डिकमान स्मृति पुरस्कार इन्द्र र कमनलाई, उदयीमान पुरस्कार लीला लगायत चार जनालाई « Yalambar Times
५ आश्विन २०८१, शनिबार

डिकमान स्मृति पुरस्कार इन्द्र र कमनलाई, उदयीमान पुरस्कार लीला लगायत चार जनालाई


यलम्वर टाइम्स
३१ श्रावण २०७८, आईतवार ०५:२५

अर्जुनधारा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फानिज) झापा शाखाले हरेक वर्ष प्रदान गर्दै आएको डिकमान विरही उत्कृष्ट पत्रकारिता पुरस्कार र उदयीमान पत्रकारिता पुरस्कार २०७७ र २०७८ को लागि पुरस्कृत हुने व्यक्तित्वहरुको नाम घोषणा भएको छ ।

फोनिज झापाका अध्यक्ष विशाल नेम्बाङले फोनिजको २२ औं स्थापना दिवस कार्यक्रममार्फत पुरस्कृत हुने व्यक्तित्वहरुको नाम सार्वजनिक गरेका हुन् ।

फोनिज झापाले स्व.डिकमान विरही सुनवार वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार २०७७ बाट इन्द्रसिंह राजवंशीलाई पुरस्कृत गर्ने घोषणा गरेको हो । राजवंशी हाल प्रतिदिन दैनिक बिर्तामोडमा आवद्ध छन् ।

त्यस्तै स्व. डिकमान विरही सुनवार वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार २०७८ बाट कमन देवानलाई पुरस्कृत गर्ने निर्णय भएको अध्यक्ष नेम्बाङले सर्वाजनिक गरेका हुन् । देवान हरप्रहर न्यूज डटकमका सम्पादक हुन् ।

त्यस्तै फोनिज झापाले पत्रकारितामा आवद्ध भएका तर नेपाल पत्रकार महासंघमा सदस्य नभएका प्रतिभाहरुलाई प्रोत्साहन स्वरूप प्रदान गर्दै आएको उदयीमान पत्रकारिता पुरस्कार २०७७ बाट रेडियो झापामा कार्यरत मिना नेम्बाङ र सूर्योदय टेलिभिजनमा कार्यरत सुभला तामाङलाई पुरस्कृत गर्ने निर्णय भएको जनाएको छ ।

त्यस्तै उदयीमान पत्रकारिता पुरस्कार २०७८ का लागि माङसेबुङ न्यूज डटकममा आवद्ध डिल्लीश्वर मुसाहाङ (अम्याङ्सा) र यलम्बर टाइम्स साप्ताहिककी लीला राईलाई छनौंट गरिएको फोनिज झापाले घोषणा गरेको छ ।

फोनिज झापाको आगामी अधिवेशनमा सो पुरस्कार वितरण गरिने अध्यक्ष नेम्बाङले जानकारी दिएका हुन् । फोनिज झापाले हरेक स्थापना दिवसमा स्व डिकमान विरही सुनुवार वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार एकजना अग्रज पत्रकार र उदयीमान पत्रकारिता पुरस्कार दुई जना नयाँ पत्रकारहरुलाई वितरण गर्दै आएको छ ।

मुखिया सम्मानित

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) संघीय परिषदले फोनिज अवार्ड २०७८ बाट झापाका पूर्वअध्यक्ष इन्द्रजीत मुखियालाई सम्मान गरेको छ ।

नेपाल टेलिभिजनमा कार्यरत मुखियासँगै ८ जना सक्रिय पत्रकार २ मातृ भाषाबाट प्रकाशित अखबारलाई सम्मान गरेको हो । सोही दिन फोनिज युके पुरस्कार सन्त गाहा र टेकराज थामीलाई प्रदान गरिएको थियो ।

कामको आधारमा मूल्याङ्कन गर्दै उक्त पुरस्कार प्रदान गरिएको फोनिज संघीय परिषदले जनाएको छ ।