बालबालिकाको क्षमतामा बालशिक्षकहरुको भूमिका महत्वपूर्ण : प्रशासकीय प्रमुख खतिवडा « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

बालबालिकाको क्षमतामा बालशिक्षकहरुको भूमिका महत्वपूर्ण : प्रशासकीय प्रमुख खतिवडा


यलम्वर टाइम्स
९ आश्विन २०७५, मंगलवार १०:५९

अर्जुनधारा । अर्जुनधारा नगरका प्रशासकीय प्रमुख राधाकृष्ण खतिवडाले मन्टेश्वरी सिकाई पद्धति कार्याशालाबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्दै दक्ष नागरिक निर्माणमा टेवा पुर्याउन तालिमका सहभागि शिक्षकहरुलाई अनुरोध गरे ।

मंगलबार तालिम समापनका दिन सहभागिलाई सहभागिताको प्रमाणपत्र प्रदान गर्दै प्रमुख अतिथि समेत रहेका खतिवडाले मन्टेश्वरी शिक्षामा अध्ययनरत् बालबालिका भोलिका कर्णधार र राष्ट्र निर्माण गर्ने योग्य नागरिक भएको हुँदा बालबालिकाको क्षमता निर्माणमा बालशिक्षकहरुको ठूलो हात हुने बताए ।

उनले घर आँगनपछि पहिलो खुड्किलो बालशिक्षा हो, त्यसबाट नै प्राप्त ज्ञानलाई टेकेर योग्य नागरिक बन्छन् । त्यसमा बालशिक्षकहरुको ठूलो हात हुने बताए ।

राष्ट्र सञ्चालन विधि प्रक्रियामा स्थानीय तह अझै हरेक कुराबाट अगाडि बढी नसकेको अवस्था छ । त्यसैले सबै शिक्षकहरुलाई सम्मानजनक नीति बनेर जाने दिन आउने बताउँदै निडर र उत्साहित रुपमा काम गर्न अधिकृत खतिवडाले आग्रह गरे ।

बालशिक्षाका नगर संयोजक चन्द्रा तामाङको सभापतित्वमा भएको कार्यक्रममा प्याव्सन अर्जुनधाराका अध्यक्ष रुद्रप्रसाद सिटौला, शिक्षक महासंघका अध्यक्ष पुण्य सुवेदी आदिले बाल शिक्षक विद्यालयको मेरुदण्ड भएको बताउँदै १० दिनको सिकाईलाई व्यवहारमा उतारेर नमूना विद्यालय निर्माणमा अगाडि बढ्नुपर्ने शिक्षकहरुलाई सुझाव दिएका थिए ।

नगरपालिका क्षेत्रका ५० भन्दा बढी बालशिक्षकहरुले प्रशिक्षणमा सहभागि भएर तयार गरिएका सीप र बालबालिकालाई अध्ययनमा रुचि जगाउने खेलौना निर्माण गरि प्रदर्शन समेत गरिएको थियो ।

१० दिनसम्म चलेको तालिममा यस अघि सामाजिक विकास मन्त्री जीवन घिमिरे, नगर प्रमुख हरिकुमार राना, वडा नं. १० का अध्यक्ष बलदेव गोम्देन, ८ का अध्यक्ष गोपीकृष्ण गौतम, स्थानीय सञ्चारकर्मी र नगर क्षेत्रका प्रअहरुले अवलोकन गरेका थिए ।

शिक्षा प्रमुख जानुका गुरागाईंले सञ्चालन गरेको समापन कार्यक्रममा सतासी नगरका विद्यालय निरीक्षक योगनिधि भट्टराई, प्याव्सनका सचिव राजेश आचार्य, प्रगति बोर्डिङ स्कुलका प्रिन्सिपल मातृका निरौला लगायतको आतिथ्य रहेको थियो ।

समापन कार्यक्रममा नगर क्षेत्रबाट उत्कृष्ट अंक ल्याउने प्रगति बोर्डिङ स्कुलकी दिपीका राउत, उत्कृष्ट अंक ल्याउन सफल विद्यालय प्रगति बोर्डिङका मातृका निरौलालाई नगर प्रशासकीय प्रमुख राधाकृष्ण खतिवडाको बाहुलीबाट नगद रु. ५ हजार र सम्मानपत्र प्रदान गरिएको थियो ।

सोही समयमै उत्कृष्ट अंक ल्याउने लक्ष्मी माविका अंकितकुमार गुप्तालाई सम्मान गरिएको थियो ।