अब आयुर्वेद शिक्षा अभिभावकसम्म « Yalambar Times
५ आश्विन २०८१, शनिबार

अब आयुर्वेद शिक्षा अभिभावकसम्म


यलम्वर टाइम्स
१३ चैत्र २०७८, आईतवार ०७:३१

अर्जुनधारा । आयुर्वेद तथा योग शिक्षा जनमानससम्म पुर्याउने उद्देश्यले शुक्रबारबाट अर्जुनधारा नगर क्षेत्रका शिक्षकशिक्षिकाहरुलाई ५ दिने तालिम सुरु भएको छ ।

छिटो निको हुने बहानामा एलोपेथिक औषधी सेवन गरेर नकरात्मक प्रभाव परिरहेको बेला अर्जुनधाराले नगर क्षेत्रका जनताको लागि आयुर्वेद तथा योग शिक्षाबाटै रोग निवारण हुने र आयुर्वेदिक, योग ज्ञान प्राप्त भए घरआँगनमै औषधी प्रयोग गर्न सकिने उद्देश्यका साथ तालिम अगाडि सारिएको बताइएको छ ।

शुक्रबार वडा नं. ७ को सभाहलमा ५ दिवसीय तालिमको उद्घाटन गर्दै नगर उपप्रमुख कमला आचार्यले शिक्षकहरुबाट यस्तो ज्ञान प्राप्त गरेर विद्यार्थी जगतलाई जानकारी गराउँदै अभिभावकसम्म पुर्याउन सहभागिलाई अनुरोध गरे ।

आयुर्वेदको एउटा अंश आयुर्वेदिक औषधी पनि शरीरलाई सहजताका लागि चाहिने र गरिने पद्धती भएको हुँदा वैद्धिक विधिबाटै यस्तो चलन चलिआएकोले यसलाई प्रोत्साहित गरेर अगाडि लैजान सके राम्रो हुने जानारी दिइन् ।

उद्घाटन कार्यक्रममा वडा नं. ७ का वडाध्यक्ष नवराम ढुंगाना ‘नविन’ले ऋषिमुनीहरुबाटै आयुर्वेद पद्धती उपचार भएको थुप्रै रचनात्मक शिक्षा भए पनि एलोपेथिक औषधि सेवन गरेर शरीरलाई प्रयोगशाला नबनाउन जोड दिए ।

वडाध्यक्ष नवराम ढुंगानाको सभापतित्वमा भएको तालिममा लक्ष्मी माविका शिवकुमार दाहाल, रेणुका आचार्य ढुंगेल, शनिश्चरे माविबाट तारादेवी विश्वकर्मा, जनता माविबाट सबिता मेचे (विद्यालय नर्स), भानु माविबाट रचना दाहाल, बसन्तकुमार राजवंशी, रुपरत्नबाट सन्तोष राई, अनिल आचार्य, सिंहदेवी माविबाट विष्णुप्रसाद बास्कोटा रहेका छन् ।

पहिलो पटक तालिममा सहभागि भएकी शनिश्चरे माविकी तारादेवी विश्वकर्माले आफू स्वास्थ्य शिक्षा अध्ययन गराउने शिक्षिका भएको नाताले आयुर्वेदिक ज्ञान र योग सम्बन्धि अध्यापन गराउन अझ सहज पुग्ने भएको प्रतिक्रिया दिइन् ।

उनले यसअघि योगा सम्बन्धि केही जानकारी दिँदै आएको बताउँदै आयुर्वेद र योग शिक्षा एउटै भएको थाहा पाएपछि अझ सजिलो हुने बताइन् ।

विशेष गरी अर्जुनधारा क्षेत्रका माध्यमिक विद्यालयका शिक्षकहरुको सहभागिताले अब विद्यार्थीमार्फत अभिभावकसम्म आयुर्वेद र योगबारे सहज रुपमा जानकारी गराउन सकिने जनता माविमा कार्यरत नर्स सविता मेचेले बताइन् ।

यसरी नै लक्ष्मी माविका शिवकुमार दाहाल र भानु माविका बसन्तकुमार राजवंशीले पनि योग शिक्षाबारे सजिलै विद्यार्थीहरुलाई जानकारी दिन सकिने बताए ।

संघीय सरकारको सहयोगमा सञ्चालन भएको तालिममा घरको वरिपरि जडिबुटी र उपयोग सम्बन्धि जानकारी, योगको बारेमा र योगका विभिन्न क्रियाकलाको विषयमा, स्वास्थ्यकर्मी, विद्यार्थी र समुदाय बीचको सम्बन्ध सकारात्मक र समन्वयात्मक बनाउने सम्बन्धमा, स्वास्थ्य जीवनशैली सम्बन्धि सचेतना र आयुर्वेद चिकित्सक सेवाबाट प्रदान हुने सेवाको विषयमा आम नागरिकलाई जानकारी गराउने उद्देश्यले यस्ता तालिम शिक्षकशिक्षिकाहरुलाई प्रदान गरिएको शनिश्चरे आयुर्वेदका प्रमुख अनिल ठाकुरले जानकारी दिए ।

यो तालिम प्राप्त गरेर शिक्षकहरुले आफ्नो विद्यालयमा नियम अनुसार सञ्चालन गरे स्वास्थ्यकर्मी, विद्यार्थी तथा समुदायबीच सकारात्मक हुने, जडिबुटीको उच्चतम् प्रयोग र विद्यालय परिषर तथा घर वरिपरि जडिबुटी रोप्न उत्प्रेरणा मिल्ने, स्वास्थ्य समाज निर्माण हुने, आयुर्वेद चिकित्सक स्वास्थ्य सेवाबाट पाइने सेवाहरु लिन सक्ने समेत तालिममा सहभागिहरुलाई अनिलकुमार ठाकुरले जानकारी गराए ।

आयुर्वेदिक स्वास्थ्य कार्यालयबाट हाल ३ ठाउँमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको भए पनि कतिपय अभिभावकहरु त्यो ठाउँमा पुग्न नसकेको हुँदा यो तालिमले सहयोग पुग्ने जानकारी दिए ।

अर्जुनधारा वडा नं. ३ खुदुनाबारी, वडा नं. ११ सालबारी र शनिश्चरे आयुर्वेद केन्द्र अर्जुनधारामा थेरापीदेखि शिरोधारासम्म गरिने स्वास्थ्यकर्मीसँगै औषधी भएको हुनाले ति स्थानबाट सेवा लिन सकिने पनि जानकारी दिए ।