घर–घरमा बिरामीको चाप, व्यवसाय नगर्दा आर्थिक अभाव « Yalambar Times
५ आश्विन २०८१, शनिबार

घर–घरमा बिरामीको चाप, व्यवसाय नगर्दा आर्थिक अभाव


यलम्वर टाइम्स
३१ श्रावण २०७८, आईतवार ०४:५७

अर्जुनधारा । एकातिर रोगबाट मरिन्छ भन्ने त्रास अर्कोतर्फ अभाव र भोकले ज्यानै जाने अवस्था, यो महिना सर्वसाधारणलाई यस्तै अवस्थाले त्रसित बनाइनै रह्यो ।

अर्जुनधाराका बुधनलाई ठेला नचलाई साँझ बिहान चल्न धौ–धौ हुन्छ । त्यसैले घाम नझुल्किदै भएको तीन पाङ्ग्रे ठेला लिएर शनिश्चरे बजार झुल्किन्छन् । त्यति गह्रौ भारी पनि बोक्दैनन् । मानिसका लागि प्रयोग हुने सिलिन्डर, चामल लाने–ल्याइदिने काम गर्छन्, उनी ।

लकडाउन भएपछि त्यो काम पाउन छाडेका कारण शनिश्चरे बजार आएपछि काम नपाएपछि ठेलामै सुतेर दिन बिताउँछन् । बुधन भन्छन्, ‘भित्रभित्रै सिमेन्टका काम त ओसारपसार अन्य साथीहरुले गरेकै छन्, म त्यो काम गर्न सक्दिन । सामान्य काम भेटे अवश्य गर्छु ।’ उमेरले ७० पार गरेका बुधनलाई कोरोना रोग र लकडाउन अभिषाप भएर आएको बताउँछन् ।

उनी जस्तै ७० पार गरेका भेषराज भण्डारीको पीडा बुधनको जस्तै छ । बिहानभरी गाउँमा सब्जी खोज्छन्, खाना खाएपछि बजारमा आएर बेच्छन् । यो उनको दैनिकी हो ।

उनले सब्जी व्यापारबाट आएको नाफाबाट घरका लागि नुनभुटुन र आफूले खाने औषधी टर्छ । तर, हिजोआज लकडाउन भएको एक महिना नाघ्यो प्रहरी प्रशासनले नहिंड भन्छन् रै पनि झोलामा सब्जी लिएर बजार आउछन् ।

लकडाउन नहुँदा दैनिक ५ सयभन्दा बढी नाफा कमाउने भण्डारी हिजोआज पैसा खेलाउन नपाउँदा कहाँ जाउ कहाँ जाउ भन्ने लाग्छ । ‘सरकारले निर्देश गरे अनुसार एक हप्ता त मन मिचेर घरमा बसें, तर औषधी पानी खाने पैसा समेत नभएपछि मुखमा मास्क लगाएर सब्जी लिएर बजार निस्किएको छु’, उनले सुनाए ।

त्यसो त कोरोनाले व्यापार व्यवसायलाई मात्र असर गरेको छैन । सर्वसाधारणलाई पनि उत्तिकै पिरोलेको छ । घरभरि केरा पाकेपछि छोरीलाई साइकलमा राख्दै बजार आएका खुदुनाबारीका ख्याम केरा व्यवसायी हुन् ।

घर परिवारमा बिरामीको चाप, व्यवसाय नगर्दा आर्थिक अभाव । त्यसैले केरा लिएर बजार निस्किएको हाम्रा प्रतिनिधिलाई सुनाए ।
केरा व्यवसायी मात्र होइन, सब्जी व्यवसायीहरु पनि लकडाउनको सिकार बनेका छन् ।

महंगो तरिकाले सब्जी खेती गरेकी बिमला भट्टराईले लकडाउनले व्यवसाय चौपट भएको सुनाइन् । उनले बोडि, करेला, खुर्सानी उत्पादन गरेकी छिन् । तर, बजार नखुलेको कारण साहुको व्याज र ऋण तिर्न कठिन भएको सुनाइन् ।

बिमला मात्र होइन, सर्वसाधारण करेसा बारीबाट उत्पादित सामान बिक्री गरेर नुनभुटुन खानेहरुको अवस्था पनि त्यस्तै छ ।

राज्यले उत्पादनका लागि मल, बीउबिजनमा सहजता अपनाइदिए पनि उत्पादित सामानको बजारीकरण कोरोनाका कारण बन्द गरिदिएकाले धेरै किसानहरु मर्कामा परेको बिमलाले सुनाइन् ।

एकातर्फ लकडाउन कडा हुँदै जानु, अर्कोतर्फ गाउँबस्तीमा बिरामीको चाप बढ्दै जानुले अस्पतालहरु पनि भरिएका छन् । सामान्य शनिश्चरे अस्पताल, अर्जुनधाराको शंकर अस्पताल आदि ठाउँमा हैजाबाट ग्रसित बिरामीहरुको बाक्लो उपस्थिति छ ।

गाउँघरमा परिवार नै रोगले सताएपछि नाबालकको साथमा अस्पताल धाउनेहरु पनि त्यतिकै देखिन्छन् ।

झापाका ठूला अस्पतालमा कोरोनाको चाप र उपचारको लागि बेड खाली नभएको चर्चा आएपछि सर्वसाधारण अर्जुनधारा क्षेत्रका अस्पताल तथा क्लिनिकमा उपचार गरि फर्किनेहरुको संख्या निकै भएको अर्जुनधारा डाइगोनेष्टिक सेन्टरका सञ्चालक प्रल्हाद ढुंगानाले जानकारी गराए ।