मानिस पार्कमा भन्दा थानमा बढी « Yalambar Times
७ आश्विन २०८१, सोमबार

मानिस पार्कमा भन्दा थानमा बढी


यलम्वर टाइम्स
२५ जेष्ठ २०७६, शनिबार १०:१४

सालबारी । बिहीबार सालबारी पार्कमाभन्दा सालबारीकै एक छेउमा रहेको साकेला थानमा मानिसहरुको बाक्लो उपस्थिति थियो । उपस्थित रहेका अधिकांश महिलाहरु किराती भेषमा सज्जिएका थिए ।

पुरुषहरु ढोल बोकेर नाचिरहेका थिए भने महिला झ्याम्टा र चम्मर बोकेर ‘सोइ ढोले सोई…’ भन्दै इश्वरलाई पुकार्दै शिलीमा रमेको दृष्य देखिन्थ्यो ।

यायोक्खा उपाध्यक्ष क्या. शिवकुमार राईद्वारा आमाबुबाको सम्झनामा निर्मित वाबु स्तम्भको वरिपरि साकेला नृत्य प्रस्तुत भइरहँदा बिहीबारे हाट भर्न आएका अधिकांश मानिसहरु साकेला शिलीमा झुमेका थिए ।

शिली नृत्यमा विभिन्न प्रासका ११ वटा नृत्य टोलीले साकेला थानमा आफ्नो प्रस्तुति दिएका थिए ।

कोही वाचिप्पामा रमेका थिए भने कोही ढोल र झ्याम्टामा । कार्यक्रममा सहभागि अधिकांश अतिथिहरुलाई राई जातिको परिकार वाचिप्पा आयोजकले खुवाएर स्वागत गरेको थियो ।

प्रत्येक वर्ष बैशाख पूर्णिमाको दिनबाट सुरु भई करिब एक महिनासम्म मनाइने साकेला उभौली यस पटक पनि मनाइदै आएको छ । विश्वमा छरिएर रहेका सम्पूर्ण किरात सम्प्रदायले यो पर्वलाई आ–आफ्नो ठाउँमा हर्षोल्लासका साथ मनाउँदै आएका पनि छन् ।

झापाले भने संयुक्त रुपमा आज २५ गते सीतापुरीमा भव्य कार्यक्रम गरी समापन गर्दै छ ।

बिहीबार अर्जुनधारा–११ स्थित सालबारी स्थित साकेला थानमा भव्य कार्यक्रमको आयोजना गर्दै पर्व उल्लासमय ढंगले मनाएको थियो ।

पर्वमा नगर प्रमुख हरिकुमार राना, यायोक्खा जिल्ला उपाध्यक्ष निरबहादुर राई, सचिव केवलराम राई, फोनिज प्रदेश इन्चार्ज दिपीन राई, अर्जुनधारा वडा नं. १० का अध्यक्ष बलदेव गोम्देन, बुद्धिजीवि कृष्णकुमार थेवे, महिला नेतृ कुसुम राई, चुम्लुङ अध्यक्ष तिलसिंह माङ्मु, सुम्निमा संघ अध्यक्ष चिजा राई, त्रिगाउँका तारा सुवेदी, नमूना सामुदायिक वनका उपाध्यक्ष प्रकाश प्रसाई आदिले उभौली शुभकामना मन्तव्य राखेका थिए ।

शिली माङ्पा सुशिला राई (खुशे नाना) ले पुर्खासँगै प्रकृतिको पुकार गरेपछि सुरु भएको कार्यक्रममा संस्थालाई सहयोग गरेको भन्दै दुई जनालाई सम्मान गरेको छ ।

यसरी सम्मानित हुनेहरुमा पूर्व शिली मोमा अञ्जना राई र मञ्जली राई रहेकी छिन् । उनीहरुलाई प्रमुख अतिथि जिल्ला उपाध्यक्ष निरबहादुर राई र सचिव केवलराम राईले संयुक्त रुपमा गरेका थिए ।

क्या. शिवकुमार राई र अञ्जना राईले संयुक्त रुपमा सञ्चालन गरेका थिए ।