ग्रामिण पत्रकारिताबाट सेवा प्रदान गरेको भन्दै पत्रकार राई सम्मानित « Yalambar Times
२४ कार्तिक २०८१, शनिबार

ग्रामिण पत्रकारिताबाट सेवा प्रदान गरेको भन्दै पत्रकार राई सम्मानित


यलम्वर टाइम्स
२६ असार २०७९, आईतवार ०८:५३

सुरुङ्गा । ग्रामिण पत्रकारिता गरेर समाज रुपान्तरणमा अग्रणी भूमिका खेलेको भन्दै रोटरी क्लब अफ सुरुङ्गाले यलम्वर टाइम्सका सम्पादक तथा अग्रज पत्रकार दिपीन राईलाई सम्मान गरेको छ ।

विगत तीन दशकदेखि गाउँमै रहेर सामाजिक सेवासँगै ग्रामिण जनताको पीरमार्कामा कलम चलाएको भनी पुरस्कार छनौट समितिले पत्रकार राईको नाम सिफारिस गरेपछि सम्मान गरिएको हो ।

हेमकला–टीकाराम निरौला रोटरी बर्ष उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सम्मानित राईलाई नगद रु. १५ हजारसहित सम्मानपत्रले सम्मान गरिएको छनौट समितिका सदस्य राम निरौलाले बताए ।

छनौट समितिमा क्लबका पूर्व अध्यक्ष तथा समाजसेवी कुमारमणि पौडेल, पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, र दाता परिवारकोतर्फबा राम निरौला रहेका छन् ।

कनकाई नगरपालिकाका प्रेस क्लव अध्यक्ष राम निरौलाले आफ्ना बुवा टीकाराम र आमा हेमकला निरौलाको नाममा उक्त पुरस्कार स्थापना गरेका हुन् ।

रोटरी क्लब र रोटर्याक क्लबको पदहस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रमका अवसरमा गरिएको सम्मानमा पत्रकार राईको जीवनी बारे छनौट समिति तथा दाताको तर्फबाट निरौलाले चर्चा गरेका थिए ।

रोटरी क्लब अफ सुरुङ्गाका अध्यक्ष खेमप्रसाद प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि निवर्तमान डिस्ट्रीक गर्भनर सन्तोष रिजाल रहेका थिए ।

प्रमुख अतिथि रिजालले क्लवका अध्यक्ष प्रसाईलाई सपथ ग्रहण गराएका थिए भने एजी निकिता गिरीले पदाधिकारी तथा कार्यसमितिलाई सपथ ग्रहण गराएकी थिइन् ।

त्यस्तै रोट्र्याक क्लब अफ सुरुङ्गाका अध्यक्ष रोशन झालाई क्षेत्रीय अध्यक्ष विवेक श्रेष्ठले सपथ ग्रहण गराएका थिए ।

सपथ ग्रहण पश्चात अध्यक्ष प्रसाईले आफ्नो आगामी योजना प्रस्तुत गरेका थिए ।

क्लवका उपाध्यक्ष शिवकुमार कँडेलले स्वागत गरेको कार्यक्रममा क्लवका निवर्तमान अध्यक्ष सुशिलकुमार श्रेष्ठले आफ्नो कार्यकालमा गरेका कार्य विवरण प्रस्तुत गरेका थिए ।

कार्यक्रमको सञ्चालन क्लबकी सचिब मेनुका उप्रेती र सारिका गिरीले गरेकी थिइन् ।