खेलकुद पत्रकार मञ्च झापाले स्पोटर्स अवार्ड माघ २६ गते वितरण गर्ने « Yalambar Times
१५ माघ २०८१, मंगलवार

खेलकुद पत्रकार मञ्च झापाले स्पोटर्स अवार्ड माघ २६ गते वितरण गर्ने


यलम्वर टाइम्स
९ माघ २०७५, बुधबार ०७:१५

बिर्तामोड । झापा जिल्लामा मात्र सीमित रहेको स्पोटर्स अवार्डलाई नेपाल खेलकुद पत्रकार मञ्च झापाले मेची अञ्चल स्तरीय बनाएको छ । यही माघ २६ गते दोस्रो स्पोटर्स अवार्ड गर्ने भएको छ ।

मञ्चले मंगलबार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी माघ ७ गते गर्ने भनिएको दोस्रो स्पोटर्स अवार्ड प्राविधिक कारणले गर्न नसेको जनाउँदै माघ २६ गते गर्ने जानकारी दिएको हो ।

जिल्लास्तरीय रुपमा सञ्चालन गरिएको अवार्डलाई अञ्चलस्तरीय गर्दा समस्या र चुनौती थपिएको मञ्चका अध्यक्ष रमेश समदर्शी राईले बताए ।

‘हामीले समस्या र सुनौतीको पर्वाह नगरी अञ्चलस्तरीय कार्यक्रम गर्ने लक्ष्यका साथ पाइला अगाडि बढाएका छौँ’, अध्यक्ष राईले भने, ‘कार्यक्रम सफल पार्न विभिन्न ९ वटा उपसमिति गठन गरेका छाँै ।’ यस वर्ष एउटा विधा परिवर्तन गरेर ६ वटा बनाएको जनाइएको छ ।

६ वटा विधामा उत्कृष्ट अञ्चलभरिका पुरुष र महिला खेलाडी, कोच, पिपुल च्वाइज, युवा खेलाडी र लाइफटाइम एचिभमेन्टका प्रतिभालाई पुरस्कृत गर्ने अध्यक्ष राईले बताए ।

गत वर्षको पिपुल च्वाइज टिमको साटो यस वर्ष पिपुल च्वाइज प्लेयर बनाइएको मञ्चका कोषाध्यक्ष बुद्ध तामाङले बताए । पुरस्कारको राशि वृद्धि गरी जनही २५ हजार पुर्याएको उनले बताए ।

उत्कृष्ट पुरुष र महिला खेलाडीलाई मोटरसाइकल र स्कुटर प्रदान गरिनेछ ।मोटरसाइकल र स्कुटर झापाका समाजसेवी तथा खेलक्षेत्रका हस्ती जलकुमार गुरुङले प्रदान गर्ने प्रतिभा छनोट समितिका सदस्य हिमाल खरेलले बताए ।

एक हप्ताभित्रमा मनोनीतहरुको अन्तिम नामावली सार्वजनिक गरिने उनले जानकारी दिए । पुरस्कारको राशि बाहेक कार्यक्रममा ५ लाख अनुमानित खर्च हुने जनाइएको छ ।