अर्जुनधारा । बाँसबाट तयार पारिएका घरायसी सामग्री बिक्री वितरण गर्दै आएका कुबेर तुम्ब्रोक आफ्नो व्यवसायबाट सन्तुष्ट छन् ।
२०४३ सालदेखि यस व्यवसायमा निरन्तर लागेका तुम्ब्रोक यसैबाट आत्मानिर्भर बनेका पनि हुन् । हेर्दा त्यस्तो फाइदा नदेखिए पनि निरन्तरताको कारणले आर्थिक उपार्जन भएको उनी बताउँछन् ।
यस व्यवसायका गुरु उनका भिनाजु सुकदेव कन्दङ्वा हुन् । उनले बाँसको सामग्री बेच्नुपर्छ । ठाउँ–ठाउँमा लाग्ने बजारमा पुर्याउनुपर्छ भनेपछि त्यही कला अनुसार उनी यहाँसम्म आइपुगेका हुन् । उनले सबै सन्तानलाई योग्य बनाउन यही पेसाले मद्दत पुगेको गर्वका साथ बताउँछन् ।
तुम्ब्रोक भन्छन्, ‘यही हातले १ रुपैयाँमा नाङ्लो बेचें, ३ रुपैयाँमा डोको बेचें । उमेरले ५९ पार गरें । हिजोआज त्यही नाङ्लो १५० देखि २०० रुपैयाँ र डोको २०० देखि ३०० रुपैयाँसम्ममा बेच्दै आएको छु ।’
१६ वर्षको हुँदा लुखुर लुखुर शनिश्चरे छिरेको थिएँ । शनिश्चरेमा त्यो बेला मनग्ये हाटबजार लाग्थ्यो । त्यही बजारमा भिनाजुले बाँसका सामग्री बेच्ने गर्नुहुन्थ्यो । म सहयोगी थिएँ । उहाँकै प्रेरणाबाट यो पेशामा आवद्ध भएको तुम्ब्रोक बताउँछन् ।
उनको व्यवसाय बिर्तामोड, सुरुङ्गा, दमक र सैनिक बजारसम्म पुग्छ । उनी बाँसका सामग्री मात्र बेच्दैनन्, पहाडमा उत्पादित दाल, भटमास लगायत सामग्री पनि बेच्दै आएका छन् ।
उनी बाँसका सामग्री बन्ने ठाउँमा पुग्दा पहाडका दालहरु पनि बेच्दा राम्रै हुन्छ भन्ठानेर यो पेशा सँगसँगै अंगालेका हुन् ।
बाँसका कलात्मक सामग्री बनाउने वृद्धहरु त बितेर गए, तिनका सन्तानहरुले बनाएका सामग्री ल्याएर बेच्दै आएको सुनाउँछन् । यसै व्यवसायबाट विवाह गरियो ।
विवाहपछि जयजन्म भए, पछि श्रीमतीलाई प्राणघातक रोगले टिपेर लगेपछि नमीठो अनुभुति भएको व्यवसायी तुम्ब्रोक बताउँछन् ।
तर, कति पनि बिचलन नभई निरन्तर यस व्यवसायमा रहेको हुँदा हिजोआज जो कोही शनिश्चरेको सुर्ती बजारमा पुग्दा कुबेर तुम्ब्रोक यस्तै व्यवसायमा तल्लिन भएको देख्न सकिन्छ ।
तुम्ब्रोक भन्छन्, ‘व्यवसाय सानो–ठूलो हुँदैन । तर निरन्तरता र इमान्दारिता हुन आवश्यक छ । आज यही निरन्तरताले गर्दा सन्तानहरुलाई उन्नतिको बाटोमा उभ्याउन सकेको छु ।’