मगर समुदायले टुंडिखेलमा दुई दिन ‘माघे सकराती’ मनाउने « Yalambar Times
२४ मंसिर २०८१, सोमबार

मगर समुदायले टुंडिखेलमा दुई दिन ‘माघे सकराती’ मनाउने


यलम्वर टाइम्स
२६ पुष २०७५, बिहीबार १०:०९

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने

काठमाडौं । मगर समुदायको प्रमुख राष्ट्रिय सांस्कृतिक चाड ‘माघे सकराती’ यसवर्ष मगर समुदायले भव्य रुपमा मनाउने भएका छन् ।

नेपाल मगर संघ केन्द्रीय समितिले आज बिहिवार पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो प्रमुख पर्वका अवसरमा पुस ३० गते र माघ १ गतेका दिन दुई दिन टुंडिखेलमा माघे सकराती भव्य रुपमा मनाउने तयारी भइरहेको जानकारी दिएको छ ।

माघे सकराती मगर समुदायको नयाँ वर्षको शुरुवात पनि हो । यसै सन्दर्भमा “माघेसकराती राष्ट्रिय चाड मनाउदै अघी बर्ढौ । मगरात परिचान र अधिकार प्राप्तिका लागि लडौं” भन्ने मूल नारा सहित नेपाल मगर संघ केन्द्रीय समितिको मुख्य आयोजना, नेपाल मगर संघ प्रदेश नः३ समितिको मुख्य व्यवस्थापन र काठमाडौं उपत्यकामा क्रियाशिल संघ सस्थाहरु (भातृसस्थाहरु, जिल्ला समन्वय समितिहरु र आबद्ध सस्थाहरु)को सहआयोजनामा यहि मिति २०७५ पौष ३० गते र माघ १ गते काठमाडौको टुडिखेलमा माघेसकराती चाड मनाउने पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

उक्त कार्यक्रममा शुभकामना आदान प्रदान तथा मौलिक साँस्कृतिक प्रदर्शनी कार्यक्रमको समुद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुने बताइएको छ । कार्यक्रममा मगरहरुको मौलिक साँस्कृतिक प्रर्दशनी, मौलिक मगर खाना तथा पोशाकहरुको प्रर्दशनी गरिने बताइएको छ । माघ १ गते मौलिक झाँकी सहित १० बजे भृकुटी मण्डपबाट ¥याली सुरु हुने बताइएको छ ।

माघेसकराती चाड विशेष गरी चेलीकोे पर्वको रुपमा मनाइन्छ । नयाँ यामको सुरुवात यसै दिन देखि उभौली सुरुभई साउने सकरातीमा समापन भई सोही दिन देखि उद्यौली सुरु हुने प्रचलन छ । यस चाडमा चेलीहरुले मूलको पानी र जमरा स्वरुप जौं को पूmल लिएर घरको धूरी खाँबोमा पूजा गर्ने गरिन्छ यस दिन छोरी चेलीहरुलाई पूजा गर्ने गरिन्छ । चामलको सेतो टिका र जौं पाटीको फुल लगाई दक्षिणा अनि आर्शिवाद दिने चलन छ ।

माघे सकरातीको दिन छोरी चेलीहरुलाई मिस्रा (उपहार) दिने गरिन्छ घरमा आएका चेलीहरुलाई घरमै र आउन नसकेका छोरीचेलीलाई उनीहरु कै घर–घरमा पठाइदिने गरिन्छ । मिस्रा भन्नाले तरुल, गिठ्ठा, भ्याकुरको परिकारहरु, भुजौरी, खिचदी, घिउको परिकार बनाइको परिकार हो ।

यस चाडमा मौलिक रुपले भैलो खेल्ने, पुतली नाँच्ने, सिस्नो खेल्ने, पिङ खेल्ने, धनुषवाँण हान्ने आदि गरिन्छ । साँस्कृतिक हिसाबले यस चाड देखि कौडा नाचको सुरुवात गर्ने र मादल, बाजाहरु (चर्को आबाज निकाल्ने बाजागाजा) बन्द गर्ने गरिन्छ ।

यसै दिन देखि बेशीबाट लेक तिर बसाई सर्ने गरिन्छ । मगर समुदायमा यस चाड साँस्कृतिक र सामाजिक हिसाबले अत्यान्तै महत्व राख्ने गर्दछ ।

नेपालको सबै जिल्लाहरुमा बसोबास रहेको राष्ट्रिय आदिवासी जनजाति “मगर” समुदाय भित्र पनि साँस्कृति, भाषिक र सामाजिक विविधता रहेको भन्दै मौलिक साँस्कृतिक रुपले मगरहरुले माघेसकराती, भूम्यापूजा, बैशाखे पूर्णिमा, साउने सकराती आदि चाडपर्व सबैले मनाउने गर्दै आएका छन् ।

भाषिक रुपले मगरहरुले बाह्रमगरात (मगरढुट), अठारमगरात (मगरखाम÷पाङ) र मगरकाइके बोल्ने गर्दछन् । मौलिक कला–साँस्कृतिका हिसाबले मगरहरुमा हुर्रा, सोरठी, कौडा, मारुनी, पैस्यारु, टप्पा, सरङ्या, झ्याम्रे, यानीमाया, फाँङ्क आदि नाँचगान प्रचलित छन् ।

पर्व विदा छिट्टै पुनरावलोकन गरियोस् ः नविन रोका मगर

पत्रका सम्मेलनमा बोल्दै नेपाल मगर संघका अध्यक्ष नविन रोका मगरले सरकारले गरेको पर्व विदा कटौती तत्काल पुनरावलोकन गर्न आग्रह गरेका छन् ।

सरकारले विभिन्न सांस्कृतिक पर्वहरुको विदा कटौती पश्चात् नेपाल आदिवासी जनजाति महासंघ लगायत आदिवासी सम्वद्ध संघसंस्थाहरुले आन्दोलन गरेपश्चात् सरकारले विदा कटौती पुनरावलोकन गर्न खोजेको कार्य स्वागतयोग्य भएको उनले बताए ।

अध्यक्ष रोकामगरले सरकारले यही माघ १ गतेदेखि नै लागु हुनेगरी विदा पुनरावलोकन गर्न आग्रह गरे ।
जनताको संघर्षले प्राप्त गरेको अधिकार सरकारले खोस्नु नहुने भन्दै अध्यक्ष रोकाले मुलुक समृद्ध बनाउने अभियान सबैको आफ्नो भएको बताए ।

जनतालाई दुखी बनाएर उनीहरुको अधिकार खोसेर मुलुक समृद्ध बन्न नसक्ने भन्दै उनले राजनितीक दलहरु सिमित राजनीतिक स्वार्थ छाडेर त्यसभन्दा माथि उठेर काम गर्नुपर्ने बताए ।

‘यो संघिय गण्तान्त्रात्मक मुलुककको मर्म पनि हो । माघे सकराती लगायत सम्पूर्ण संस्कार संस्कृतिहरु जस जसले मान्दै आएका छन् त्यो उनीहरुको मात्र होइन। सबै नेपालीहरुको हो । यसलाई मास्ने होइन यसलाई अगाडी बढाउने हो’ अध्यक्ष रोकाले भने।

मगर समुदायले माघे सकराती पर्वमा आफ्नो चेलिबेटीहरुलाई पूजा गर्ने चलन रहेको भन्दै उनले विभिन्न खानेकुरा तथा उपहारहरु यस सकरातीमा दाजुभाइ,माइतीहरुले चेलिवेटीलाई दिने चलन रहेको बताए। यही क्रममा लडाइको कला सिकाउने, धनुषवाण हान्ने चलन समेत रहेको उनले बताए ।