अर्जुनधारा जलेश्वरधाममा कथासँगै सेवा पनि प्रदान « Yalambar Times
२९ असार २०८२, आईतवार

अर्जुनधारा जलेश्वरधाममा कथासँगै सेवा पनि प्रदान


यलम्वर टाइम्स
७ मंसिर २०७६, शनिबार ०४:१५

अर्जुनधारा । धामको ३७ औं वार्षिक अनुष्ठानको अवसरमा यो वर्ष कथासँगै सेवा प्रदान गर्ने कार्यमा अर्जुनधारा जलेश्वर धाम जुटेको छ ।

भारतको कलकत्तास्थित महावीर सेवा सदनको प्राविद्यिक सहयोगमा निःशुल्क आँखा तथा विकलाङ्ग सेवा शिविर बिहीबारदेखि शुरु भएको छ ।

धाम समितिका अध्यक्ष नविन गट्टानीको सभापतित्वमा आयोजित कार्यक्रममा शिविरको प्रमुख अतिथि परमपुजनीय अनन्त श्री विभूषित जगतगुरु मुमुक्षानन्द महाराजजी, विशिष्ठ अतिथिहरु पूर्व सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकी, महावीर सेवा सदनका प्रमुख विनोद बगाडिया र डा. जीतेन्द्र गग्लानीले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

आँखा शिविरको उद्घाटन अनन्त श्री विभूषित जगतगुरु मुमुक्षानन्द महाराजजीले गरेका थिए । उनीसँगै जगत गुरु हेमानन्द गिरी, नगर प्रमुख हरिकुमार राना, सांसद ओमप्रकाश सरावगी लगायतले शिविरमा आँखा जाँचसमेत गरेका थिए ।

मंसिर ७ गतेसम्म र विकलाङ्ग सेवा शिविर अन्र्तगत नाम दर्ता गरि यही मंसिर १३ गतेदेखि २० गतेसम्म उनीहरुलाई कृत्रिम हातखुट्टा वितरण गरिने धाम समितिले जनाएको छ ।

शिविरमा डा. जीतेन्द्र गग्लानीसँगै हार्दिक गग्लानी, सान्तनु दास र प्राविद्यिकहरु पोल्टु मण्डल, राजेश गड्वाल र शौरभ साहूले सेवा दिने बताइएको छ ।

कार्यक्रममा प्रथम महिला शंकराचार्य हेमानन्द गिरीजी महाराज, प्रदेश १ का सांसद् ओमप्रकाश सरावगी, अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार राना, प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाका सदस्य भोला परियार, नेपाली काँग्रेस नगर सभापति हेमराज खरेल, सहारा नेपालका कार्यकारी अधिकृत महेन्द्र गिरी, व्यवसायी राजेन्द्र थापा लगायतको आतिथ्यता रहेको थियो ।

समितिका उपाध्यक्ष अम्बिकाप्रसाद खतिवडाले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन रीता चित्लांगिया र स्वस्तिका आचार्यले गरेका थिए ।

यसैबिच शिविर उद्घाटन अघि आयोजित पत्रकार भेटघाटमा बोल्दै महावीर सेवा सदनका प्रमुख बगाडियाले शिविरमार्फत् पाँच हजारभन्दा बढीको आँखा परीक्षण, पाँच सय जनालाई आँखाको अवस्था अनुसार चस्मा वितरण र पाँच सय जना विकलाङ्गलाई कृत्रिम हातखुट्टा वितरण गर्ने बताए ।

नेपालमा आयोजना गरिएको उक्त शिविर चौथो औं शिविर भएको उल्लेख गर्दै उनले आगामी दिनमा एक लाख जनालाई चस्मा वितरण तथा १० हजार जनालाई कृत्रिम हातखुट्टा वितरण गर्ने लक्ष्य संस्थाको रहेको जानकारी दिए ।

‘विपन्नहरुको लागि सञ्चालन गरिने हाम्रो शिविर शहरभन्दा पनि गाँउ केन्द्रीत हुनेछ’, उनले भने ।