कुमार भट्टराई युवा पुस्ताका सशक्त साहित्यकार हुन् । उनी अर्जुनधारालाई कर्मथलो बनाएर साहित्यसँगै पत्रकारिता पेशामा क्रियाशील रहेका छन् । यसअगि उनले ‘नसमेटिएका पाइलाहरु’ र ‘बकाइनो’ नामक दुई कथा संग्रह, ‘धनबहादुर र म’ नामको उपन्यास, ‘कृष्ण’ नामको सूत्रकाव्य र ‘मेरो’ नामको कविता संग्रह पाठक माझ छरिसकेका छन् । ती कृतिहरु मध्ये ‘कृष्ण’ सूत्रकाव्य पछिल्लो पटकको चर्चित पुस्तक हो ।
हाल उनी मेरो रेडियोको प्रबन्ध निर्देशक तथा समाचार प्रमुख भएर काम गरिरहेको बेला सुटुक्कै ३३६ पेजको अश्वत्थामा उपन्यास कोरेका छन् । साहित्यमा उनको नाम यही उपन्यासले अधिराज्यभरि कहलाउने देखिएको हुँदा सशक्त युवा साहित्यकार कुमार भट्टराईसँग छैटौं कृति अश्वत्थामाका विषयलाई लिएर यलम्वर टाइम्स डटकमले गरेका केही प्रश्न गरिएको छ ।
पत्रकारितामा खट्ने मान्छे कुन बेला तपाई साहित्यमा घोत्लिनु हुन्छ ?
साहित्य र पत्रकारिता बेग्लै विषय होइनन् । यी दुबै एउटै हुन् । खाली पत्रकारितामा भावना पक्ष समेटिएको हुँदैन, साहित्यमा हुन्छ । पत्रकारितामा व्यक्तिगत विचारहरु गौण हुन्छन्, साहित्यमा त्यसलाई पनि प्रयोग गर्न पाइन्छ । त्यसैले जे कुरा पत्रकारिता गरिरहँदा समेट्न सकिंदैन, त्यसैलाई साहित्यभित्र समेट्ने प्रयास गरिरहँदा साहित्य बन्दै गएका मात्र हुन् ।
पहिलो कृति र अहिले प्रकाशित कृतिमा के फरक महसुस गर्नुभएको छ ?
पहिलो कृतिभित्र कथाहरु छन् । कथा छोटा छन्, तर धेरैले रुचाइएका कथा छन् । जसमा ‘रावण’ र ‘प्रभुहरुको देश’ सबैभन्दा बढी मन पराइए । अन्य कथा प्रयोगवादी पनि छन् । तर अश्वत्थामा उपन्यास भने मिथक प्रयोग गरिएर लेखिएको हो । त्यसैले पहिलो कृति लेख्दा त्यति डर थिएन, तर यस कृतिले धेरै मान्यताहरु भत्काउने भएकाले धेरैको आक्रमण सहनु पर्छ भनेर तयारी गरिरहेको छु ।
यसअगि प्रकाशित कृतिले साहित्य क्षेत्रमा स्थापित गर्न सफल भए त ?
अवश्य । पुस्तक प्रकाशित हुनु भनेको सन्तान जन्मिनु पनि हो । सन्तान जन्माउने मात्र होइन, उनीहरु समाजोपयोगी पनि हुनसक्नु पर्छ । कृति पनि त्यस्तै हुन् । मेरो कृष्ण सूत्रकाव्यका बारेमा गरिमाको एउटा अंकमा आदरणीय इन्द्रबहादुर राईले टिप्पणी गर्नुभएको छ । त्यहाँ उहाले लेख्नु भएको छ– मैले ‘खेलौं बाँच्ने खेल’ लेखें । त्यो भन्दा अगि गएर कुमार भट्टराईले ‘खेलौं जीवन बाँच्ने खेल’ लेख्नु भएको छ । उहाँले नै त्यति गम्भीररुपमा टिप्पणी गरेपछि कृतिले मलाई स्थापित गर्न सफल भएको छ भन्ने लागेको छ ।
अगि तपाईले एउटा कुरा उठाउनु भयो, अश्वत्थामाले कस्ता मान्यताहरु भत्काउँछ त ?
हाम्रो सोचहरु एउटा ‘फर्मेट’मा स्थापित भइसकेका छन् । त्यसका विपरीत कुराहरु धेरैलाई पचाउन गाह्रो पर्छ । जसलाई ती मान्यताहरु सही लागेका छैनन्, उनीहरु बोल्न समेत डराउँछन् । किनकि ती कुराहरु धर्ममाथि, आस्थामाथिको आक्रमण हुन्छ भन्ने लागेर । यस कृतिभित्र हाम्रा धर्मग्रन्थहरु, वर्तमान सामाजिक परिवेश, राजनीतिक माहौल र हरेक व्यक्तिको दैनिकी अध्ययन गरेर स्थापित महाभारतकालीन ग्रन्थका पात्रहरुलाई यथाअवस्थामा पात्र अश्वत्थामाले विनिर्माण गरेको छन् । हिजो देउता जस्ता लागेकाहरु कृतिभित्र फेरिएका छन् ।
अश्वत्थामा कृतिले नेपाली समाजलाई दिन चाहेको सन्देश के हो ?
यो कृतिले बहुआयामिक विषय उठान गरेको छ । अहिलेको हाम्रो पुस्ताले नेपाली राजनीतिभित्र भोगेको असहजतालाई महाभारतकालीन अवस्थासँग समानुभूति गर्न सक्ने थुप्रै आधारहरु छन् । पात्र र चरित्रहरु पनि जस्ताको जस्तै स्थापित भएका हुन् नाम फेरेर जस्तो लाग्छ । अहिले राजनीतिक मुद्दामा उठेका ब्राह्मणवाद, पितृसत्ता–मातृसत्ता बीचको अन्तद्र्वन्द्व, पेटकै लागि पारिवारिक वियोगका कथाहरु, सत्ताप्रतिको खिचातानी, विषयभन्दा फरकका आग्रह–पूर्वाग्रहरु, शक्तिशाली व्यक्तिहरुको अदृश्य व्यक्तिद्वारा हत्याका कारणहरु, युद्धका अदृश्य सूत्राधारहरु, युद्धका समीक्षाहरु, थुप्रै विषयहरुलाई समीक्षा गर्ने मौका कृतिले दिनेछ ।
अहिले राजनीतिक मुद्दामा उठेका ब्राह्मणवाद, पितृसत्ता–मातृसत्ता बीचको अन्तद्र्वन्द्व, पेटकै लागि पारिवारिक वियोगका कथाहरु, सत्ताप्रतिको खिचातानी, विषयभन्दा फरकका आग्रह–पूर्वाग्रहरु, शक्तिशाली व्यक्तिहरुको अदृश्य व्यक्तिद्वारा हत्याका कारणहरु, युद्धका अदृश्य सूत्राधारहरु, युद्धका समीक्षाहरु, थुप्रै विषयहरुलाई समीक्षा गर्ने मौका कृतिले दिनेछ ।
कृति लेख्न कति समय लाग्यो ?
कृतिले व्यक्त गर्न खोजेको विषय त महाभारत बुझ्न थालेपछि नै हो । तर जब दुर्योधन पात्र बुझे, उनको पीडा समानुभूत भएको थियो । त्यस सम्बन्धी अध्ययन गर्न झण्डै दश बर्षजति लाग्यो । तर लेख्ने आँट आएको थिएन । राजनीतिकर्मी राधाकृष्ण मैनालीको ‘नलेखिएको इतिहास’कृति पढेपछि आँखा खुले जस्तो भयो । त्यसपछि गत बर्ष तीन महिना गुप्तबास बसेर पाण्डुलिपीको पहिलो खेस्रा संग्रहित गरिसिध्याएँ ।
कृतिभित्रबाट भन्नु पर्दा तपाईलाई सबैभन्दा बढी छोएको विषय के हो ?
अश्वत्थामाले भोगेको इतिहास मलाई सबैभन्दा बढी पीडादायी लागेको छ । एउटा विपन्न परिवारको सक्षम व्यक्ति आफूभन्दा सम्पन्न र शक्तिशालीको छायाँले कसरी ओझेलमा पर्नुपर्छ भन्ने विषय मेरो खोजको मूख्य विषय हो । शक्तिशाली पाखुरा र राजनीतिकर्मीहरुबाट समाजमा बौद्धिकताले कसरी प्रताडित हुनुपर्छ भन्ने विषय गम्भीर छ ।
कृति बजारमा आइरहँदा आमपाठकहरुलाई के भन्न चाहानु हुन्छ ?
कृति मेरो नाममा भए पनि त्यो ‘अश्वत्थामा’ले भोगेको इतिहास भएकाले पाठकहरुले गम्भीर रुपमा अध्ययन गरेर रचनात्मक प्रतिक्रिया दिनुहुन्छ भन्ने आशा गरेको छु । जसले भावी दिनमा मलाई अझ सशक्त लेखनमा अभिप्रेरित गर्नेछ । प्रकाशनको जिम्मा सांग्रिला बुक्स तथा मणि शर्माले लिएर मलाई धन्य तुल्याइ दिनुभएकोमा प्रकाशकलाई धन्यवाद व्यक्त गर्दछु ।