खुदुनाबारीमा प्रहरी चौकी आवश्यक « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

खुदुनाबारीमा प्रहरी चौकी आवश्यक


यलम्वर टाइम्स
१० आश्विन २०७५, बुधबार १०:३४

अर्जुनधारामा शान्ति, सुरक्षाको विषयमा छलफल

अर्जुनधारा । राजनीतिक दलका प्रतिनिधि तथा यस क्षेत्रका अगुवा बुद्धिजीविहरुले खुदुनाबारीमा प्रहरी चौकी स्थापना गर्नुपर्नेमा जोड दिएका छन् ।

नजिकिदै गरेको चाडपर्वमा शान्ति सुरक्षा कायम गराउने उद्देश्यले आयोजित कार्यक्रममा खुदुनाबारीमा रहेको सशस्त्र वेस क्याम्प उठ्न लागेकोभन्दै उनीहरुले प्रहरी चौकी स्थापना गर्नुपर्नेमा जोड दिएका हुन् ।

अर्जुनधारा नगरपालिकाको सभाकक्षमा शान्ति सुरक्षाको विषयमा आयोजित अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा विभिन्न संघसंस्थाका अगुवाहरुले आ–आफ्नो धारणा समेत राखेका थिए ।

नगर प्रमुख हरिकुमार रानाले समृद्ध र शान्त नगर निर्माणमा प्रबन्धनात्मक कार्यहरु गरिने बताए । प्रमुख रानाले अगाडि भने, ‘भौतिक पूर्वाधारमा जोड दिँदै आएका छौं, पछिल्लो दिनमा प्रबन्धनात्मक काम गर्दै आएका छौं ।’

प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडाले खुदुनाबारीमा प्रहरी चौकी आवश्यक भएको नगरले महशुस गरेको बताउँदै जनपथ, सशस्त्र प्रहरी निकायलाई सहयोग गर्ने निर्णय नगर कार्यपालिकाबाट हुने बताए ।

वडा–६ का अध्यक्ष लोकनाथ गौतमले चाडपर्वमा सडक बत्ती र घर घरमा बती बाल्दा सम्भावित घटना कम हुने धारणा राखेँ ।

उद्योग वाणिज्य संघका सचिव चर्तुभुज काफ्लले चाडपर्वमा जनप्रतिनिधि र संघसंस्था बीच बजार क्षेत्रको अनुगमन गरिनुपर्ने सुझाव राखेँ ।

वडा–१० का अध्यक्ष बलदेव गोम्देनले प्रहरीलाई सहयोग गरी सुशासन कायम गर्न सबैले आ–आफ्नो ठाँउबाट सहयोग गरिनुपर्नेमा जोड दिए ।

वडा–३ का अध्यक्ष जीवनकुमार भण्डारीले खुदुनाबारीमा बेस क्याम्प उठ्दा अप्रिय घटना बढ्ने डर भएकाले प्रहरी चौकी स्थापनामा जोड दिए ।

वडा–११ का अध्यक्ष भैरव खड्काले शान्ति सुरक्षा कायम गर्न वडा–वडामा अन्तरक्रिया आवश्यक रहेको धारणा राखेँ ।

अर्जुनधारा प्रेस क्लबका सचिव प्रेम आचार्यले अर्जुनधारा नगरपालिकाले शान्ति सुरक्षा, सुशासनमा अल्पकालिन र दीर्घकालिन नीति अबलम्बन गरिनु पर्ने सुझाव राखे ।

जुकेखाडी सामुदायिक वनका अध्यक्ष दिव्यप्रसाद कट्टेलले जंगल आसपास र अति संवदेनशील स्थानमा प्रहरीले आफ्नो थप भूमिका बढाउनु पर्ने बताए ।

नेकपा नगर अध्यक्ष दिलिप लम्सालले विगतमा शान्ति सुरक्षाको विषयमा व्यापक छलफल हुने भए पनि कार्यान्वयन नभएकाले नयाँ ढंगले प्रक्रिया र अनुशासनभित्र रहि काम गर्नुपर्ने बताए ।

कार्यक्रममा अधिकांश वक्ताहरुले सीसी टि.भीलाई सक्रिय राख्नुपर्ने, मदिराजन्य बिक्री वितरणमा रोक लगाउनुपर्ने, जुवा तास, डाइस लगायतका खेल बन्द गराउनुपर्ने, बाटाघाटामा गाईवस्तु बाधिने गर्दा आवतजावतमा समस्या हुने भएकाले यस्ता काम रोकिनु पर्ने लगायतका विषयमा जोड दिएका थिए ।

नगर प्रमुख रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अर्जुनधारा जेसीजका अजयकुुमार देव, दहिझोडा सामुदायिक वनका अध्यक्ष खड्क तामाङ, प्रहरी चौकी शनिश्चरेका सई राजन खड्का, सशस्त्र प्रहरी बल कप्तनावाडीका प्रमुख प्रदिपसिंह कार्की, बोर्ड सदस्य दिलमाया दास, हरिमाया भण्डारी लगायतले बोलेका थिए ।