स्वस्तिकाका विद्यार्थीहरुलाई सेनाद्वारा सय दिने तालिम « Yalambar Times
५ आश्विन २०८१, शनिबार

स्वस्तिकाका विद्यार्थीहरुलाई सेनाद्वारा सय दिने तालिम


यलम्वर टाइम्स
२ असार २०७६, सोमबार १२:३५

अर्जुनधारा । चारआलीका सेना प्रमुख (कर्नेल) मुक्काहाङ याक्थुम्बाले राष्ट्र दरबिलो बनाउन सकारात्मक सोच अपरिहार्य भएको बताएका छन् ।

अर्जुनधारा क्षेत्रको निजी विद्यालय स्वस्तिका शिशु सदनका ३६ छात्रछात्रालाई आत्मानिर्भर र आत्मारक्षा तालिमको छनौट कार्यक्रममा प्रमुख सेनानी याक्थुम्बाले छनौट गरिएको विद्यालयमा राष्ट्रिय सेवा दल अन्तर्गत यसरी नै तालिम प्रदान गरिने बताए ।

उनका अनुसार राष्ट्रिय सेवा दलको आयोजनामा सञ्चालित उक्त तालिमको उद्देश्य यूवाहरुमा राष्ट्रिय भावनाको विकास गराउने, अनुशासन, विपद् व्यवस्थापन र नेतृत्व विकास गर्ने रहेको छ ।

सय दिनसम्म सञ्चालन हुने सो तालिममा कक्षा ८, ९ र १० का १८ जना छात्र र १८ छात्राहरु सहभागी रहेको विद्यालयले जनाएको छ ।

यस तालिमबाट विद्यार्थीको आन्तरिक क्षमता विकास हुनुका साथै सामाजिक कार्यमा क्रियाशिलताको भावना विद्यार्थीमा जागृत गराउन तालिम ल्याइएको विद्यालयका निर्देशक बसन्त श्रेष्ठले बताए ।

आज सोमबारबाट सुरु हुने सो तालिममा ७९ दिन संस्थागत तालिम हुनेछ भने २१ दिन मोरङको याङसिलामा क्याम्प हुने विद्यालयका प्रिन्सिपल ओमप्रकाश ओझाले बताए ।

सेनाको ड्रेसमा सजिएका ३६ छात्रछात्रालाई तालिमको सहजीकरण प्यूठ जनक शिवाकोटीले र अमल्दार कुमार तामाङले गर्ने बताइएको छ । कार्यक्रमको सञ्चालन क्याप्टेन सुरज कट्वालले गरेका थिए ।

स्वस्तिका विद्यालय परिसरमा भएको कार्यक्रममा विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो । सहभागि छात्रा स्मारिका मगरका अभिभावक चन्द्र रानाका अनुसार छोरीको रहरलाई हामीले सम्मान गरेका छौं । यस्तो खालको कार्यक्रम विद्यालयले ल्याउनु आम अभिभावकलाई खुशीको क्षण अवश्य रहनेछ ।