साहित्यको भाव राजनीतिले बुझ्न सकेनः सूर्योदय महोत्सव « Yalambar Times
२९ असार २०८२, आईतवार

साहित्यको भाव राजनीतिले बुझ्न सकेनः सूर्योदय महोत्सव


यलम्वर टाइम्स
१६ मंसिर २०७६, सोमबार ११:३१

अर्जुनधारा । प्रथम सूर्योदय नगर पर्यटन महोत्सवद्वारा आयोजित सोमबार भएको साहित्य विमर्श कार्यक्रममा साहित्यको भावना राजनीतिक गर्ने व्यक्तित्वहरुले बुझ्न सकेनन् भने विकासका बाटोहरु पहिल्याउन नसक्ने बताए ।

कन्यामको शहीद स्मारक पार्कमा युवा साहित्यकार मुन्नाराज शेर्माले साहित्य र विकासका विषयमा १ घण्टा आफ्नो भनाइ राख्दै साहित्यले देखाएको बाटो दूरदर्शीता हुने हुँदा राजनीतिले त्यसलाई बुझ्नु पर्ने बताए ।

परिवर्तनको पाइलामा साहित्यको भावले जनमानसलाई सचेत गराउँदै राजनीतिलाई साथ दिइरहेको हुन्छ, त्यो कुरा जननिर्वाचित प्रतिनिधिले बुझ्न जरुरी छ ।

नेपालमा लेखिएका साहित्य एक जाति विषेशको बढी भएको हुँदा सर्वजातिको भावना र त्यसका संस्कृतिसँगै मिथकहरुलाई पनि राज्यले उजागर गर्न सहयोग गर्नुपर्ने साहित्यकार शेर्माले बताए ।

हिजो एकात्मक प्रणालीको अन्त्यका लागि साहित्यको शब्दहरु गाउँबस्तीमा छर्दा आज प्रदेश हुँदै स्थानीय सरकार बन्न पुगेको छ । स्थानीय सरकारले एक जातिलाई प्राथमिकता मात्र दिएमा त्यसले समृद्धि होइन तानाशाही जन्माउने जिकिर गरे ।

समावेशी ढंगबाट सुरुवात गरिएको साहित्य विमर्श कार्यक्रममा लेखक तथा पत्रकार मोहन मैनाली, कवि तथा सृजनशिल अराजक साहित्यकार हाङयुग अज्ञात बीच लेखक, कवि केदार शर्माले आजको साहित्य कस्तो रहनुपर्छ भनी एक घण्टा विमर्श चलाएका थिए ।

कार्यक्रममा पत्रकार मोहन मैनालीले आउने सन्ततीका लागि अभिलेखिकरण हुने खालका साहित्य तथा लेख लेखियो भने एउटा गतिलो इतिहास रहने बताउँदै आफू पत्रकार मात्र भएको साहित्यकार हुन नसकेको जानकारी दिए ।

उनले अगाडि भने, ‘आउने लेख मेरो तम्मर नदीका किनारमा जीवन जीउँदै बसेका बासीहरुको कथा व्यथा रहनेछ ।’

अर्का साहित्यकार हाङयुग अज्ञातले लेख, रचना र साहित्य बाहिरको भन्दा भूगोलभित्र बसोबास गरेको भाषी, जाति र यस क्षेत्रको समाज र प्राकृतिक सम्पदाको विषयमा लेखियो भने त्यसले जीवन्त दिने बताए ।

केदार शर्माद्वारा उद्घोषित विमर्श कार्यक्रममा दुवै साहित्यकारलाई आउने सन्ततिले कस्ता साहित्य उठाउन् जस्तो लाग्छ भनी गरिएको प्रश्नमा हाङयुगले भने, ‘साहित्यको रेखा हुँदैन । यसको बाटो हुँदैन ।’

अर्का वक्ता मैनालीले भने, ‘लेखिएका हरेक पाटाहरु सन्ततिका लागि गतिलो अभिलेख हुन्छ, त्यसैलाई साहित्य ठानिन्छ । आउँदै गरेका सन्ततिले देखेका कुराहरु शैलीवद्ध लेख्न सके भने त्यो नै साहित्य हुन् ।’

प्रदेश सांसद काजीमान कागतेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सूर्योदय नगरपालिकाका उपप्रमुख दुर्गादेवी आचार्यले साहित्यका विषयमा आफ्ना भनाइ राखेकी थिइन् ।