पर्यटनका लागि झापाको अर्जुनधारा त्यसै अबल्ल « Yalambar Times
२५ आश्विन २०८१, शुक्रबार

पर्यटनका लागि झापाको अर्जुनधारा त्यसै अबल्ल


यलम्वर टाइम्स
२७ जेष्ठ २०७६, सोमबार ०८:५६

[यलम्वर टाइम्स डेक्स]

अर्जुनधारा । नेपालको पूर्वमा रहेको झापा जिल्लालाई चिनाउने ऐतिहासिक स्थल मध्येका झापाको खुदुनाबारीमा अवस्थित सहिद शाहदत स्थल, ऐतिहासिक शनिश्चरे बजार र हिन्दु धार्मिक आस्थाको केन्द्र पूर्वको पशुपतिनाथले परिचित अर्जुनधारा यी तिनै स्थान पूर्व गाउँ विकास समितिका नामले परिचित थिए ।

स्थानीय तहको पुनर्संरचना पछि पहिलो चरणमा शनिश्चरे र अर्जुनधारालाई समेटि २०७१।०१।२५ गतेको सरकारको निर्णय अनुसार शनिअर्जुन नगरपालिका र २०७३।१२।२७ गतेदेखि स्थानीय पूनर्संरचना पछि खुदुनाबारी गाविसलाई समेत समेटेर यस क्षेत्रको पवित्र धार्मिक स्थल अर्जुनधाराको नाममा यस नगरपालिकाको नामाकरण गरिएको छ ।

खुदुनाबारी

खुदुनाबारीको परिचय दिँदै गर्दा पछिल्लो पटक चर्चामा आएका मध्ये धार्मिक स्थल अन्तर्गत भुटानी शिविरमा रहेको फाल्गुनन्द कैदले शान्ति वन बाटिका रहेको छ । उक्त वन बाटिकाभित्र फाल्गुनन्द मिङ्सो माङहिम र किरात राईहरुको सुम्निमा पारुहाङको मन्दिर अवस्थित छ । त्यस क्षेत्रमा बौद्ध, मानव धर्म लगायत आधा दर्जन धार्मिक स्थल बनेको छ । फाल्गुनन्द पोखरी र भर्खरै नगर प्रमुख हरिकुमार रानाले बैशाख २५ गते फाल्गुनन्द मार्ग समेत उद्घाटन गरिएको थियो ।

फाल्गुनन्द कैदले वन बाटिकामा धार्मिक सहिष्णुताको हिसाबले मात्र होइन आन्तरिक पर्यटक भित्र्याउने हिसाबले पनि स्थानीय वडा नम्वर ३ र स्थानीय जुकेखाडी सामुदायिक वनको बजोड सहयोग रहेको देखिन्छ ।

खुदुनाबारी अन्तर्गत नै ३ दशक अघिबाट अविछिन्न अभियानको रुपमा अगाडि बढेको साधुटार पनि धार्मिक दृष्टिकोणले चर्चाको शिखरमा लाग्दै गरेको देखिन्छ । त्यहाँ सयौं बटुकहरु अध्ययनरत छन् । पूर्वकै ऐतिहासिक संस्कृत विद्यालयको लागि अगाडि बढेको साधुटारका संस्थापक केदार खतिवडाले बताए ।

खुदुनाबारीमा सामुदायिक वनहरु पनि उल्लेखीय रहेको छ । उक्त सामुदायिक वनहरुले विकासका कामहरु पनि त्यतिकै गरेको हामी पाउँछौं । जुकेखाडी सामुदायिक वन, हचुमासा सामुदायिक वन, हलुवागढ सामुदायिक वन, शान्ति सामुदायिक वन यसै खुदुनाबारीमा पर्छ । खुदुनाबारी र इलाम जोडिएर सुखानी सामुदायिक वन, दाहालटार सामुदायिक वन पनि सक्रिय नै छ ।

सुखानी पार्क

सुखानी हत्याकाण्ड पञ्चायतकालमा भएको हत्याकाण्ड हो । झापा जिल्लाको सुखानी खण्डमा २०२९ साल फागुन २१ गते नेपाली कम्युनिष्ट आन्दोलनका अगुवाहरूलाई प्रहरीले गोली हानी हत्या गरेको थियो । त्यो क्षेत्र झापा जिल्लाको अर्जुनधारा नगरपालिका ३ र इलामको माई नगरपालिका २ को सीमा क्षेत्रमा पर्छ । २०२९ फागुन २१ गते झापा विद्रोहका नाइके भनेर चिनिने रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, बिरेन राजवंशी र नारायण श्रेष्ठलाई इलामको कारागार लगिने बहानामा उक्त स्थानमा पुर्याइ पञ्चायती शासकले गोली हानी हत्या गरिएको थियो ।

२९ साल कात्तिकमा प्रहरीद्वारा पक्राउ परेका उनीहरू झापा जेलमा राखिएका थिए । उनीहरूलाई पक्रिएपछि आन्दोलन मत्थर होला भन्ने सोचेको प्रशासनको सोचाइ बिपरीत कम्युनिस्टहरूको झन् बिगबिगी बढ्यो । तत्कालीन कम्युनिस्टले जमीनदारलाई सफाइ गर्ने अभियान ’एक्सन’ बढाइरहेका थिए । झापाबाट इलाम जेल सार्ने बहानामा फागुन २१ गते राति सुखानीको जंगलमा पाँचै जनालाई गोली हानेर हत्या गरिएको थियो ।
सुखानीमा एमाओवादीको सरकार हुँदा होस् या नेकपाको सरकार हुँदा होस् दुवैले यस ठाउँमा आएर श्रद्धाञ्जली अर्पण गर्ने गरेका छन् ।

अर्जुनधारा

पूर्वको पशुपतिनाथले प्रचलित अर्जुनधारा जलेश्वरधामको विकास २०२३ सालबाट सुरु भएको स्थानीयहरु बताउँछन् । पूर्वबाट आएका एक बाबाले यस क्षेत्रमा शिवको बास छ भनेर स्थानीयहरुलाई दिएको सन्देश अनुसार यस धामको विकास हुँदै आएको देखिन्छ । दाहिने हात सदैव माथि उचालेर हिंड्ने भएको हुँदा ति बाबालाई खडेबाबा भन्ने गरेको धामका अध्यक्ष नविन गट्टानीले बताए । अर्जुनधारा–७ स्थित रहेको धामको स्थापना ५२ वर्ष अघि भए पनि यसको इतिहास महाभारतकालसँग जोडिएको जीवन्त रहँदा स्व. पुष्पलाल निरौलाले बताएका छन् ।

किम्वदन्ती अनुसार पाण्डहरुको गुप्तवास भङ्ग गर्ने दुर्योधनको षडयन्त्र बमोजिम विराट राजाका ९ लाख गाई हरण गरेर कौरव पक्षले आसामको गुहाटी पुर्याएका थिए । धनुर्धारी अर्जुनले युद्ध जितेर गाई फिर्ता ल्याएपछि धर्तीमा प्रजन्य वाण प्रहार गरेर तिर्खाका ति गाईलाई चिसो पानी खुवाएको ठाउँ अर्जुनधारा भएको हुँदा यसको नाम अर्जुनधारा रहेको स्थानीयहरुको भनाई छ । अझै पनि अर्जुनधारामा चिसो पानी निरन्तर आइरहेको देख्न पाउँछौं । यस धामका संस्थापक दुर्गाप्रसाद खरेल, बृजमोहन गट्टानी, मोहन शिवाकोटी, हेमबहादुर थापा, शिवप्रसाद दाहाल लगायतले धार्मको विकास तथा प्रचारमा ठूलो योगदान पुर्याएको धामसमितिले बताउने गरेको पाइन्छ । २०७५ सालदेखि अर्जुनधारा जलेश्वर धाम पर्यटन सूचीमा सूचिकृत हुन पुगेको छ
अर्जुनधारा क्षेत्रमै विभिन्न देवीहरुको मठमन्दिर रहेको पाउँछौं । पछिल्लो पटक विन्ध्यावासीनी, सिंहबाहिनी शक्ति पीठ, सिंहबाहिनी दुर्गा भवानी, ठाकुर मन्दिर, राधाकृष्ण मन्दिर र गोसखान नजिक सेती देवी (डाङ्ग्रे बाबा) आदि पाइन्छ । यसै क्षेत्रमा पानीकल स्थित गुम्बा र दहिझोडा स्थित किरात माङहिम पनि रहेको छ ।

धार्मिक हिसाबले अर्जुनधाराको नाम उच्च रहे पनि यस क्षेत्रलाई विरिङ र टाङटिङ नामका दुई नदीले घेरेको हुँदा विकासको दृष्टिकोणले अर्जुनधारा पछि परेको पाइन्छ । यसै ठाउँमा दहिझोडा सामुदायिक वन पनि रहेको छ ।

शनिश्चरे

शनिश्चरे नाम आउने बित्तिकै झापाको पुरानो बजारको नाम जो कोही मानिसका मानसपटलमा छाउने गरेको छ । यसको इतिहास १२५ वर्ष भन्दा लामो भन्ने गरिए पनि सय वर्षअघिबाट यस बजारको नाम बाहिर आएको जानिफकारहरुको भनाइन छ । यो बजार हाल साबिक ठाउँ रहन बुढाथोकी परिवारहरुको हात हरेको देखिन्छ ।

यसको क्षेत्रफल २ विगाह रहेको बजार व्यवस्थापन समितिका पूर्व अध्यक्ष कुमार भट्टराई बताउँछन् । शनिश्चरे बजार यस अघि मदनपुर स्थित लाग्ने गरेको थियो भने पछि बजारले व्यापकता पाएपछि हाल साबिक स्थानमा लाग्दै आएको भनाइ छ । यस ठाउँमा बजार भर्न बिहीबार साँझसम्ममा सबै ठाउँका मानिसहरु आउने र शनिबार सौदा भरेर साँझपख फर्कने गरेको स्थानीय व्यापारीहरु बताउँछन् ।

विशेष गरी इलाम, पाँचथर र ताप्लेजुङबाट व्यापारीहरु आउथ्ये भने दक्षिणी राजगढ, केचना, घेराबारीबाट सुर्ती व्यापारीहरु गोरु गढाबाट आउने गरेको स्थानीय वृद्ध व्यापारी मंगरु साहु बताउँछन् । उनका अनुसार बिहीबार र शुक्रबार दक्षिणबाट आउने आदिवासी व्यापारीहरुको आफ्नै ताल, उत्तरबाट आउने जनजातिहरुको आफ्नै संस्कृतिले गर्दा बिहीबार र शुक्रबार दिन धान नाच्ने, गाउने भएको हँुदा यस बजार झापामा लाग्ने अरु बजारभन्दा छुट्टै महत्व बेकेर आएको थियो ।

शनिश्चरे बजारमा खशी, केरा, कुखुरा, सुर्ती, सिद्रा, घ्यू, पाटा, नाङ्लो डाको, खोस खान, तरकारी बजारसँगै लत्ताकपडा दैनिक उपभोग्य सामग्रीहस्को घुइचो लाग्ने गथ्र्यो । झापा जिल्ला मध्ये शनिश्चरे र बिर्तामोड कुद्ने रसियन जीप यही भएको हुँदा धेरै मान्छेहरु रसियन गाडीमा चढ्नकै लागि पनि शनिश्चरे आउने गर्थे ।

यसै शनिश्चरे बजारलाई पूर्वको प्रख्यात भएको हुँदा पर्यटकीय दृष्टिकोणले अगाडि बढाउन स्थानीय सरकार उत्साहित भएर लागेको पाइन्छ । बजारलाई व्यवस्थि तगर्दै गर्दा वर्षौदेखि यस क्षेत्रमा आएर व्यपारि गर्ने व्यापारीहरुको लागि स्थानीय सरकार र उद्योग वाणिज्य संघको पहलमा केही पर सारिएपछि हाल पुरानो बजारलाई सुन्दरता दिन लागिएको छ ।

लाग्दै आएको बजारको पूर्व पट्टी पर्यटकीय दृष्टिकोणले सुन्दरता प्रदान गर्न आदिवासीले कुदाउँपदै गरेको गाडागोरु, पश्चिम पट्टि दुर्गा मन्दिर छेऊ भगवना अर्जुनले अस्त्र प्रहार गरेको प्रतिमा र हनुमान मन्दिर छेऊ हुनमानको प्रतिमा र त्यसको पूर्व ज्यष्ठ मिलन चौतारो राखिने भएको छ । हाल ज्येष्ठ मिलन चौतारोमा शीतलता लिन विभिन्न ठाउँबाट मानिसहरु आउने गरेको ज्येष्ठ मिलन केन्द्रका सचिव नरेन्द्र तिम्सिना बताउँछन् । फ्रि वाइफाई भएको हुँदा दिउँसो उक्त चौतारोमा बस्ने ठाउँ समेत नपाइने सचिव तिम्सिना बताउँछन् ।

सालबारी पार्क

शहीद उड्डयन पार्कले प्रचलित अर्जुनधारा ९ र ११ को बीचमा रहेको सालबारी पार्क ऐतिहासिक पर्यटकीयको गन्तव्य रहन सक्छ । पञ्चायत अवस्थामा स्वतन्त्रताको आवाज उठाउँदा माई नगरपालिका नजिक सुखानी खोलामा तत्कालिन पञ्चायती शासकले हत्या गरिएको शहीदहरुको प्रतिमा पार्कमा रहेको हुँदा सालबारी पार्कलाई शहीद उड्डयन पार्कको रुपमा अगाडि सारिएको छ । सखुवाका बहुसंख्याक विरुवा रहेको उक्त पार्कमा आन्तरिक पर्यटकको लागि पोखरी र वनभोज खानेहरुका लागि उक्तम स्थान भएको हुँदा पछिल्लो पटक सालबारी पार्क चर्चाको शिखरमा छ । यसै पार्कसँगै नमूना सामुदायिक वन पनि अवस्थित छ ।

कछुवाको हब

सालबारी पार्कभित्र कछुवा अध्ययन अवलोकनको लागि छुट्टै अनुसन्धान केन्द्र रहेको छ । नेपालमा पाइने लोपोन्मुख कछुवा विरिङ र टाङटिङ नदीमा रहने भएको हुँदा ति कछुवाहरुलाइृ भेला गरी यस पार्कमा राखिदै आएको जीव शास्त्री प्राडा केआर खम्बू बताउँछन् । प्राडा केआर खम्बूले अर्जुनधारा कछुवाको हब बन्ने कुरामा विश्वस्त रहेको बताएका छन् ।

विश्व कछुवा दिवसको अवसर पारेर अर्जुनधाराको सालबारी स्थित कछुवा संरक्षण केन्द्रमा विहीबार भएको कार्यक्रममा प्राडा राईले उक्त विश्वास व्यक्ति गरेका हुन् । विश्वमा ३५६ प्रजातिको कछुवा भएतापनि नेपालमा १८ जातिका कछुवा पाइने अध्ययनले देखाएको जानकारी दिँदै त्यसमध्ये लोपोन्मुख ध्वाँसे कन्ठे पाते कछुवा विरिङ र टाङटिङमा पाइने भएको हुँदा त्यसको संरक्षण गर्न अति जरुरी भएको जानकारी दिए ।
उभयचरमा पीएचडी गर्दै गर्दा नेत्र समेत गुमाएका प्राडा खम्बूसले रिश्रृप वर्गमा पर्ने कछुवाहरु मेरुदण्ड भएका प्रजातिहरु मध्ये सबैभन्दा लामो समयदेखि पृथ्वीमा बस्दै आएका जीवहरु मध्ये एक हुन् । करिब २० करोड वर्ष इतिहास बोकेका कछुवाहरु सर्पहरुभन्दा अगाडिदेखि रहेको कुरा उनको अध्ययनले बताएको राईले बताए ।

कछुवाको महत्व वातावरणीय दृष्टिकोणले मात्र नभइ धार्मिक दृष्टिकोणले पनि उत्तिकै रहेको जानकारी दिए । जुन ठाउँमा कछुवा रहन्छ, त्यस ठाउँको जलाशाय पनि सफा रहन्छ । वातावरणीय दृष्टिकोणमा कछुवाको महत्वपूर्ण भूमिका रहेको प्राडा खम्बूले जानकारी दिँदै चितवन गैंडाको हब, कोशी टाप्पु अर्ना जनावरको हब भने जस्तै अर्जुनधारा पनि कछुवाको हब बन्नमा बलियो आधार बन्ने बताए ।

कार्यक्रममा डिभिजन वनका प्रमुख विष्णुलाल घिमिरेले प्रकृति र वातावरणीयको संरक्षण गर्ने क्रममा अगाडि बढेको डिभिजन वन भएको हुँदा वातावरणलाई टेवा पुर्याउने कछुवा भएको आजको अन्तरक्रियामा पाइएको हुँदा यसको संरक्षणमा डिभिजन वन लाग्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रमुख घिमिरेले दुर्लभ जातिका कछुवालाई नेपाल सरकारले वन्यजन्तुमा सूचिकृत गरिएको पाइदैन । आफ्नोतर्फबाट सूचिकृतका लागि आव्हान गर्ने बताए । कार्यक्रममा नगर प्रमुख हरिकुमार रानाले कछुवा संरक्षण अर्जुनधाराको पहिचान, यसको संरक्षणमा हामी प्रतिवद्ध छौं भन्ने अभियानमा हस्ताक्षर गर्दै कछुवाको हब अर्जुनधारालाई बनाउन नगर सक्रिय रहने बताए ।

नगर प्रमुख रानाले प्रतिवद्धता व्यक्त गर्दा टीआरसीसीका फाउण्डर भनेर चिनिने प्राडा खम्बूले भावुक हुँदै ताली पड्काएका थिए । कछुवा दिवसको अवसरमा लिटल एन्सल चारआलीका विद्यार्थीहरुको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा प्रदेश सांसद बृख प्रधानले प्रतिवद्धतामा हस्ताक्षर गर्दै कछुवाको हब र अर्जुनधाराको पहिचान हुनेमा विश्वास व्यक्त गरेका थिए । सांसद प्रधानले आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने र रिसर्च सेन्टरका लागि अर्जुनधाराको सालबारीलाई केन्द्रबिन्दू बनाउन प्रदेश सरकार सक्रिय रहने जानकारी दिए ।

सुखानी शहीद प्रतिष्ठानका उपाध्यक्ष टंक भट्टराईको सभापतित्वमा भएको कार्यक्रममा टीआरसीसी सालबारीका प्रमुख कपिल राईले टीआरसीसीमा ८ जातिका कछुवा रहेको जानकारी दिए । प्रतिष्ठानका महासचिव हर्कराज राईले सञ्चालन गरेको कार्यक्रममा नमूना सामुदायिक वनका अध्यक्ष भानु श्रेष्ठ, प्रशासकीय प्रमुख पंकज भुर्तेल, नगरपालिकाका अधिकृत हिमराज सेढाई, पशु शाखाका प्रमुख पदमलाल राई, शहीद उद्यायन पार्कका अध्यक्ष टंक बराल, वातावरण संरक्षणका प्रदिप राजवंशी लगायतको आतिथ्य रहेको थियो ।

निलु र कछुवाको सम्बन्ध

निलु क्षेत्री विगत ४ वर्षअघिबाट टीआरसीसीका कर्मचारी हुन् । उनी कछुवालाई भरण पोषण र स्याहार चाकार गर्ने कर्मचारीको रुपमा काम गर्दै आएकी छिन् । उनी जब कछुवालाई चारो खुवाउने समय हुन्छ उनको स्वर थाहा पाएपछि कछुवाहरु चारो खान आउने गर्छ ।

बिहान ८ बजे चारो दिन उनी कछुवा संरक्षित ठाउँमा पुग्दा उनको स्वर सुनेपछि संरक्षण केन्द्रमा रहेका कछुवाहरु सलल आउने गरेको टीआरसीसीका प्रमुख कपिल राईले जानकारी दिए । अनौठो प्रजातिको रुपमा रहेको उक्त कछुवा जहाँ संरक्षित हुन्छ, त्यसले वातावरणीय प्रभावलाई मजबुद बनाउन टेवा दिने प्रतिष्ठानका महासचिव हर्कराज राईले बताए ।

सालबारीको जंगलभित्र रहेको संरक्षण केन्द्रमा लाम्चे, राते काने, भुडे धुरी, टिकटिके, काठ खाने र ढकनी जातका कछुवाहरु रहेको कर्मचारी निलुले जानकारी दिइन् ।

टीआरसीसीका अनुसार जलवायु परिवर्तन, नालीवालीमा विषादी प्रयोग, सिमसारको बिनास, अवैध चोरी सिकारी जस्ताबाट कछुवा घट्दै गएको जानकारी छ भने पास्थितिक प्रणालीमा समुन्नत कायम राख्न वातावरणका जैविक सूचक हुनाले, खाद्यशृङ्खलामा महत्वपूर्ण भूमिका खेल्नाले, लामखुट्टे जस्ता हानिकारक किटानुहरुको लाभान्स नष्ट गर्न, किरा, फट्याङ्ग्रा जस्तालाई नियन्त्रण गरी कृषिजन्य उत्पादनमा वृद्धि गर्न, धार्मिक आस्थाको धरोहर भएको हुँदा यसको संरक्षण गर्न आवश्यक रहेको प्राडा खम्बूले जानकारी दिए ।

करिब ३ विगाहको फेरीमा रहेको कछुवा संरक्षण केन्द्रले विरिङ र टाङटिङ सिमसारमा कछुवा खोजी गरि संरक्षण केन्द्रमा राख्ने भएका छन् ।

अर्जुनधाराको भौगोलिक स्थिति

यो नगरपालिका झापा जिल्लाको मध्य उत्तरमा रहेको छ । कुल क्षेत्रफल १०९.८६ वर्ग कि.मी. रहेको छ । अंक्षाश २६.६८ डिग्री र देशान्तर ८७.९९ डिग्री रहेको छ भने महिला ३२३२३ र पुरुष ३१४९२ गरी कुल जनसख्ंया ६३८१५ रहेको छ ।

सदरमुकाम भद्रपुरदेखि २३ किलो मिटर उत्तरमा रहेको यस नगरपालिकाको पूर्वमा बुद्धशान्ति गाउपालिका र मेची नगरपालिका भने पश्चिममा झापाको कनकाई नगरपालिका र इलामको माई नगरपालिका रहेका छन् त्यसरी नै दक्षिणमा बिर्तामोड नगरपालिका पर्दछ । उत्तरमा इलामको रोङ्ग गाउँपालिका रहेको छ ।

यस नगरपालिकालाई झापाकै बाढी प्रभावित विरिङ्ग खोलाले बीचमा चिरेर बगेको छ भने झापा आन्दोलनको उद्गम स्थल सुखानी शाहदत्त स्थल, सुाखनी सहिद पार्क, नेपालको एकमात्र शंकराचार्य पीठ साधुटार, धार्मिक पवित्र स्थल अर्जुनधारा, १८ बर्षसम्म नेपाली मुलका भुटानी शरणार्थीहरुले बसोबास गरेको कैदले वन सहित ८ वटा सामुदायिक वन र १०० बर्ष भन्दा पुरानो बजार शनिश्चरे बजार पनि यसै नगरपालिकामा पर्दछ ।