अर्जुनधाराको कृषि मन्डी बजारमा क्रिडा स्थल र दुव्र्यवसनीको अखडा भएको भन्दै ७७ वटै सटरमा ताला « Yalambar Times
५ आश्विन २०८१, शनिबार

अर्जुनधाराको कृषि मन्डी बजारमा क्रिडा स्थल र दुव्र्यवसनीको अखडा भएको भन्दै ७७ वटै सटरमा ताला


यलम्वर टाइम्स
२१ श्रावण २०७८, बिहीबार १२:१८

अर्जुनधारा । अर्जुनधारा–८ सातपत्रै स्थित नगरले बनाउँदै गरेको कृषि बजारको सटर यौन क्रिडा स्थल र दुव्र्यवसनीको अखडा भएको भन्दै विहीबार स्थानीयहरुले सटरमा ताला लगाई वडाध्यक्ष गोपीचन्द्र गौतमलाई साँचो जिम्मा लगाएका छन् ।

तीन वर्षअघिबाट सम्झौता भई स्थानीय निर्माण व्यवसायी सुरेश भट्टराईले कृषि बजार बनाउने जिम्मा लिए पनि समयमै भवन पूर्ण नहुँदा र नगरको उचित रेखदेख नपुग्दा उक्त भवन यौन क्रिडा स्थल र दुव्र्यवसनीको अखडा बन्दै आएको हो ।

उक्त भवनभित्र हुने चर्तिकलालाई पचाउन नसक्दा पटक–पटक स्थानीय टोलवासीले स्थानीय प्रशासन र नगरलाई जानकारी गराउँदै आएका थिए ।

त्यतिमात्र होइन, लागूपदार्थ प्रयोगकर्ताहरुको संख्या दिनानु दिन बढ्नु र स्थानीयवासीहरुको पसल, घर चोरी बढ्नुले हैरान भएपछि आज (विहीबार) वडाध्यक्ष गोपीचन्द्र गौतम र वडा सदस्य सेवन्त ढकालको उपस्थितिमा बन्दै गरेको ७७ वटा सटर, २ सौचालयमा ताला लगाई चाबी जिम्मा दिएका छन् ।

पत्रकार कुमार भट्टराईले आफ्नो फेसबुकमा विकृति बढ्दै गरेको स्थल भनेर लगाएपछि बिर्तामोड निवासी विवेक प्रसाईले करिब १५ हजार मूल्य बराबरको ताला चाबी खरिद गरि प्रदान गरेपछि स्थानीयवासीले उक्त कृषि सटरमा ताला लगाईदिएका हुन् ।

चाबी बुझ्दै वडाध्यक्ष गौतमले दुव्र्यवसनी र यौन क्रिडा स्थल हुनबाट स्थानीयले खेलेको भूमिकाप्रति धन्यवाद दिँदै भवन पूर्णता नहुनमा आन्तरिक समस्या भएको बताउँदै दिन आए भवन किन ढिलो बनियो ? यसको लागत के कति छ ? भन्ने छौं ।

उनले उक्त भवन रेखदेखका लागि नगरपालिकाका प्राविधिक प्रदिप पुरीलाई जिम्मा लगाइएको थियो । पुरीले बीचैमा राजीनामा दिनुभयो । त्यस हिसाबले पनि यो भवनको रेखदेख हुन नसक्दा दुव्र्यवसनीहरुको अखडा बन्न पुगेको बताए ।

सोही समयमा वडा सदस्य सेवन्त ढकालले कृषि उपज बजारको रुपमा बन्दै गरेको भवन आर्थिक पारदर्शीता नभएको बताए ।

१० कठ्ठा १५ धुरमा बनेको भवन कहाँ कति रकम खर्च भयो यकिन नहुँदा जनचासोको विषय रहेको स्थानीय मोहन दाहालले बताए ।

याम अधिकारी, बीरबहादुर अधिकारी, दिपेन्द्र कटुवाल लगायत ५० भन्दा बढी स्थानीयको उपस्थितिमा ताला लगाइएको थियो ।