जाति समस्या कि गहना ? « Yalambar Times
८ मंसिर २०८१, शनिबार

जाति समस्या कि गहना ?


यलम्वर टाइम्स
२६ जेष्ठ २०७७, सोमबार ०८:३८

सुन्दर गुरुङ्ग

[सुन्दर गुरुङ्ग]

हाम्रो देश विविधता युक्त देश हो । जातीय, भौगोलिक, साँस्कृतिक, भाषिक, धार्मिक रुपमा विविधता युक्त देश हो । तर आज आएर जातिलाई नै समस्याको रुपमा चित्रण गर्दै आईरहेको छ । हालै मात्र भएको रुकुमको घटनालाई नै लिऊ, पूर्व प्रधानमन्त्री समेत रहेको बाबुराम भट्टराईले त संसद भवनमै आफु कामी भएको र सबैले जाति परिर्वतन गर्नु पर्ने भने । यसैको सेरोफेरोमा अमेरिकामा भएको घटनालाई पनि जोडौं । एक जना अस्वयेत प्रहरीको हातबाट स्वयत युवाको मृत्यु भएपछि उक्त प्रहरीलाई कारवाही गरियो । तर पनि अमेरिकामा जातीय विभेद विरुद्द ठूलो आन्दोलन चल्यो जसले गर्दा ठूलो जनधनको क्षति समेत भयो । जातिलाई समस्या देख्नेहरुलाई मेरो प्रश्न छ, के देश धनी र विकसित हुँदैमा जातिको समस्या समधान हुने रहेछ त ? त्यसो भए आज अमेरिकामा जातीय हिंसा विरुद्धको आन्दोलन हुने थिएन । तर आज नेपालमा घटना गराउने अपराधीहरुलाई सजाय दिनु पर्छ भनेर आन्दोलन गर्नुपर्ने स्थिति छ । अमेरिकामा एक जनाको मृत्यु हुँदा जातीय हिंसा विरुद्धको आन्दोलन चर्काे रुपमा उठ्छ तर नेपालमा जातीय कारणले नै ६ जनाको नरसंहार हुँदा समेत न्यायको लागि आन्दोलित हुनु पर्ने अवस्था छ ।

त्यसैले आज म यस लेखमा जाति के हो ? जातित्व के हो ? र जातिवाद के हो ? भन्ने विषयमा संक्षिप्त रुपमा कलम चलाउन गईरहेको छु । धेरै विद्वानहरुले संसारमा पुरुष र महिला गरि दुई जातिमात्र रहेको भनी व्याख्या गरेका छन् । कतिपय विद्वानहरुले रेसको आधारमा ककसियन, मंगोल, द्रविड, निग्रोको रुपमा पनि व्याख्या गरेका छन् । भौगोलिक र हावापानी हिसाबले मानव समुदायको विकास हुँदै जाँदा उनीहरुको शारीरिक रुपमा भएको परिर्वतनलाई आधार बनाएर जातिको विकास भएको बुझाईछ । कतिपयहरु मानिस जब विविध युग हुँदै विविध मानव सभ्यताहरुको विकास गर्दै गयो उक्त आधारमा पनि जातिको विकास भएको बताउँछन् । मानव जातिको विकास सँगसँगै एकको प्रभुत्व अर्को जाति समुदाय वा कविलाहरुमाथि आक्रमण गर्ने र आफ्नो प्रभुत्व कायम गर्ने प्रक्रिया पनि संसार भर चलेका नै थिए ।

गणराज्यमा शासन गर्ने समुदायलाई ३६ वर्ण र मनुस्मृतिको आधारमा ४ जात, ब्राम्हण, क्षेत्री, बैश्य र शुद्रमा विभाजन गरी राज्यले शासन व्यवस्था लागू गर्ने नीति जुन लियो त्यो नै जातीय समस्याको बीउ हो । जसका कारण आज प्रेम जस्तो पवित्र भावनालाई पनि जातीय समस्याले थिचेको छ मिचेको छ ।

यसै सन्दर्भमा हाम्रो देश नेपाल पनि विविध साना गणराज्यहरु हुने बेलामा विविध उद्देश्य र स्वार्थका कारण गणराज्यहरुलाई एक गराउने काम तत्कालिन पृथ्वीनारायण शाहदेखिका शासकहरुले गरे । सोही क्रममा आफ्नो प्रभुत्व कायम गर्नका लागि वि.सं. १९१० सालदेखि मुलुकी ऐन बनाएर राज्यले मनुस्मृतिका आधारमा मानिसलाई चार भागमा विभाजन गरी राज्य सञ्चालन गरेको लिखित र दरिलो दस्ताबेज हामी बीचमा रहेको छ । त्यसैले गणराज्यमा शासन गर्ने समुदायलाई ३६ वर्ण र मनुस्मृतिको आधारमा ४ जात, ब्राम्हण, क्षेत्री, बैश्य र शुद्रमा विभाजन गरी राज्यले शासन व्यवस्था लागू गर्ने नीति जुन लियो त्यो नै जातीय समस्याको बीउ हो । जसका कारण आज प्रेम जस्तो पवित्र भावनालाई पनि जातीय समस्याले थिचेको छ मिचेको छ । जाति भनेको पहिचान हो, मानव समुदायको पहिचान हो । जातित्व भनेको उक्त जातिको गर्विलो इतिहास हो, जातीय भनेको जातिको संस्कार अनुसार गर्ने आचारण हो, भने जातिवाद भनेको एउटै जातिको प्रभुत्व जमाउनको लागि बनाईएका कुसंस्कार हुन जुन हाम्रो देश समाजको लागि अभिषाप हो ।

तर म यो लेखमा हिन्दू वर्णश्रामभित्र विभाजित जातीय विभाजनको विषयमा चर्चा गर्नु उपर्युक्त ठान्दिन किनकी एउटै रेसभित्रका मानव समुदायभित्र पनि चरम विभेद पाइन्छ । म यहाँ के मात्र प्रस्ट्याउन चाहान्छु भने जाति समस्या हैन, तर एक जातीय अंकार र हैकम जुन सांस्कृतिक रुपमा जातिवादको रुपमा हाम्रो समाजमा छ उक्त समस्या हाम्रो देशको समस्या हो जुन अन्त्य हुनुपर्दछ ।

त्यसैले आज जसरी हामी गीतमा भन्ने गर्दछौ ‘सयौ थुङगा फुलका हामी एउटै माला नेपाली’, एउटै हुनको लागि नेपालमा भएका सबै जाति समुदायको सांकृतिक, सामाजिक हैसित सर्वस्वीकार्य हुन आवाश्यक छ । जुन हरेक जुनसुकै जाति समुदायका बौद्धिक समुदायले यस बारे चिरफार गर्नै पर्दछ । दलित कुनै जातिका कारण हुँदैन दलित, दलित सोचका कारणले हुन्छ भन्ने भावको विकास हुन आवाश्यक छ । हामी धेरै जसो विषय व्यक्तिगत क्षमताको आधारमा निर्धारण गर्ने गर्दछौ भने सामाजिक, आर्थिक, साँस्कृतिक, राजनैतिक विषयहरु पनि व्यक्तिगत आधारमा नै निर्धारण हुनुपर्दछ न की जातीय आधारमा ।

धेरैले यही जातीय समस्याका कारणले आफ्नो जाति नै परिर्वत गर्ने गरेका पनि छन् जुन उनीहरुको पहिचान हो । जुन मानिस वा व्यक्तिले आफ्नो पहिचान छोड्छ वा बिर्सन्छ उक्त मानव समुदाय लोप भएको अवस्था छ । त्यसै गरी राज्यले नै संवैधानिक र कानूनी रुपमा नै जाति परिर्वतन गर्न प्रवाधान पनि लिएको छ । निश्चित शुल्क तिरेर नागरिताको जाति परिर्वतन गर्ने गरेको छ । यसले जातीय समस्यालाई राज्यले नै निश्चित रकम लिएर जाति परिर्वतन गर्न लगाउनु भनेको राज्यले जातीय समस्यालाई व्यापार गरेको छ । यसले के जातीय समस्या समधान हुन्छ त ? दलित समुदायको समस्या गहिरो छ, उनीहरुलाई संवैधानिक रुपमा नै जनावर रुपी व्यवहार राज्य तहदेखि नै हुँदा उनीहरुको सामाजिक आर्थिक, मनौवैज्ञानिक विकासमा परेको असरको भरपाई राज्यले गर्नुपर्ने हुन्छ । त्यसैले दलित जातिहरुको समस्या भनेको मात्र समाजिक हैन राजनैतिक पनि हो । समाजिक रुपमा मन्दिरभित्र छिर्दैमा जातीय समस्या समधान हुन सक्दैन । र यो सामाजिक हैसियतको लडाइले दलितहरुको जातीय मुक्ति पनि हुँदैन । त्यसैले समग्रमा दलितहरुको जातीय समस्याको समधानको लागि राजनैतिक रुपमा प्रतिनिधित्वको आन्दोलनतर्फ दलित आन्दोलन अग्रसर हुन पर्दछ ।

समस्या जातीय हो भने समधान पनि जातीय आधारमा नै खोजिनु पर्दछ । समस्या जातीय हुने अनि समाधान समाजिक र आर्थिक रुपमा खाजियो भने उक्त रोगको दीर्घकालिन समधान हुन सक्दैन झन बढ्दछ । त्यसैले हिजो राज्यले नै संवैधानिक रुपमा निश्चित जातिलाई दलित शुद्र बनाएको हो भने उक्त जाति समुदायलाई भरपाई सहित जातीय रुपमा राजनैतिक अधिकारको व्यवस्था गर्नु पर्दछ ।

अमेरिकामा स्वयत राष्ट्रपति भएको देशमा त अझ काला र गोरा जातिको जातीय विभेदको अन्त्य भएको छैन भने यहाँ मन्दिरभित्र छिर्न र खाना पकाएर खुलाउने आन्दोलनले दलितको मुक्ति सम्भव नै छैन । समस्या जातीय हो भने समधान पनि जातीय आधारमा नै खोजिनु पर्दछ । समस्या जातीय हुने अनि समाधान समाजिक र आर्थिक रुपमा खाजियो भने उक्त रोगको दीर्घकालिन समधान हुन सक्दैन झन बढ्दछ । त्यसैले हिजो राज्यले नै संवैधानिक रुपमा निश्चित जातिलाई दलित शुद्र बनाएको हो भने उक्त जाति समुदायलाई भरपाई सहित जातीय रुपमा राजनैतिक अधिकारको व्यवस्था गर्नु पर्दछ । समाजमा भएका सबै जाति समुदायको विकास भएमा मात्र समग्र देशको विकास हुने हो भन्ने विषयलाई मध्यनजर राख्दै राज्यले, बौद्धिक जगतले शिक्षित समुदाय र युवाहरुले यस विषयमा सोच्नु पर्ने नै हुन्छ । नत्र नवराज विक जस्ता लाखौं युवाहरुले यो प्रथाको आडमा ज्यान घुमाउनु पर्ने हुन्छ । हाम्रो राष्ट्रिय गानमा जसरी नेपालका सबै समुदाय र जातिलाई गहनाको रुपमा चित्रण गरेको छ त्यसै गरी व्यवहारमा चित्रण गर्दै सुखी नेपाली र समृद्ध नेपालको यात्रामा लम्किनु पर्ने आजको आवश्यकता हो ।

(लेखक राष्ट्रिय जनमुक्ति पार्टी निकट जनमुक्ति युवा महासंघका वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ ।)