको ग्यारेन्टी गर्न सबै जुटौं । बालबालिकाहरुमा वर्गीय खाडल होइन सामाजिक अन्तरघुलनको अवस्थालाई नयाँ उचाइमा फेरि स्थापित गरौं । सामुदायिक विद्यालयहरुलाई सुविधा र पूर्वाधारसम्पन्न बनाउन सबै लागौं । शिक्षक र शिक्षण पेशाको सम्मान र मर्यादालाई उच्च राख्न पहिले त शिक्षक आफैं सचेत बनौं, अनि सबैले शिक्षकका समस्या र संवेदनशिलतालाई महसुुस गरौं । शिक्षक र विद्यालय कर्मचारीहरुको पेशागत सुरक्षा र वृत्ति विकासमा कायम तमाम अन्यौलहरुलाई एकमुष्ट समाधान गरौं । सिकाउने वातावरण नपाएको शिक्षकलाई मद्दत गरौं, नसिकाउने शिक्षकलाई दण्डित गरौं । गाली र दोषको भलिबलमा उफ्रेर झप्पा हान्ने प्रतिष्पर्धाबाट सबैलाई माथि उठ्न यो शिक्षा दिवसले प्रेरणा प्रदान गर्न सकोस् । शिक्षा दिवसको अवसरमा सबैमा शुभकामना ।

(लेखक नेपाल शिक्षक महासंघ, अर्जुनधाराका अध्यक्ष हुन्)

पुण्य सुवेदी