सामन्तवादको अन्त्य लोकतान्त्रिक गणतन्त्रमा सम्भव छ भनेर वर्षौदेखि कम्युनिष्ट पार्टीमा लागेर आएका गाउँका योद्धाहरुको ठूलो चित्त दुखाई पार्टी विभाजनबाट बनेको छ । हिजो राणाको अन्त्य त्यसपछि पञ्चायत हुँदै राजतन्त्रको अन्त्य र दुईतिहाई प्राप्त गरेको कम्युनिष्टसँगै एकता भएर बनेको नेकपा र त्यसले चलाएको शासनबाट अब सामन्तवादको अन्त्य भइसकेको र जनताले चाहेको जस्तो विकास र निकास देखिने भनेर आशा र भरोसा बनेको बेला पार्टी विभाजन हुनु सच्चा कम्युनिष्ट भएर निःस्वार्थ खट्नेहरुका लागि मर्नु न बाँच्नुको दोसाँधमा बनेको छ ।
गाउँमा रहेर कम्युनिष्ट शासनको आशा र भरोसामा बाँधिएका वृद्धहरु भन्छन्, ‘सत्तामा पुर्याएर निरासका फलहरु फ्याक्छन भने अब कम्युनिष्ट पार्टीभित्र सच्चा र इमान्दार मनुवाहरु हराउँदै गएको हो कि ?’ पुराना कम्युनिष्ट योद्दाहरु भन्छन्, ‘दुईतिहाइको मजबुद सरकार रहँदारहँदै जनताको मन जित्ने काम गर्नुको साटो कुर्सीको लडाईमा होडबाजी गरेर पार्टी नै विभाजन गर्छन् भने कसलाई पत्याउने ?’ हिजो हामी गाउँमा बस्दा र कम्युनिष्टका विषयमा आम जनतालाई सचेत गराउँदा सामन्त वर्गको अन्त्यसँगै सर्वसाधारण जनताको उन्नति लोकतान्त्रिक गणतन्त्रमा सम्भव छ । त्यसैले कम्युनिष्टलाई माया गर्नुहोस् भन्दै हिंडेको ति दिन अहिले कुरिकुरी भएको छ ।
यो बेला नेकपा दुईधार भएपछि गाउँगाउँमा आ–आफ्नो पक्षको विषयलाई लिएर एकअर्काको नराम्रो शब्द प्रयोग गर्दै भण्डाफोर गर्न थालेका छन् । गाउँका पुराना कम्युनिष्ट योद्धाहरु भन्छन्, ‘जसले यहाँसम्म ल्याए तिनका विरुद्ध एकअर्कामा हिलो छ्यापाछ्याप गर्नु कम्युनिष्ट चरित्र होइन । शासन सत्ताको उन्माद हो ।’ पार्टी विभाजन भए पनि एकले अर्कालाई खुइल्याउनु आफैमा कमजोरी हो । पार्टी मिल्नुहोस् एकअर्काको कमीकमजोरीलाई स्वीकारनुहोस् । नत्र हामी जस्ता कम्युनिष्टमा विश्वास राख्नेहरुको चित्त दुखाई छ । १७ वर्ष जेल जीवन बिताएका मनकुमार तामाङको भनाई छ ।