अर्जुनधारा नगरपालिकामा पाँच दिन लकडाउन « Yalambar Times
२० आश्विन २०८१, आईतवार

अर्जुनधारा नगरपालिकामा पाँच दिन लकडाउन


यलम्वर टाइम्स
१८ श्रावण २०७७, आईतवार ०९:३५

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले ५ दिनका लागि नगर क्षेत्रमा बन्दाबन्दी (लकडाउन) गर्ने निर्णय गरेको छ ।

नगरको कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी)को शनिबार आकस्मिक बैठक बसी आईतबार साउन १८ गते बिहान ५ बजेदेखि २२ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो ।

नगरपालिकाको सभाकक्षमा बसेको बैठकले नगरमा कन्ट्याक ट्रेसिङ गर्न सहज होस् भन्नका लागि उक्त निर्णय गरेको हो ।

अर्जुनधारा नगर क्षेत्रमा पनि समुदायमा कोरोना भाइरस संक्रमित फेला परिसकेकाले थप समुदायमास्तरमा फैलन सक्ने सम्भावना रहेको भन्दै उक्त निर्णय गरिएको नगर प्रमुख हरिकुमार रानाले बताए ।

विहीबारमात्र अर्जुनधारा वडा नम्बर १ का एक व्यक्तिमा कारोना भाइरस संक्रमण पुष्टि भएपछि नगरपालिकाले यो कदम चालेको हो ।

नगर प्रमुख रानाका अनुसार लकडाउन अवधिभर निजी तथा भाडाका गाडी, मोटरसाइकलसमेत पूर्णरुपमा बन्द गर्ने निर्णय भएको छ ।

तर, सरकारी, बैंक, वित्तीय संस्थालगायतका कार्यालय खुल्नेछन् भने त्यहाँ कार्यरत कर्मचारीले भने संस्थाको परिचयपत्र लगाएर मोटरसाइकल सञ्चालन गर्न पाउने मापदण्ड बनाइएको छ ।

मोटरसाइकल सञ्चालनको अनुमति पाएका व्यक्तिले अन्य व्यक्तिलाई चढाउन भने पाउने छैनन् ।

संघसंस्था तथा वित्तीय कार्यालयमा कार्यरत कर्मचारीले अनिवार्य रुपमा मास्क प्रयोग गरी भौतिक दूरी कायम गर्नुपर्ने मापदण्ड तय गरिएको छ ।

यस्तै, नगरपालिका र वडा कार्यालय खुला रहे पनि साविकमा दिइँदै आएका सिफारिस लगायतका सेवाहरु बन्द रहने निर्णय गरिएको नगर प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेलले जानकारी दिए ।

बिरामी भएको अवस्थामा सम्बन्धित वडा अध्यक्षको सिफारिसमा उपचारका लागि सवारीसाधन प्रयोग गर्न पाइने उनले बताए ।

यसैबीच, पीसीआर परीक्षणको दायरा बढाउनका लागि आवश्यक पर्ने सामग्री भिटिएम किट खरिद गर्ने निर्णय पनि गरिएको छ ।

नगर स्वास्थ्य शाखा प्रमुख तथा सीसीएमसीका सदस्य सचिव मुकुन्द बस्नेतका अनुसार एक हजार थान भिटिएम किट खरिदका लागि आपूर्ति तथा क्वारेन्टाइन व्यवस्थापन समितिलाई जिम्मा दिने निर्णय भएको छ ।

नगर क्षेत्रमा लकडाउन गर्ने भनिए पनि बिहान ८ बजेदेखि ११ बजेसम्म भने सबै प्रकारका व्यापार व्यवसाय भने सञ्चालन गर्न पाउने निर्णय गरिएको छ ।

पाँच दिनका लागि गरिएको यो व्यवस्था संक्रमणका आधारमा थप गर्न सकिने बताइएको छ ।