नेपाली कांग्रेसले एउटा आरोप कम्युनिष्ट सरकारप्रति लक्षित गर्दै भन्दै आएको थियो, ‘कम्युनिष्टहरुको हट कुनै बेला बिष्फोटन हुन सक्छ । त्यसबेला जनताले दुःख पाउनेछन् ।’ आज त्यो आरोप कम्युनिष्ट सिद्धान्त अंगालेको नेकपाले चरितार्थ गरेको छ । कांग्रेससँगै बसेर पञ्चायत र राजा फ्याक्न सफल भयो, त्यसपछि कम्युनिष्ट एक भएर सामन्तवादको संज्ञा दिँदै कांग्रेसमाथि जाईलाग्यो । जनताले कम्युनिष्टहरुलाई दुईतिहाईसम्म पुर्याए । २०७२ मा संविधान लेखियो । एक्लौटि सरकार बन्यो । अब त जनताले सुखको सास फेर्नेछन् । मुलुक समृद्धिको बाटोमा लम्कनेछ । यतिधेरै आशा र भरोसा गरेर बसेको जनताको ति आशा र सपनाहरु पुष ५ गते चकनाचुर बन्यो ।
प्रधानमन्त्री ओलीको एउटा आरोप बाहिर आएको छ, आफ्नै पार्टीभित्रबाट काम गर्न दिइएन भनेर । अन्ततोगत्वा त्यो भनाई यो बेला गोहीको आँसु हुन बाहेक अरु हुन नसक्ने प्रतिपक्षी दलहरुको भनाई छ । काम गर्न सक्नु नसक्नु स्वयम् ओली सरकारको कार्य हो । पार्टीभित्र रहेर आफ्नो दलका नेताले हलो अड्काएको भन्दै संसद विघटन गरेर रातारात चुनावको तिथि, मिति तोक्नु ओली सरकारको सनक बाहेक अर्को अर्थ नलाग्ने वौद्धिक व्यक्तित्वहरुको भनाई पनि छ । ओली सरकार आगो लगाउने राष्ट्रपति विद्यादेवी भण्डारी आगोमाथि नौनी घ्यू थप्ने बाहेक अर्को कार्य देखिएन । राष्ट्रपतिले त मुलुक र जनताको परिस्थितिलाई हेरेर सरकारलाई सल्लाह दिँदै अगाडि बढ्नु पर्ने हो । तर, ओली सरकारको सनकमा राष्ट्रपति बहकिदा मुलुक जटिल स्थितिमा पुगेको छ ।
ओली सरकार फुट्नु देशी–परदेशीको हात भए पनि नेपाली जनताको अवस्था र अर्थतन्त्रलाई हेर्दै अगाडि बढ्नुपर्ने हो । तर, त्यसतर्फ ध्यान नपुग्नाले के अब ओली सरकार चुनावमा आए जनताका मत प्राप्त गर्न सक्छन् त ? यक्ष प्रश्न तेसिएको छ । एक पटक निर्वाचन गर्दा नेपालको अर्थतन्त्रमा गम्भीर असर पर्नका साथै मूल्यवृद्धि जस्ता कार्यले जनताकै ढाड सेक्ने कार्य हुन्छ । त्यसमा पनि मध्यवदी चुनाव अझ खर्चिलो र बोझिलो भएको हुँदा संसद बिउँझाउनु बाहेक अर्को विकल्प देखिन्न । पार्टी फुट्नु जुट्नु स्वाभाविक नै हो । ओली पक्ष कमजोर रहे प्रचण्ड–नेपालले प्रतिपक्षी कुनै दलसँग साँठगाँठ राखेर अगाडि बढ्न उपयुक्त रहन्छ । यो नै एक मात्र विकल्प हुन सक्छ ।