[रमेशकुमार सुबेदी]
मरनच्यासे अनुहार लगाएर बस्नु परेको छ । के गर्नु ! समाचार सुनेदेखि शोकमा परेको ! आफ्नैले धोका दिएपछि कसको के लाग्छ र !
नेपालीलाइ ‘सपना देखाउने राजानेता’ भनेर सबैलाई दुईतिहाइको छाती देखाउदै हिजोसम्म हिडेको मान्छे, आज हन्ड्रेडको स्पिडमा हिडेको रेल लिगबाट लर्खराउदै खेतमा धसारिएको जस्तो भएको छ । कम्रेड अभिवादन ! गाउँ घरका ती श्रमिकको बिश्वास र आस्था सहितको यो सम्मान आज ‘बतासे’ जस्तो भएको छ । उफ…….लामो सुस्केरा लिएर यो मनलाई जति नै शान्त बनाउन खोजे पनि मान्ने पक्षमा छैन ।
कम्रेड बर्बाद भैयो ! अब के हुन्छ ? हामी के गर्ने कम्रेड ? भन्नु न कम्रेड ? हामी यताका कि उताका ? कानमा झ्याउकिरी झै कराइ रहन्छ । अबोध कम्रेडका ति सरल प्रश्नै प्रश्नले मन उद्देलित हुन्छ । के गरुम, के भनुम हुन्छ । कम्रेडका प्रश्नै प्रश्नले हैरान भएको ‘म’ (नेकपा) (लेखक हैन नि) आज यताको कि उताको भएको छु ? अंश बण्डामा परेका त परे, परे, उतै–यतै रमाउलान, भागमा न परेका ‘म’ (नेकपा) जस्ताले के सोच्दा हुन । बित्यास परेको छ । चिन्ता थपिएकोछ । त्यसमाथि हिजोसम्म घाटी जोडेर सुतेको कम्रेड आज मुर्दाबाद भएको छ । उ म असली भन्छ, अर्को म असली भन्छ ।
असली र नक्कली ! को चक्करमा कम्रेडहरु घनचक्कर भएका छन् । एकले अर्कालाइ गाली र ताली दुबै दिएका छन् । उ आफ्नो, त्यो अर्काको अरे ! हा..हा…हा…हा….हा….। थुक ! कम्रेड आकाशमा थुक । तिम्रा बुद्धिले भ्याएसम्म थुक ! हा…हा….हा…थुक ! हा…हा..हा..थुक ! कम्रेड ! आखिर नाङ्गिने तिमी नै हौ । जनता हैनन् ।
कम्रेड ! जनताले गर्नुसम्म गरेका हुन, तिम्रा लागि तर कम्रेड ! आफैले आफ्नैलाई एक आपसमा धोका दिएको त हो नि ! जनताको त कुलमान घिसिङ थिए । त्यसैले पुनःनियुक्ति पाएनन् । जाबो यति सानो नियुक्तिमा त खल्तिको चिटकटले काम गरेको थियो कम्रेड ! हो त्यतिबेला आजको जस्तो सडकमा निक्लनु पर्थियो । तर तै चुप मै चुप ! कसो कम्रेड ! स्वाभिमान र आत्मसम्मानका साथ भनौ त कम्रेड तपाईको मन रोएको छैन र! मन बिचलित भएको छैन र ! समाचारले तपाईलाई कस्तो बनाइ दियो । तपाइको मस्तिष्कमा भुकम्प गएको अनुभूती भयो कि भएन कम्रेड ?
कम्रेड कसैको घर भत्किदा छिमेकी रुनु पर्छ, रमाउने जति त शत्रु भै हाले नि ! हैन र ! आज कम्रेडको घर बिग्रिएको छ, चिन्ता सबैलाई छ । यो घर बिग्रीयो भने देश र जनतालाई नोक्सान हुन्छ । राजनीतिक नोक्सान देशको लागि घातक हुन्छ । त्यसैले कम्रेड जस्तै सबै चिन्तित छन् । शोकमा छन् । तर तपाई आज पनि उताको र यताको भाग लगाउँदै हुनुहुन्छ । पुनः उता र यताको राजनीति गर्दै हुनुहुन्छ ।
यसले बिस्तारै उहि यता र उताको अंशबण्डाको काम गर्दैन र कम्रेड ! यसले कसैको हित गर्दैन, तपाई जति अरुको जानकार छ र ! अनि तपाईको यो एक अर्का प्रतिको रोइलो किन त कम्रेड । शहीदले सोध्दैछन् । सपनामा शहीद आउँदै, जादै गर्छन्, मेरो सहादतको मूल्य के हो ? कम्रेड भन्छन् । निस्पष्ट अधेंरोमा पनि रगत्याम्य भएको त्यो शरीर सुक्क–सुक्क गर्दै गरेको आवाजले भन्दैछ –‘कम्रेड हामीलाई स्वर्गमा पनि आशु झार्दै फेरि मारेर छाड्ने भयौ । हामीले त देशको लागि बलिदान दिएका थियौ, तर हाम्रो बलिदानलाई भागवण्डामा बाँडिदियौ । हिजो तिम्रो आदेशमा शहीद भएका हामीहरुलाई भन्देउ कम्रेड ! ‘हामी यताका कि उताका’ । भद्रपुर–७, झापा