मिलडाँडामा दुर्गा पूजाको भव्य तयारी « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

मिलडाँडामा दुर्गा पूजाको भव्य तयारी


यलम्वर टाइम्स
६ आश्विन २०७५, शनिबार ०४:५५

अर्जुनधारा । नव युवा क्लब अर्जुनधारा–४ र ७ ले सदा वर्षझैं यस वर्ष पनि एकता चौक मिलडाँडामा विजयादशमीको अवसर पारेर नवदुर्गा पूजा भव्य रुपमा गर्ने भएको छ ।

क्लबले खरिद गरेको १ कठ्ठा १२ धुर जग्गामा सामुदायिक भवन निर्माण गर्ने उद्देश्यका साथ सामूहिक दुर्गा पूजाको आयोजना गर्न लागिएको हो ।

असोज २४ गते घटस्थापनाको दिन सामूहिक रुपमा जमरा राख्दै सुरु हुने नवदुर्गा पूजाका लागि तयारी कार्य धमाधम भइरहेको जनाएको छ ।

दुर्गा पूजालाई सभ्य र भव्य बनाउनका लागि स्थानीय समाजसेवी तुलसी श्रेष्ठको संयोजकत्वमा १५ सदस्यीय दुर्गा पूजा आयोजक समिति र विभिन्न उपसमिति समेत गठन गरिएको छ ।

नवदुर्गा पूजालाई मर्यादित बनाउन स्थानीयवासीहरु जागरुका साथ जुटेका छन् । सदाझैं यस वर्ष अझ राम्रो र सबैको कल्याण र सुखमाय होस् भनी पूजाको आयोजना गर्न लागिएको बताइएको छ ।

स्थानीय पदमलाल दाहालको संयोजकत्वमा मण्डप व्यवस्थापन समिति, गंगाराम शाहको संयोजकत्वमा टेण्ड तथा साउन्ड व्यवस्थापन समिति, दुर्गाप्रसाद भट्टराईको संयोजकत्वमा अतिथि स्वागत तथा सत्कार समिति, तुलसी श्रेष्ठको संयोजकत्वमा सुरक्षा व्यवस्थापन समिति, प्रकाशचन्द्र भट्टराईको संयोजकत्वमा आर्थिक तथा गल्ला व्यवस्थापन समिति, पार्वता भट्टराईको संयोजकत्वमा भजन किर्तन मण्डली व्यवस्थापन समिति गठन भएको छ ।

यसरी नै पुष्पराज भण्डारीको संयोजकत्वमा सल्लाह सुझाव तथा अनुगमन समिति, कोपिला भण्डारीको संयोजकत्वमा प्रचारप्रसार समिति, राजेन्द्र शाहको संयोजकत्वमा सामान खरिद तथा व्यवस्थापन समिति, अनिता थापा मगरको संयोजकत्वमा पूजा आराधना व्यवस्थापन समिति, गंगा गौतमको संयोजकत्वमा प्राविधिक समिति, पुष्प दाहालको संयोजकत्वमा स्वयम्सेवक समिति, भोला परियारको संयोजकत्वमा भजन नृत्य व्यवस्थापन समिति र टिका थापाको संयोजकत्वमा महाप्रसाद वितरण तथा व्यवस्थापन समिति गठन गरिएको देवेन्द्र मैनालीले जानकारी दिए ।

नौ दिनसम्म चल्ने दुर्गा पूजामा पं. जगदिश पौडेलको मुखारावृन्दबाट चण्डीपाठ हुने छ भने सप्तमीका दिन फुलपाती भित्र्याउने, महाअष्टमीका दिन ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्ने र बेलुका भजन किर्तनसँगै सांस्कृतिक प्रतियोगिता गर्ने कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ ।

दुर्गा पूजा सम्पन्न गर्न अनुमानित १ लाख २५ हजार खर्च लाग्ने र अनुमानित आम्दानी ३ लाख ५० हजार रहेको समितिका संयोजक तुलसी श्रेष्ठले बताए ।

क्लबका अध्यक्ष हिरामान शाहको अध्यक्षतामा बसेको बैंठकले उक्त समिति निर्माण गरिएको थियो ।