खुदुनाबारीको खुलेर प्रशंसा, डब्बल सुब्बालाई मरणोपरान्त सम्मान « Yalambar Times
५ आश्विन २०८१, शनिबार

खुदुनाबारीको खुलेर प्रशंसा, डब्बल सुब्बालाई मरणोपरान्त सम्मान


यलम्वर टाइम्स
१६ फाल्गुन २०७८, सोमबार १२:११

खुदुनाबारी । खुदुनाबारी गाउँ पञ्चायतका लागि जग्गा दिने खड्ग बिक्रम नेम्वाङ (डबल सुब्बा) लोकतान्त्रिक गणतन्त्रको जनप्रतिनिधिको हातबाट मरणोपरान्त सम्मान प्राप्त गरेका छन् ।

अर्जुनधारा नगरपालिकाले जनप्रतिनिधि भएर गरिएका कामको समिक्षा गर्न वडा नं. ३ को कार्यालयमा अन्तरक्रियासँगै जग्गादाता सम्मान गर्ने क्रममा डब्बल सुब्बाका अन्तरे छोरा खगेन्द्र बिक्रम नेम्वाङको हातमा मरणोपरन्त सम्मानपत्र र दोसल्ला ओढाएरका थिए ।

डब्बल सुब्बाले २०४० सालमा खुदुनाबारी गाउँ पञ्चायतका लागि १० कठ्ठा जग्गा प्रदान गरेका थिए ।

उनीसँगै स्वास्थ्य चौकीलाई जग्गा दिने दानेन्द्र बिक्रम नेम्वाङ, मकेन्द्र विक्रम नेम्वाङ, स्व. शेरबहादुर जवेगु, महेन्द्र जवेगु (लुकेन्द्र), स्व. भक्तबहादुर चौहान, रीताकला चौहान र शहरी स्वास्थ्य केन्द्रलाई जग्गा दिने सरस्वती राईलाई समेत सम्मानपत्र र दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

सम्मानित जग्गादाताहरुलाई प्रदेश सांसद माननिय बृख प्रधानको बाहुलीबाट सम्मान गरिएको थियो ।

नगर प्रमुख हरिकुमार रानाको सभापतित्वमा भएको कार्यक्रममा वडाका विषयमा भएका गतिविधि वडाध्यक्ष जीवकुमार भण्डारीले प्रस्टाएका थिए ।

भण्डारीले आफू निर्वाचित भएर जनप्रतिनिधिको काम गर्दा थुप्रै अनुभव बटुलेको र वडा नं. ३ को विकास र प्रगतिमा आफू नगरसँग समन्वय गरेर थुप्रै काम गरेको समेत जानकारी दिए ।

आफू जनप्रतिनिधि भएर आउँदा आफूसँगै निर्वाचित वडा सदस्य सीताराम भट्टराई, दिलमाया दास, खिनमान दास, होम दुलाल, निर्मला घिमिरेको राम्रौ साथबाट थुप्रै काम गरेको पनि जानकारी दिए ।

कार्यक्रममा राप्रपाका इन्द्र बुढाथोकी, नेकपा समाजवादीका लक्ष्मी शर्मा, माओवादीका तुलसी पाठक, नेपाली कांग्रेसका पुण्यप्रसाद ओझा, नेकपा एमालेका लोकमान श्रेष्ठ लगायतले जनप्रतिनिधिको कामप्रति आफ्ना धारणा राख्दै गर्नुपर्ने कामहरु अझै अनगिन्ती रहेको दर्शाए ।

उपप्रमुख कमला आचार्य खतिवडाको स्वागत रहेको कार्यक्रममा नगर प्रमुख हरिकुमार रानाले कामको समिक्षासँगै सार्वजनिककरण गर्दै वडासम्म आईपुगेको बताए । कार्यक्रमको सञ्चालन भने वडा सचिव खगेन्द्र लिङ्देनले गरेका थिए ।

खुदुनाबारीको प्रशंसा

अन्तरक्रियामा सहभागि हुन पुगेका माननीय बृख प्रधानले खुदुनाबारी क्षेत्रको खुलेर प्रशंसा गरेका छन् ।

उनले जग्गादाता व्यक्ति आफैमा महान दाता भएको हुँदा त्यस्ता दाताहरुलाई जुनिभरसम्म सम्झनुपर्ने बताए ।

उसबेला डब्बल सुब्बाले पञ्चायतका लागि कार्यालय सञ्चालन गर्न १० कठ्ठा जग्गा दान गरेको भए आज खुदुनाबारी यति ठूलो क्षेत्र हुने थिएन होला ।

पञ्चायतपछि बहुदलीय व्यवस्था हुँदा खुदुनाबारीका कतिपय ठाउँहरु अविकसितसँगै मानव बस्ती बस्ने ठाउँ थिएन । जब जनप्रतिनिधि निर्वाचित भएर खुदुनाबारीमा काम गर्न सुरु गरियो, लोकतन्त्रमा आएपुग्दा खुदुनाबारी धपक्कै बलेको छ ।

मदन भण्डारी मार्ग, दुर्गापुर–सुखानी मार्ग र बिर्तामोड–सुखानी मार्ग गरी तीन वटा मार्गले छोएको हुँदा यस ठाउँको विकास अझ बढेर जाने देखिन्छ ।

खुदुनाबारीमा सामुदायिक वन प्रशस्त छ । नदीजन्य सामग्रीहरु पनि यही ठाउँमा छन् । ठूला हाटबजार खानेपानी पनि यसै क्षेत्रमा छ । विद्यालयदेखि लिएर प्राविधिक शिक्षालय पनि यसै ठाउँमा छ । संघ, प्रदेश र नगरले पनि यसै ठाउँमा विकासका बाटाहरु निर्माण गर्दैछन् । त्यस हिसाबले पनि खुदुनाबारीको भविष्य उज्वल छ ।

हिजो खुदुनाबारीलाई कालापथर भनेर सम्बोधन गरेको हामी सुन्थ्यौं । आज त्यसको ठीक उल्टो भएको छ । खुदुनाबारीको प्रशंसा गर्दैगर्दा जनप्रतिनिधिले मात्र होइन, सहभागि अतिथिहरुले मन्त्रमुग्ध भएर सुनिरहेका थिए ।