दूरदर्शी विचारका नरबहादुर « Yalambar Times
८ मंसिर २०८१, शनिबार

दूरदर्शी विचारका नरबहादुर


यलम्वर टाइम्स
१७ आश्विन २०७८, आईतवार ०६:५३

[देवकुमार राई]

आजभन्दा करिब–करिब २७÷२८ वर्ष अगाडि मेरो चिनजान भएको हो स्वर्गीय नरबहादुर लिम्बूसँग । जतिबेला उहाँ नेपाल सरकारको जागिरे हुनुहुन्थ्यो । उहाँ तत्कालिन राजश्व कार्यालय अन्त शुल्कमा कार्यरत हुनुहुन्थ्यो । मैले सुन्नमा आएको थियो कि उहाँ त्योभन्दा अगाडि नेपालको झापामा औलोको महामारी हुँदा भिजिटरको रुपमा काम गरेपछि कार्यलय सरुवाको हिसाबमा राजश्व कार्यालयमा आउनुभएको रहेछ । त्यही बेलादेखि मेरो उहाँसँग चिनजानको क्रममा नातामा मेरो सानो बुबा हुनुहुँदो रहेछ । मैले उहाँलाई बोलाउने क्रममा सानो बुबा भनी सम्बोधन गर्थें र आजसम्म पनि त्यही नाताले सम्बोधन गरीरहेको छु ।

जतिबेला म शनिश्चरेमा रहेको प्रभावशाली क्लब डाइनामाईटको सचिव पदमा रहेर फुटबल प्रतियोगिता गराइरहेको थिएँ, त्यही बेला मैले आर्थिक संकलन गर्ने क्रममा स्वर्गीय नरबहादुर लिम्बूको घरमा पुगेको थिएँ । उहाँको बोली वचनले म निकै प्रभावित भए त्यही बेलादेखि मेरो नरबहादुर लिम्बूसँग नजिक हुने अवसर प्राप्त गरें । त्यही अवसरबाट मैले जातीयताका विषयमा धेरै कुराहरु बुझ्ने मौका पाएँ । उहाँ एउटा लिम्बू समुदायको प्रभावशाली राष्ट्रिय साहित्यकार पनि भएकाले उहाँले मलाई बेला–बेला सम्झाउने बुझाउने क्रममा उहाँसँग नजिक रहेर आदिवासी जनजातिका सामाजिक, राजनैतिक, साहित्यीक अगुवा हस्तीहरुसँग पनि मैले चिनजान गर्ने अवसर प्राप्त गरे ।

स्वर्गीय नरबहादुर लिम्बूको सल्लाह बमोजिम राजनैतिक दलको सचिव पददेखि जातीय संगठनको पनि झापामा रहेको महत्वपूर्ण पदमा रही काम गर्ने अवसर मिल्यो । काम गर्ने क्रममा उहाँकै सल्लाह अनुसार उहाँकै घरमा प्रथम किराँती राजा यलम्वरको नाममा यलम्वर क्लब स्थापना गरी अर्जुनधारा क्षेत्रका आदिवासी जनजाति समुदायका छोरा–छोरीहरुलाई राजनैतिक, धार्मिक, सांस्कृतिक प्रेरणा दिने काममा जुटेका थियौं । सो क्लबले झापा जिल्लामा पनि उच्च स्थान ओगट्न सफल भएको थियो । यलम्वर क्लबमा पनि मैले सचिवकै जिम्मेवारी निर्वाह गरेको थिएँ ।

स्वर्गीय नरबहादुर लिम्बूको प्रेरणाबाट आदिवासी जनजातिका अगुवा व्यक्तित्वहरुले सञ्चालन गरेको झापा जिल्लाबाट प्रकाशित हुने साप्ताहिक पत्रिका मुक्ति आवाजमा कलम चलाउने पहिलो मौका मैले प्राप्त गरें । यसरी नै आजका दिनसम्म पनि फुर्सदको समयमा बेलाबेला कलम चलाउने गर्छु । मैले केही कलम चलाईरहँदा उहाँ कहाँ गई मैले लेखेका ड्राफ पनि सुनाउने गर्थे । दिउँसो भरी म आफ्नो काममा व्यस्त रहे पनि साँझ केही समय भए पनि मेरो प्रेरणाको स्रोत स्वर्गीय नरबहादुर लिम्बूको घरमा गई भलाकुसारी गरी रहन्थे । धेरै वर्ष उहाँसँग नजिक रहेर काम गरी रहँदा मलाई अहिले पनि उहाँ जिवितै हुनुहुन्छ जस्तो अनुभव भइरहेको छ ।

दैवको लीला अपरम्पार हुँदो रहेछ । पृथ्वीमा रहेर प्राणीहरुले जन्म लिन्छ अनि बिलिन पनि हुँदै जान्छ । त्यही लीलालाई उहाँले स्वतः स्वीकार गर्दै उहाँ आज हामी बीच हुनुहुन्न तर, उहाँले देखाएका प्रेरणादायी बाटाहरुमा हरेक आदिवासी जनजातिका छोराछोरीहरु लागेका छन् । समृद्ध पनि भएका छन् । उहाँले यो संसार छाडेर गए पनि उहाँका कृति र प्रेरणाहरु सदैव अमर रहीरहने छ । यो संसारमा धेरै जीवहरु जन्मन्छन्, मर्छन् तर कसैको मरेपछि पनि नाम रहीरहन्छ, कसैको नाम नै रहँदैन ।

यही संसारको नियमरिती अनुसार स्वर्गीय नरबहादुर लिम्बूको आजसम्म पनि आदिवासी जनजाति वर्गका अगुवाहरुले गरेको कुनै पनि कार्यक्रममा उहाँको नाम नसम्झी गरेमा उक्त कार्यक्रम अधुरो नै रहेको मैले महशुस गर्छु । त्यसैले त होला उहाँ जीवित रहेको मलाई भान हुन्छ । अन्त्यमा, स्वर्गीय नरबहादुर लिम्बूप्रति मेरो सद्धा सुमनसहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । उहाँ सदैव अमर रहुन्, उहाँको आत्माले चीरशान्ती पाओस् यही नै मेरो श्रद्धाञ्जली । लेखक राई अर्जुनधारा नगरपालिका वडा नं. ७ का वडा सदस्य हुन् ।

     देवकुमार राई